खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैन: मन्त्री यादव

डिसी नेपाल
१९ जेठ २०८२ २१:४७
92
Shares

इलाम (फिक्कल)। खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन्।

आज संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम-पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रियामा मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइने बताए।

उनले भने, ‘खानेपानीजस्तो अत्यावश्यक चिजलाई ढिलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन। खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ।’

तोकिएको समयमा योजना सम्पन्न नगर्ने गुनासो सुनिएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी उनले गराए। उनले भने, ‘कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु। आज समस्या समाधान निकाल्नु पर्छ। कि ठेकेदारले काम गर्नुपर्छ, कि त ठेक्का रद्द गर्नुपर्छ।’

उक्त कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो।

सरकारले आधारभूतस्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना तर्जुमा गरेको थियो। सोही आयोजनाअन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजनास्थल सुर्योदय नगरपालिका-३, ६-८, १०-१४, इलाम नगरपालिका-१० र रोङ गाँउपालिका–३ मा निर्माण भइरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.