लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी सुविधा विस्तार

डिसी नेपाल
४ असार २०८२ ६:५४
24
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ।

लेकगाउँ खानेपानी र सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको छ। आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रन्तिजाले बताए।

‘घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको छ, मुहानदेखि ट्यांकी हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपानीको सुविधाले स्थानीयलाई सहज भएको छ,’ अध्यक्ष रन्तिजाले भने।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो। मङ्गलबार एक समारोहबीच नवनिर्मित खानेपानी आयोजना समुदायमा हस्तान्तरण गरिएको छ।

गत चैत २९ देखि निर्माण सुरु भएको यो आयोजना दुई महिनामै सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिए।

उनका अनुसार खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको रु ५० लाख ५४ हजार ३०४ र स्थानीयको १० लाख ९२ हजार ८०० बराबरको श्रमदान गरी कुल रु ६१ लाख ४७ हजार १०४ लगानी भएको छ। आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायतका पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरु गरेको छ।

आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ। नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरूपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इन्जिनियर उत्तमलाल श्रेष्ठले जानकारी दिए।

‘हामीले खानेपानी आयोजना बनाउने मात्र होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यताअनुसार पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छौं,’ उनले भने। आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधि प्रयोग गरिएको छ भने पानी ट्यांकीहरूमा बाहिरबाट कुनै फोहर पस्न नसक्ने गरी सावधानी अपनाइएको छ।

आयोजना निर्माण सुरु भएको दुई महिनामै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीय उत्साहित भएका छन्। गाउँको शिरानमा रहेको पानीखाना मूलको पानी ल्याएर १० हजार र ६ हजार लिटरका दुई पानी सङ्कलन ट्यांकी निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमुना जिरेलले जानकारी दिए।

खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्यांकीहरूको संरक्षण गरिएको छ। योजनाको दिगोपनका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.