प्रथम यु १६ क्रिकेट : प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान

डिसी नेपाल
२० जेठ २०८२ १६:२८
604
Shares

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली क्रिकेटको ईतिहासमा गर्विलो कीर्तिमान बनेको छ।

लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १६ छक्काका साथ घरेलु क्रिकेट ईतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गरेका हुन्।

वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसंग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे।

गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीकाे पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो। शैलेश काफ्लेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राईक रेटमा आक्रामक ब्याटिंग गर्दै प्रतियोगिताकै रौनक बढाए।

लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७/१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो। गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए।

४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुनपुग्यो। गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन्। लुम्बिनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए।

विपिनको धारिलो स्पिन

उता, कालुचोक मैदानमा भएको अर्को खेलमा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले आफ्नो धारिलो स्पिनलाई निरन्तरता दिंदा पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै प्रतियोगिता तालिकामा २ अंक चढाउन सफल भएका छन्।

पहिलो खेलमाझैं निकै अनुशासित र किफायति बलिंग गरेका कप्तान विपिनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल भए।

१०औं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै खर्चिए। १२औं ओभरमा १ रन दिएर १ विकेट लिएका उनले १४औं ओभरमा मेडनसहित १ विकेट लिए भने १६औं ओभरमा मेडनसहित ३ विकेट लिए।

विपिनको जिम्मेवारीपूर्ण बलिङ कै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुनपुग्यो। जसमा विजय बोहराको ३ तथा नवीन न्यौपानेको २ विकेट महत्वपूर्ण रह्यो।

सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।  यस्तै अविरल बिकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए। सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो।

५६ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आप्mना ५ विकेट सुरक्षित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अंक तालिकामा खाता खोल्न सफल भयो।

कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाए। नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए।

लगातार दुई हार खेपेको सुदूरपश्चिम भने अंकविहीन छ। यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो।

दोश्रो दिनको खेल सकिंदासम्म एक एक खेल खेलेर समान दुई दुई अंक जोडेकामध्ये कोशी पहिलो र मधेश दोश्रो स्थानमा रहँदा दोश्रो खेलबाट खाता खोलेको कर्णाली तेश्रो क्रममा रहेको छ।

प्रतियोगिता अन्तर्गत भोलि २१ गते हुने खेलमा कोशी र लुम्बिनी भिड्दा बाग्मति र कर्णालीले प्रतिष्पर्धा गर्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) आयोजनामा ३१ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशका टोली सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.