बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
काठमाडौं। बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ।
बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेश सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो स्थानमा सीमित भयो। सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य हात पार्यो। ११, १२ र १३ औं संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो। लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो।
गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्यसाथ चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यसाथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौं स्थानमा रहे। सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो।
विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो। तीन दिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने।
प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो।







डिसी नेपाल








Facebook Comment