स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर

डिसी नेपाल
८ असार २०८२ १७:१६
172
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालीमाटी प्रहरी बिट अगाडीको करखुसी खोला किनारमा बनेका अवैध संरचना हटाउने प्रक्रिया सुरु गरेको छ। आइतबार दिउँसो टोजरसहित पुगेको महानगरको टोली केही संरचना भत्काउन सुरु गरेको हो।

वडा नम्बर १४ का वडा सदस्य अच्युत सापकोटाले डुबानबाट बच्नका लागि तयारी स्वरुप स्थानीयबासीको सहकार्यमा संरचना भत्काउन सुरु गरिएको जानकारी दिए।

‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुवान हुने भएकाले स्थानीयबासीसँगैको सहकार्यमा तत्कालका लागि केही पुल हटाउन सुरु गरेका हौं,’ उनले भने।

दुई हप्ता अघि आएको पानीले समस्या आएका कारण स्थानीयसँगको सोधपुछ एवं सल्लाह अनुसार पुल हटाइएको उनले जानकारी दिए।

‘अहिले तत्काललाई चारपाँच वटा पुल हटाउने तयारी छ। खोला गहिराउने भन्दा पनि सफा गर्ने अभियान छ। वाल लगाएर सुरक्षाको विधि अपनाउने तयारीमा छौं,’ सापकोटाले भने।

स्थानीय शिवकुमार थापाले पुल हटाउँदा डुवान केही हदसम्म कम हुन्छ भन्ने आशा गरेको बताए। उनले पूर्णरुपले डुबान हुँदैन भन्ने स्थिति नरहेपनि प्रकृति विरुद्धमा जान नसकिने भएकाले संरचनाहरुको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए।

‘करिब २५ बर्षदेखि यस क्षेत्र बस्दै आएपनि बर्षेनी डुबानको समस्या झेलिरहेका छौं। निजी पुलका कारण स्थानीयबासी पीडित छन्। व्यक्तिगत रुपमा निर्माण भएका पुल यस वडामा दुईवटा छन्, १४ नम्बर वडामा करिब पाँचवटा होलान,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.