भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन् : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

डिसी नेपाल
१२ असार २०८२ १४:२२
192
Shares

महेन्द्रनगर। भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका नेपालीहरुले आफुहरुलाई कुटपिट गरिएको, काँचो भात साथै नुन–पानी र बेसार हालेर दिने गरेको बताएका छन्।

बुधबार अपरान्ह पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किएका उनीहरुले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दलालहरुले चरम यातना समेत दिएको बताए। भनेको नमाने कुटपिट समेत गर्ने गरेको पनि उनीहरुले बताए।

नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार गरि नेपाल ल्याइएको हो।

उद्धार गरिएको मनोज कटुवाल भन्छन्,‘राम्रो जागिर दिन्छु भनेर झुटो आशा देखाएर बोलाइयो। अन्त्यमा आफू त फसियो नै आफन्तहरुलाई नै फसाउन बाध्य पारियो।’
यस्तै, उनले सुत्नको लागि पातलो ढसना, खानाको लागि आधा मात्र पाकेको चामल अनि पानीमा नुन र बेसार हालेर दिने गरेको सुनाए।

उनले भने,  ‘पढेलेखेकालाई त्यही अनुसार नपढेकालाई त्यही अनुसार जागिर दिन्छु भनियो। धेरै साथीहरुलाई यस्तै झुटो आशा देखाएर बोलाएको रहेछ। हामीलाई त्यहाँ काम त दिइएन तर अन्य नेपालीहरुलाई पनि फसाउन धमाधम बोलाउने र फसाउने काम भयो। उनीहरुले भनेको मानेन भने कुटपिट गर्ने, मार्ने धम्की दिइयो। कुटपिटमा मलगायत मेरा धेरै साथीहरु परेका थिए। अरु धेरै नेपाली युवाहरु भारतमा गएर फसिरहेका छन्। उनीहरुलाई पनि छिटोभन्दा छिटो निकाल्नु पर्छ।’

सुरुमा नेपाली ४० हजार रुपैयाँ तिरेरे काम गर्न भनेर गएकाहरुलाई एउटा कोठा भित्रै थुनेर खाना पनि राम्रो नदिएको अर्का पीडित राजेश राईले बताए। ‘मलाई नराम्ररी फसाइयो, नेपाल फर्किन खोज्दा मार्ने धम्की दिइयो। आमाको निधन हुँदापनि नेपाल आउन दिइएन। चरम अमानवीय व्यवहार गरियो,’ राईले भने।

‘मलाई सुरुमा उनीहरु(दलाल)सँगै रहेका साथीले काम गर्न आउ भनेर बोलाए। पढेलेखेको छैन् भनेपछि प्याकिङ्को काम मिल्छ भनियो। तर पाँच महिना भइसक्दा पनि काममा लगाइएन्। एक महिनापछि मात्र काम के हो भनेर थाहा भयो, नेपालका मान्छे तान्ने काम मात्र रहेछ। आफ्नै मान्छेलाई फसाउने रहेछ। त्यो कुरा थाहा पाएपछि घर जान्छु भन्दा कुटपिट भयो। आमाको अन्तिम सार फेरेको हेर्ने इच्छा थियो तर नेपाल आउनै दिइएन्,’ उनले भने।

बिरामी हुँदा बेसार-पानी खाए जस्तो खाना खाएर १६ महिना काम गरेपनि एक रुपैयाँ नदिएको सौगात काफ्ले नाम गरेका अर्का पीडितले बताए।

‘कम्प्युटरमा डाटा इन्ट्रि र प्याकेजिङको लागि भनेर बोलाइएको हो। मलाई मेरो काकाको फोनबाट बोलाएको थियो। त्यहाँ गएर हेर्दा काकासँग फोननै छैन् रहेछ। त्यहाँ जानेबेला मसँग नेपाली ५० हजार असुलियो। त्यसपछि १०-१२ दिन एउटै कोठामा राखियो। मलाई मेरै आइडी प्रयोग गराएर आफन्तहरुलाई बोलाउन मात्र लगाइयो। मेरो आइडी प्रयोग गरेर अरु छसात जनालाई बोलाइएको रहेछ। त्यसपछि उनीहरुलाई कुटपिट गरेर पठाउने गरेको रहेछ। यसैक्रममा करिब पाँच लाख मेरो ऋण भयो,’ उनले भने।

‘बाउन्सरहरु प्रयोग गरेर नेपालीहरुलाई यातना दिइयो’

नेपालीहरुको उद्धारमा अगुवाइ गरेका ‘किन इन्डिया’का निर्देशक यस्तो घट्नाका बारेमा एक महिनाअघि नै पत्ता लगाएर उद्धारको प्रक्रिया सुरु गरिएको बताए। एकजना ताप्लेजुङका युवा मृत भेटिएपछि घट्नाका बारेमा अध्ययन सुरु गरेको जानकारी दिए।

‘उत्तरखण्डाको प्रहरीको सहयोगमा हामी घट्नास्थलमा पुग्दा लाइन लगाएर मान्छेहरुलाई बोलाउन लगाइएको थियो। बाउन्सरहरु प्रयोग गरेर बोल्न वा बोलाउन बाध्य पारिएको रहेछ। वीरेन्द्र शाहीको अगुवाइमा त्यहाँ नेपालीहरुलाई चरम यातना दिइएको रहेछ। पीडितहरुले निज शाही र मनिष तिवारी नाम गरेका दलालहरुको विरुद्धमा उत्रिएका हुन्। युवाहरु सुरुमा डराइरहेका थिए। तर शाहीलाई पक्राउ परेपछि मनोबल बढेको हो,’ जोशीले भने,‘यो घटनाका विरुद्ध मुद्दा अघि बढाइएको छ।’

उद्धार गरिएका व्यक्तिहरू चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४-४ जना, दाङ, स्याङ्जा, बाँकेका ३-३ जना, डोटी, ताप्लेजुङ, धादिङका २-२ जना, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम, रुपन्देहीका १-१ जना छन्।

उद्धार गरि नेपाल ल्याइएका युवाहरुको स्वागतमा नाकामा पुगेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विकले उद्धार गरिएका युवाहरुलाई सुरक्षित आफ्नो घरसम्म पुर्‍याइने बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्धार गरिएका युवाहरुलाई गन्तब्यसम्म पुर्‍याउने काम भइरहेको जानकारी दिए।

गत बिहीबार र आइतबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो।

आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ। उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ। भारतका विभिन्न सहरमा अझै सयौं युवा फसिरहेको आशंका गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.