अन्याय र अत्याचारको विरुद्धमा ‘पाँच पाण्डव’को ट्रेलर

डिसी नेपाल
१७ कार्तिक २०८३ २२:०६

काठमाडौं। चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–२ सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा सिनेमाका मुख्य पात्रले आफ्नो भूमिका प्रस्ट पार्ने प्रयास गरेको देखिन्छ। ट्रेलरको केन्द्रमा हरिवंश आचार्य छन्। पूरै ट्रेलर उनकै वरपर घुम्छ।

पृथ्वीमा रहेका आफ्ना भाइहरु दुखी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्टिर उर्फ हरिवंश समस्यामा रहेका भाइहरुलाई त्यसबाट कसरी छुट्कारा दिलाउने भन्नेमा छन्।

हरिवंश भीम, अर्जुन, सहदेव भन्दै नामाकरण गर्दै आफ्नो चार भाइ बनाइरहेका छन्। अनि जोजो समस्यामा छन्, उनीहरुलाई सहयोग गर्दै हिँडिरहेका छन्। अन्याय र विकृतिविरुद्ध उनी उभिएको देखिन्छं। अथवा समस्यामा परेकाहरुको उद्धारकमा रुपमा हरिवंश देखिएका छन्।

छोटा कपडा लगाएर क्यासिनोमा युवती देखेर उनी आङ ढाकिदिन्छन्। सभ्य समाज निर्माण हुनुपर्छ भन्ने उनको उद्देश्य रहेको देखिन्छ।

अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ। सिनेमाको हुक लाइन नै यही रहेको ट्रेलरले संकेत गर्छ।

यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन्। ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन्।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन्। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

यो चलचित्रलाई श्याम तामाङले खिचेका छन्। चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन्। गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।

‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन्।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन्।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *