‘एक घर, एक लालीगुराँस बिरुवा’ अभियानमा विद्यार्थी नेता बस्याल

डिसी नेपाल
८ असार २०८२ ९:३७
28
Shares

तानसेन (पाल्पा)। बगनासकाली गाउँपालिका–८ बराङ्दीका सुशील बस्याल राष्ट्रिय झण्डा र लालीगुराँसको संरक्षण अभियानमा निरन्तर लाग्दै आएका छन्।

तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा पुरानो अवस्थामा रहेको राष्ट्रिय झण्डालाई उनले फेरेका हुन् । उनले आफ्नै खर्चमा झण्डा फेरेका हुन्। तानसेनमा रहेका राष्ट्रिय झण्डा फेर्नुपर्ने अवस्थामा रहँदा समेत यहाँको स्थानीय सरकार, राजनीतिक दल, कर्मचारीको ध्यान जान नसकेको छैन ।

उनले भने “सामाजिक सञ्जालमा च्यातिएको झण्डा सुन्दरडाँडामा फहराइरहेको देखेँ, मेरो मनले झण्डाको अपमान भएको देख्न सकेन र एउटा झण्डा लगेर त्यहाँ राखेको हुँ ।” उनले राष्ट्रिय झण्डा राष्ट्रको अस्मिता हो, त्यसको अपमान गर्न नहुने बताए।

स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका सचिवसमेत रहेका उनले समाजलाई कसरी स्वच्छ, सफा र सुन्दर बनाउन सकिन्छ भन्ने अभियानमा समेत जुटेका हुन्। अहिले उनले गाउँलाई हरियालीमात्र होइन राष्ट्रप्रतिको माया सबैलाई जगाउन लालीगुराँस रोप्ने अभियान नै चलाउँदै आएका छन् । उनले एक घर एक लालीगुराँस अभियानअन्तर्गत सबै घरघरमा पुगेर लालीगुराँसका बिरुवा लगाएका छन्।

उनले अभियानमा अहिले सयौँ घरमा पुर्याइसकेका छन्। उनले आफ्नै लगानीमा स्थानीय नर्सरीबाट बिरुवा ल्याई लगाउने गरेका छन्। केही बिरुवाका लागि भने स्थानीय व्यक्तिको पनि सहयोग रहेको छ । नेता बस्यालले बेलौती खर्क टोलका सबै घरमा गुराँसका बिरुवा लगाइसकेका छन् । उनले गाउँभित्रका विद्यालय, वडा कार्यालय र विभिन्न धार्मिकस्थलसमेत लालीगुराँसका बिरुवा रोपेका छन्।

उनी भन्छन्, “सबैलाई देश र समाजप्रति समर्पित हुनको लागि राष्ट्रिय फूलको महत्व बुझाउन र गाउँलाई लालीगुराँसका रूपमा विकास गरी पर्यटनको विकास गराउनु अभियानको मुख्य उद्देश्य रहेको छ ।” उनले गाउँलाई सुन्दर र स्वच्छ बनाउने दायित्व स्थानीय सरकारको भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । बस्यालले भने, “व्यक्ति एक्लैले गाउँ, समाजलाई सुन्दर र सभ्य बनाउन सम्भव छैन, यसमा स्थानीय सरकारले पनि चासो दिनुपर्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.