गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पिर प्रचण्डलाई परेको छ: राजेन्द्र लिङदेन

डिसी नेपाल
१७ जेठ २०८२ १७:१९
320
Shares

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरुको आन्दोलनमा अहिलेजस्तै जनसमर्थन कायम रहे सरकारलाई झुक्न बाध्य बनाउने बताएका छन्।

राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले गरेको आन्दोलनको तेश्रो दिन शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै लिङदेनले राजसंस्था र हिन्दू राज्यको पक्षमा जनताको साथ प्राप्त भएको भन्दै यस्तै समर्थन कायम रहे सरकारलाई झुक्न बाध्य बनाउने बताएका हुन्।

राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको प्रचण्डको अभिव्यक्तिप्रति लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पिर प्रचण्डलाई परेको प्रतिक्रिया दिए।

राम्रो भए पनि नभए पनि प्रचण्ड गणतन्त्रको संस्थापक भएकाले पिर परेको बेलामा बोलेका कुरालाई अन्यथा नमान्ने उनले बताए।

अध्यक्ष लिङ्देनले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न प्रचण्डले टाढा–टाढाबाट मान्छेहरू बोकेर ल्याएको र पार्टी प्यालेसमा भोज खुवाएको अनुभव सुनाएको समेत उल्लेख गरे। लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाइरहेको भन्दै यसलाई अन्त्य गरेरै छाड्ने उनले बताए। उनले हिजोका दिनमा राजसंस्था र दलहरुबाट भएका कमीकमजोरीलाई सुधार गर्दै राजा र गणतन्त्रबादीहरु अटाउने मौलिक व्यवस्थाका साथ मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखे।

राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले शनिबार काठमाडौंको शान्टिबाटीकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन्।

दरबारमार्गमा प्रदर्शन गर्ने राजावादीको पूर्वनिर्धारित योजना रहेपछि प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि उनीहरुले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा अभद्र व्यवहार गरेको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजावादीहरुले आइतबार काठमाडौंको नारायणचौर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.