नाटक, गीत र संगीतमा रहेको विविधताले राष्ट्रिय एकतालाई बलियो बनाएको छ : राष्ट्रपति पौडेल

डिसी नेपाल
११ असार २०८२ १८:०१
16
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका छन्।

बुधबार शितल निवासमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका हुन्।

राष्ट्रपति पौडेलले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको उल्लेख गरे। नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको उनले बताए।

राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको धारणा राखे।

कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल संगीत तथा नाट्या दिर्घ साधना सम्मानबाट वरिष्ठ गायक दिप श्रेष्ठलाई, रंगमञ्च विधातर्फ वरिष्ठ रंगकर्मी हरिबहादुर थापालाई, संगित विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तानलाई, नाट्य विघातर्फ वरिष्ठ नाट्यकर्मी वेद कुमारी न्यौपानेलाई सम्मान गरे।

त्यस्तै नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्ण प्रसाद पौडेल, लोकसंगत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ कुशेश्वर राई र वाद्यबादन विधातर्फ वरिष्ठ वाद्ययवादक राजु अग्रवाललाई सम्मान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.