‘अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण

डिसी नेपाल
२१ जेठ २०८२ ६:५८
492
Shares

लिस्बन । साहित्यकार रामप्रसाद पन्त (आरपी)द्वारा लिखित संस्मरणात्मक निबन्ध संग्रह ‘अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा आइतबार राजधानी लिस्बनमा एक कार्यक्रमका बीच उक्त संग्रहको लोकार्पण गरिएको हो।

पुस्तकको लोकार्पण पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, लिस्बनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, अनेसास पोर्चुगलका अध्यक्ष सवी श्रेष्ठ र लेखक पन्तले संयुक्त रूपमा गरेका थिए। कृतिमाथि साहित्यकार अर्जुन श्रीले समीक्षात्मक टिप्पणी गरेका थिए।

पूर्व नेपाली सेनासमेत रहेका पन्तले पुस्तकमा रोजगारीका लागि विदेशिएका नेपालीले भोग्नुपरेका समस्या, पीडा, संघर्ष र कथाव्यथालाई प्रवासी नेपालीक‍ो साझा कथाका रुपमा चित्रण गरिएको बताए। उनले युद्धग्रस्त अफगानिस्तानमा कार्यरत नेपालीले भोग्नुपरेको पीडा, भय, त्रास र आफूले नजिकबाट नियालेका युद्धका दृश्य र भोगाइ नै पुस्तकको मुल विषयवस्तु रहेको बताए।

वैदेशिक रोजगारीका सिलसिलामा झण्डै आधा दशक अफगानिस्तान रहेका पन्तले घरदेशदेखि परदेशसम्म र परदेशदेखि घरदेशसम्मको संघर्ष र यथार्थ भोगाइलाई निबन्धमार्फत प्रस्तुत गरेको बताए।

पहिलो कृतिका रूपमा प्रकाशित पन्तको उक्त पुस्तकमा ११ वटा निबन्ध संग्रहित छन्। जसमा लेखकका जीवनसंघर्षका भोगाइहरू, युद्धबाट आक्रान्त अफगानिस्तानमा कार्यरत नेपालीहरूको अवस्था र उनीहरूका परिवारले भोग्नुपरेको पीडा तथा वेदना समेटिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.