सत्यराजको कर्मपथ सार्वजनिक
काठमाडौं । युवा लेखक तथा अनुसन्धाता सत्यराज जोशीको किताब ‘कर्मपथ’ सार्वजनिक भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित एक समारोहबीच बुधबार पुस्तक विमोचन गरिएको हो।
कर्मपथ पुस्तकले पूर्वीय दर्शनमा आधारित “कर्म गर, फलको आश नगर” भन्ने मूल भावलाई समकालीन जीवन सन्दर्भसँग जोड्दै गहिराइका साथ प्रस्तुत गरेको छ।
विमोचन समारोहका सहभागी वक्ताहरूले ‘कर्मपथ’ लाई जीवनको उद्देश्य, आत्मअन्वेषण र नैतिक जिम्मेवारीबारे गम्भीर विमर्श गर्ने कृतिका रूपमा मूल्यांकन गरे। पुस्तकले कर्म र चेतनाको सम्बन्धलाई सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गर्दै पाठकलाई आत्मचिन्तनतर्फ डोर्याउने उनीहरूले बताए।
कार्यक्रममा पूर्वराजदूतद्वय प्रा. मोहनप्रसाद लोहनी र शम्भुराम सिंखडा, प्रा डा. ध्रुब कार्की, प्रा. कृष्णचन्द्र शर्मा र लेखक तथा सम्पादक श्रीश भण्डारीले कर्मपथबारे आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । समारोहमा विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति थियो।
लेखक जोशी शिक्षण, अनुसन्धान र लेखनमा सक्रिय छन्। शान्ति जर्नलका प्रधान सम्पादकसमेत रहेका उनले शान्ति, शिक्षा र सामाजिक रूपान्तरणका विषयमा अन्तर्राष्ट्रिय स्तरका संवादहरू सञ्चालन गर्दै आएका छन्।
‘कर्मपथ’ मा उनले कर्मको दार्शनिक आधार, आत्मअनुशासन, जीवनको उद्देश्य र आत्मबोधका विषयहरू प्रस्तुत गरेका छन्।
जीवनलाई अर्थपूर्ण बनाउने यात्रामा कर्मको केन्द्रीय भूमिका रहेको उल्लेख गर्दै लेखक जोशीले आत्मअनुशासन, सचेत जीवनशैली र आन्तरिक खोजलाई पुस्तकले विशेष महत्व दिएको बताए । नित्य पब्लिकेसन्सद्वारा प्रकाशित १९८ पृष्ठको यो पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।







डिसी नेपाल







Facebook Comment