‘छहारी’मा एकल महिलाको श्रम र पसिना : बजार नपाउँदा सधैंभरी चिन्ता
सुनाकोठी(ललितपुर)। ललितपुर महानगरपालिका-२७ मा पर्ने सुनाकोठीमा एउटा कृषि फर्म छ। फर्मभित्र कांक्रा र फर्सीका लहरा झाँगिएका छन्।
लहरामा पहेंला फुलहरु फक्रिदैछन्। हरिया बुट्टामा खुर्सानी फस्टाउँदैछ। लहरामा सिमी र बोडीहरु हुर्किदैछन्। टनेल भित्र र बाहिर काउली उसैगरी हुर्किँदैछ। फर्मभित्र स्थानीय परिश्रमी महिलाहरु दिनरात नभनी सक्रिय छन्।
तिनै परिश्रमी एकल महिलाहरुले संचालनमा ल्याएको ‘छहारी कृषि एकल महिला फर्म’ तरकारी उत्पादनका लागि उदाहरणीय मात्र छैन्, ‘एकल’हरुले केही गर्न सक्दैनन् भन्ने परम्परागत सोचलाई चुनौति दिइरहेको छ।
हुनपनि एकल महिला भन्ने वितिकै हाम्रो मानसपटलमा ‘विधवा’ महिलाको चित्र घुम्छ। एकल भइसकेपछि एक्लो हुन्छन् भन्ने सोच यद्यपी कायम छ। समाजमा जरा गाडेर बसेको एकलप्रति सोच अब फराकिलो बन्दै गइरहेको छहारीले पुष्टि गर्दै गइरहेको छ।
पछिल्लो समय वैदेशिक रोजगारी कारणले होस् या दुर्घटनामा परेर या सम्बन्धविच्छेदका घटना बढिरहदा एकल महिलाको संख्या बढ्दै गएको छ। दशवर्षे माओवादी सशस्त्र द्वन्द्वमै पनि नौ हजार भन्दा बढि महिला एकल भएका थिए। अन्य थुप्रै घटनाहरुका कारण एकल भएका सुनाकोठीका महिलाहरु भने अब्बल सावित भएका छन्।
‘छहारी’को नेतृत्व गरिरहेकी छिन् सबिता मर्हजनले। २२-२३ बर्षमा दौडिरहेका बेला दुर्घटनामा परी श्रीमान गुमाएकी सविताले केही एकलहरुलाई संगठित गरेर सुरु गरेकी थिएन कृषि फर्म। एकल महिलाहरुको अधिकार र उद्यमशिलतालाई केन्द्रविन्दुमा राखेर संगठित भएका उनीहरुले कृषि फर्ममार्फत गतिलो उदाहरण पस्किदिएका छन्।
आर्थिक र शैक्षिक अवस्था फरक भए पनि जुनसुकै उमेरका एकल महिला धर्म र संस्कारका नाममा भेदभाव सहदै आइरहेको गुनासो सबिताको छ।
श्रीमान श्रीमती मिलेर पसल सञ्चालन गर्दै आइरहेकी सविता श्रीमानको मृत्युपछि पसल गर्दाको भोगाइ सम्झिदाँ अहिले पनि त्रसित हुन्छिन्। तर हिम्मत नहारेको स्वीकार्छिन्।
त्यो वेला मेरो पसल थियो। सेतो लुगा लगाएर पसलको लागि सामान लिन जाँदाको भोगाइ आजपनि ताजा लाग्छ। तर अहिलेका महिलाले त्यस्तो भोग्नु परेको छैन् होला। श्रीमानको मृत्युपछि रातो लगाउन नहुने संस्कार रहेकाले एक वर्षसम्म सेतो लुगा लगाउँदा सेतो देखेरै तर्सिन्थे। कति गाह्रो भयो भनेर साध्य छैन। विभिन्न आरोप लगाउने, सुन्नै नसक्ने शब्दहरुको प्रयोग गरेको सुन्दा मन कुडिन्थ्यो,’ उनले विगत स्मरण गरिन्।
तर उनकै अगुवाइमा सुनाकोठीका दुःखी, गरिव र वेसहारा एकल महिलाहरुको दुःख भुल्याउने सारथीका रुपमा छहारी एकल महिला कृषि फर्म संचालनमा ल्याएको महर्जनले जानकारी दिइन्। एकल महिलाहरुको सीप र क्षमतालाई उत्पादनसँग जोडेर नयाँ पहिचान स्थापित गराउन कृषि क्षेत्र रोजेको उनले बताइन्।
अहिले कृषि फर्मका टनेलहरुमा गोलभेडा, काँक्रो र बोडिहरु फलिरहेका छन् भने टनेल बाहिर मकै र सिमी फस्टाएका छन्।
विषदीरहित तरकारी उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फर्ममा वेसारदेखि पिडालुसम्म रोप्ने गरिएको छ। आफूले भोग्नुपरेको दुःख अरु एकल महिलाले भोग्नुनपरोस् भनेर छहारी एकल महिला समुह र कृषि फर्मको सुरुवता गरेको सविताले बताइन्।
२८ रोपनीमा फैलिएको फर्ममा सुरुवाती दिनमा २५ जना सदस्य थिए। अहिले त्यो संख्या बढेर ३६ पुगेको छ। सामुहिक रुपमा काम गर्दा आफूमात्र नभई दुःखलाई सुखमा परिणत गर्ने स्थल भएकोले छहारी नाम दिइएको पनि उनले सुनाइन्।
२०६८ सालमा एकल महिला समूह गठन भएपछि ०७१ सालतिर फर्म सुरु गरिएको उनले जानकारी दिइन्। फर्ममा ३५ देखि ७० बर्ष उमेर समूहका महिलाहरु दिनरात सक्रिय छन्।
खुशी बिसाउने छहारी
कृषि फर्ममा आबद्ध भएका महिला र केही स्थानीयहरुका लागि उक्त फर्म आत्मरिर्भर रहने मात्र नभइ खुशी बिसाउने माध्यम पनि बनेको छ। ३८ वर्षको उमेरमा एकल हुन पुगेकी प्रेम कुमारी महर्जन घरमा बस्नु भन्दा फर्ममा काम गरी आफ्नो जीवनयापन गरिरहेको बताउँछिन्। फर्ममा जाँदा आफू मात्र एकल नभएको महसुस हुने भएकाले खुशी विसाउने छहारी बनेको सुनाउँछिन्।
‘३८ वर्षको उमेरमा श्रीमान क्यान्सरले बित्नुभयो। त्यसवेला छोरी ११ वर्ष र छोरा १४ वर्षको थियो। छोराछोरी पढाउन र हुर्काउन सविताको माध्यमबाट फर्ममा आवद्ध भएकी हुँ,’ उनले भनिन,‘घरमा बस्नुभन्दा दिनभरी फर्ममा काम आत्मसन्तुष्टि मिलेको छ,’ उनले भनिन्।
फर्मकी अर्की सदस्य श्याम माया महर्जन उस्तै साथीहरुसँग मिलेर काम गर्दा रमाइलो हुने र दुःख विर्सिने बताउँछिन्। उनले उत्पादन भएका तरकारीले उचित मूल्य नपाउँदा ज्याला पाउन नसकेको गुनासो गरिन्।
‘काम त भइरहेको छ तर श्रमको उचित्र मूल्य पाएका छैनौं। किनभने हामीले उत्पादन त गर्यौ तर आफ्नो मूल्यमा बेच्न पाएनौ। राम्रो हुँदाहुँदै पनि बेच्न सकेका छैनौ,’ उनले भनिन्, ‘तैपनि काम गर्ने उत्साह छ। उस्तै उमेरका साथीहरु छौं। घरमा भन्दा फर्ममा काम गर्दा कति रमाइलो कति रमाइलो। दुःख पनि विर्सिने, बोल्न, हाँस्न पाइने रहेछ। मिलेर काम गर्न पाइन्छ,’ उनले भनिन्।
यस्तै अर्की सदस्य चनमाया महर्जनले आफूहरु संगठित भएको १५ बर्ष वितेकाले धेरै कुरा सिक्न पाएको सुनाइन्। ‘हामी संगठित भएको १५ बर्ष वित्यो। सुरुमा एकल महिला समूह थियो। बचत उठाउथ्यौ। कोहीलाई नाम पनि लेख्न आउँदैनथ्यो। अहिले लेखपढ गर्नपनि जान्ने भएका छौं,’ उनले अगाडि भनिन्,‘ दिनभर यही फर्ममा आउँछौ। दिनभरी काम गर्छौ अनि खाजा खाएर जान्छौ। काम गर्न रमाइलो छ। उत्पादिन सामग्रीको उचित बजार नपाएकाले ज्याला लिन पाएको छैन, अब पाइन्छ की भन्ने आश हुन्छ। फाइदामा भयो भने ज्याला पाइएला।’
बजारीकरणको समस्या
फर्ममा उत्पादन भएको तरकारीहरुले उचित मूल्य पाउन नसकेको फर्मका सदस्यहरुको गुनासो छ।
‘बजारमा विषादी भएको र अर्गानिक पनि त्यही मूल्यमा बेच्नुपर्दा मारमा परेका छौ। दुईथरी तरकारीको उही मूल्या पाउन सकिरहेका छैनौं। अर्गानिक उत्पादन त गरेका छौं तर मूल्य पाएका छैनौं। सबैभन्दो ठूलो समस्या भनेकै बजारको छ,’सबिताले भनिन्।
आफूहरुले थोरै उत्पादन गर्ने तर स्वस्थ गर्ने भएको भएपनि अर्गानिक र विषादी मिसिएको तरकारीबारे बुझाउन नसकिएको र उपभोक्ताले पनि बुझ्न नचाहैको उनको गुनासो छ। सम्बन्धित निकायले विभिन्न ठाउँमा हाटबजार राखिदिए राम्रो हुने उनले बताइन्। सरकारले बजार मात्र राम्रो व्यवस्थापन गरिदिए जतिपनि सामग्री उत्पादन गर्ने उनले जानकारी दिइन्।
यता, बाग्मती प्रदेश सांसद रघुनाथ महर्जनको राज्यले एकल महिलाहरुलाई दिने रकम प्रर्याप्त नभएको भन्दै सम्बन्धित ठाउँमा आवाज नपुगेको बताए। एकल महिलाहरुको डाटा संकलन गरेर अवस्था अनुसार राहत र अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिए।
एकल महिलाहरुको श्रेणी छुट्याएर राज्यले काम गर्नुपर्ने औंल्याए। उनले बाग्मती सरकारले संघीय सरकारलाई दबाब सिर्जना गर्ने साथै प्रदेशले आवश्यक समन्वय गर्ने बताए।







डिसी नेपाल







Facebook Comment