सत्यकथामा आधारित : राजको दु:खद् अवसान
क्यान्सर अस्पतालको क्याविन कोठामा राज अचेत अवस्थामा मृत्युसँग लड्दै गरेको। सँगैको कुर्सीमा राजु निकै भावुक भएर आफ्नो अनन्य मित्रतिर हेर्दै मनमनै विलाप गरिरहेको। राज र राजु बाल्यकालदेखिका साथीहरू।
उनीहरू दुवैको परिवारबीच पनि निकै मधुर र गाढा सम्बन्ध थियो। भिन्दा भिन्दै विद्यालय र कलेजमा अध्ययन गरेका भए पनि दुवैको प्रगाढ मित्रताको मुख्य कारण संगीत बन्न पुगेको थियो।
सानैदेखि यी दुई मित्रहरू गीत-संगीतका पारखी थिए। पछि पछि त दुवैले सँगै बसेर दिनहुँ घण्टौंसम्म संगीतको साधना गर्ने गर्दथे। अर्को साथी नरेन्द्रसमेत प्रमोद, गणेश, विनय र अन्य सदस्य रहेको उनीहरूको ‘कला परिवार’ नामको सांगितिक संस्था पनि थियो। यही संगीतले गर्दा यिनीहरू जहाँ गए पनि सँगै हुने गर्दथे भने कलेजहरूमा हुने स्वागत समारोहदेखि विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने गर्दथे।
शुरुमा राज गितार बजाउँथ्यो भने पछि पछि उ एक कुशल गायक पनि बनेको थियो। ख्याति प्राप्त गजल गायक गुलाम अलिको जो कोहीले गाउन नसक्ने निकै कठीन गीत ‘चुपके चुपके’ समेत राजले निकै कुशलतापूर्वक गाउने गर्दथ्यो।
एकदिन वरिष्ठ संगीतज्ञ दीपक जंगमलाई उसले सोही गीत सुनाउँदा उनले ‘तिमी जस्तो राम्रो गायकको नाम हामीले किन सुनिरहेका छैनाैं बाबु! गीतहरू रेकर्ड गर’ भनेका थिए। त्यस्तै राजु गितार र हार्मोनियम बजाउन तथा गायकीमा माहिर थियो।
अम्बर गुरुङजस्ता प्रख्यात व्यक्तित्वसँग संगीतको तालीमसमेत लिएको उ ज्यादै राम्रा धुन बनाउने काम पनि गर्दथ्यो। अर्को साथी नरेन्द्र पनि अम्बर गुरुङको चेला हुनुका साथै निकै कुशल गायक र तबला, हार्माेनियम र अन्य केही वाद्ययन्त्र पनि बजाउन जान्दथ्यो।
आज नरेन्द्र यी साथीहरू मध्ये सबैभन्दा बढी ख्याती कमाउन सफल भएको छ। त्यस्तै प्रमोद निकै लोकप्रिय गायक थियो तर केही समय अघि उसको क्यान्सरको कारण दुःखद निधन भयो। १८-१९ वर्षको कलिलो उमेरदेखि नै कला परिवारमार्फत् यिनीहरूले दिने प्रस्तुतिले ख्याती कमाउन थालिसकेको थियो।
अरु त अरु, पाकिस्तानका ख्यातिप्राप्त गजल सम्राट मेहदी हसन नेपाल आएको बेला राजुको घरमा उनका पिताजीले निम्तो गरेको र सो रातको महेफिलमा उनको अगाडि राज, राजु र नरेन्द्रले उनकै गजलका साथै केही नेपाली गीत पनि सुनाउँदा मेहदी हसनले ‘मार्साल्लाह्, यी युवकहरूको गायकी निकै राम्रो रहेछ, यसै गरेर गाउँदै जानु’ भनेर आशिर्वादसमेत दिएका थिए।
अस्पतालको कोठामा साथी राजलाई एकनासले हेर्दा हेर्दै राजुको ध्यान विगतका दिनहरूतिर पुनः फर्किन थाल्यो। कलेजका कार्यक्रमहरूमा गीत-संगीतको प्रस्तुती गर्दा गर्दै धेरै युवतीहरूले यिनीहरूलाई मन पराउन थालेका घटनाहरू आँखा अगाडि आउन थाले।
आफूहरूलाई मन परेका युवतीहरूलाई आकर्षण गर्न राम्रा राम्रा कपडा लगाएर, कपाल कोरी, आँखामा कालो चश्मा लगाएर हिँडेका क्षणहरूको सम्झना हुन थाल्यो।
त्यतिबेला युवाहरू माझ निकै दुर्लभ मानिएको मोटरसाइकल चलाएर ठाँटिँदै कलेज गएको, विभिन्न युवतीहरूलाई आकर्षित गरेर पालै पालो मोटरसाइकलमा घुमाउन लगेको, आठ रुपैयाँ लिटरको पेट्रोल हाल्ने हैसियतसमेत नभएर मोटरसाइकलमा घुम्ने इच्छा गर्ने युवतीहरूलाई नै ठगेको जस्ता रोचक घटनाहरू आँखा अगाडि आउन थाले।
बढ्दो लोकप्रियताले गर्दा एकै दिनमा तीन-चार वटी युवतीसँग भिन्दा भिन्दै डेटिङ गर्नु पर्ने बाध्यताले थाकेर हत्तु भएका क्षण र ती घटनाका वर्णन एकापसमा गर्दाका रोचक पलहरू यी साथीहरूले बिर्सेका थिएनन्।
संगीतमा ख्याती कमाउन थाले पछि नै राज र राजुले रक्सीको सेवन गर्न सिकेका हुन्। रेडियो नेपाल र अन्य संगीत सम्बन्धी कार्यक्रमहरूमा भाग लिँदा पुराना कलाकारहरूको संगतले यी दुईले रक्सी पिउन थालेका थिए।
शुरु शुरुमा रक्सी पिउने कला बारे ज्ञान नभएकाले अत्यधिक मात्रामा सेवन गरेर ढुन्मुनिएको र बमन गरेको तथा अन्य युवाहरूसँग झैझगडा गरेका घटनाहरू पनि राजुको आँखा अगाडि आउन थाले। त्यस्तो बेला रक्सी नपिउने साथी नरेन्द्र, विनय र प्रमोदले राज र राजुलाई हप्काउँदै र काँध दिँदै बल्ल तल्ल घर पुर्याउने गर्दथे।
तर रक्सी पिउने गरे पनि यी दुईले कहिल्यै पनि युवतीहरूलाई हातपाइ गर्ने वा दुव्र्यवहार गर्ने काम भने गरेनन्। त्यसैले युवतीहरू यिनको पिउने बानीसँग पनि त्यति आजित थिएनन्, बरु यिनले पिएको बेला गरेका रमाइला कुरा सुन्न जम्मा हुने गर्दथे। यी दुईले रक्सी सेवन गरेको बेला यिनको धाराप्रवाह गफ सुन्न कलेजका साथीहरूको तँछाड-मछाड नै हुन्थ्यो।
यतिसम्म कि, पञ्चायती शासनकालको कडाईको बेला एकचोटी राजाको जन्मदिनको समारोहमा राजारानी भाग लिन साँझको बेला एक सरकारी भवनमा जाँदै गर्दा सो भवनको ढोकामा स्वागत गर्न बसेका सरकारी निकायका मानिसहरू, उच्च सुरक्षाकर्मीहरू र सर्वसाधारणको भीडमा रक्सी सेवन गरेकै भरमा सवारी सो स्थलमा आइपुग्न लाग्दाको इन्तजारको शान्त वातावरणमा राजले प्वाक्क ‘आफ्ना प्यारा राजारानीको जन्मदिनमा नखाए कहिले खाने त!’ भनेर कराउँदा त्यहाँ उपस्थित सबैजना गललल्ल हाँसेका थिए।
त्यतिबेला केही अप्रिय कुरा बोलेको भए तत्कालै थुनामा पर्थे यी अल्लारे ठिटाहरू। विभिन्न सांगीतिक कार्यक्रमहरूमा यिनको सुमधुर वाद्यवादन र गीतको निकै चर्चा हुने गर्दथ्यो। तर थिए निकै बिन्दास प्रकृतिका-आजको युवाहरूको थेगो ‘बाल मतलब छैन’ टाइपका।
सांगितिक कार्यक्रम परेको बेला त्यसपछि हुने खानपानको बेला धेरै रक्सी पिएर उनीहरू राति अबेला घर पुग्ने गरेका र उनका निम्ति राखिदिएको खाना नखाई सुत्ने गरेकोले आमाबाले यिनको यस्तो बानी बारे चाल पाएर धेरै पटक नराम्ररी हप्कीदप्की गरेका थिए।
तर आदतका मजबुर यी मनुवाहरू बाआमाको अगाडि नपर्ने गरी रक्सी धोक्ने र चुपचाप अबेला घर पुग्ने काम बरोबर गरेर घरका मानिसलाई हैरान पार्दथे भने भोलिपल्ट अनेक बहानाबाजी गरेर आफूलाई असल साबित गर्ने कुरामा पनि माहिर थिए।
निकै पुराना यस्ता रोचक घटना सम्झेर प्रफुल्ल भएको राजुको मुहार अस्पतालमा राजले लामो श्वास लिएको आवाजले गर्दा झस्किएर पुनः मलिन हुन पुग्यो।
राजलाई हालसालै मात्र विदेशमा रहेका छोरा र छोरीको परिवारसँग केही समयको निम्ति बस्न जाने क्रममा बिरामी परेर त्यहाँको अस्पतालमा भर्ना गर्दा निकै फैलिइसकेको र उपचार हुन नसक्ने अवस्थाको क्यान्सर भएको कुरा पत्ता लागेपछि उसकी धर्मपत्नी र छोराले नेपाल फर्काएका थिए।
निकै गलित भएर फर्किएको राजलाई घरमा भेट्न जाँदा पहिलेको त्यस्तो हँसिलो साथी हाल भयानक रोगले गाँजेकोले दुब्लाएको र गलित भएको देखेर राजु ज्यादै निराश भएको थियो।
तर पनि उसको अगाडि भने राजुले रुन्चे हाँसोको साथमा उसलाई अब उपचार पश्चात् पुरै सञ्चो हुने र उनीहरूले पुनः सांगितिक माहोललाई जगाउने कुरा गरेको थियो।
उसको यो कुरा सुन्दा राजको मुहारमा केही हौसला बढेको भान भएको थियो भने आजभन्दा करिव चार दशक पहिले प्रेम विवाह गरेर घर भित्राएकी पत्नी र छोराको मुहार निकै मलिन नै थियो।
कलेज जीवनकै बेला राज र राजुले दुई अति मिल्ने सखीहरूलाई मन पराएर राजले एउटी र राजुले अर्कीसँग निकै गहिरो प्रेम गरेका थिए। ती युवतीहरूको घर एउटै टोलमा भएको र दुवै बचपनदेखिका सखी भएकाले पनि उनीहरूलाई भेट्न तथा घुम्न जान पनि निकै सहज भएको थियो।
दिनभर घुम्न गएको बेलामा पनि यी दुई सखीहरूले एकअर्काको घरमा गएर कुरा मिलाउन सक्ने भएकाले दुवैका बाआमा ढुक्क थिए। राजुकी प्रेमिका अर्कै जातकी थिइन् भने राजकी प्रेमिका स्वजाती नै थिइन्। तर पनि त्यतिबेलाको कट्टर समाजमा प्रेम गर्नुलाई पनि राम्रो नजरियाले हेरिँदैनथ्यो।
राज र राजु दुवैको युवावस्थाको व्यक्तित्व निकै आकर्षक हुनुका साथै उनीहरू गफ गर्ने कलादेखि अन्य धेरै विधामा माहिर थिए। त्यसैले उनीहरूका केटा र केटी साथी तथा हिजोआजको भाषाको ‘फ्यान’हरू पनि निकै धेरै थिए। आफूभन्दा ठूला र अग्रजलाई प्रभाव पार्ने कलामा पनि उनीहरू निकै अगाडि थिए किनकी यी दुवैमा विभिन्न विषयको ज्ञान समेत धेरै थियो।
यी दुवैले आआफ्ना पे्रमिकासँग दिलैदेखि माया गाँसेकाले यिनीहरू बीचको प्रेमले पिपलको जस्तो गहिरो जरा गाड्दै गएको थियो भने एकापसमा पिपल कै रुखको छहारी जस्तो शितल प्रदान गर्न सक्ने ममता थियो।
आखिर एकदिन राजुले आफ्नी प्रेमिकासँग भागी विवाह नै ग¥यो र निकै संघर्षमय जीवनको शुरुवात गर्यो भने उसको साथी राजको पनि केही समय पछि त्यस्तै पाराको बिहे हुन गयो। समयको बहावसँगै यी युवा साथीहरू दुई दुई बच्चाका बाउ हुन पुगे।
दुवैको एउटी लक्ष्मी जस्ती छोरी र अर्को अर्जुन जस्तो छोरा। कस्ता भाग्यमानी साथीहरू। तर के गर्नु र यी दुवैको बचपना कहिल्यै पनि सकिएन। बच्चाहरू हुर्कंदासम्म पनि यी दुई साथीका हुण्डरी र बचकना व्यवहारमा कुनै कमी आएको थिएन।
तर दुवैभित्र भएको गहिरो ज्ञानको भण्डारणले गर्दा यिनीहरू आआफ्ना व्यवसायमा निकै मजबुत बनेर जम्न सके। पछि पछि उनीहरू बीचको भेटघाट व्यस्तताले गर्दा पातलिँदै गए पनि पारिवारिकदेखि व्यक्तिगतसम्मको सम्बन्ध भने झन् झनै मजबुत हुँदै गयो र बेला बेला सांगीतिक ‘ज्याम अप’ पनि भइ नै रह्यो।
युवावस्थामा बनेका सयौं साथीहरू घट्दै गए पनि राज र राजुको सम्बन्ध सधैं उस्तै नै रह्यो भने उनका सहधर्मिर्णीहरू पनि सधैं घनिष्ट सखीको रूपमा नै रहँदै गए। दुःखसुखमा दुवैले एकअर्काको परिवारलाई गर्नुपर्ने मद्दत गर्न र सल्लाह दिन कहिल्यै चुकेनन्।
आजभन्दा करिव आठ वर्ष पहिले राजुको धर्मपत्नीलाई आज राजलाई भएको जस्तै निको नहुने क्यान्सरले गाँज्न शुरु भयो। क्यान्सरको व्यथाले गर्दा उनी निकै गलेकी थिइन्।
दिनरात उनका छोरी र छोराले स्याहार गरेको भए पनि उनकी सबैभन्दा बढी मिल्ने सखी यानी राजकी पत्नी पनि उनको बिछौनासँगै टाँसिएर उनलाई ढाढस दिने र दवाइपानी खुवाउने काममा रात र दिन नभनी खटिई रहिन्।
आफ्नी बालसखीलाई देख्ने वित्तिकै उनको रोग आधा कम भएको महसुस उनले गर्दथिन्। उनी बारम्बार अस्पतालमा भर्ना भइरहन्थिन् भने उनको साथमा छोरी र छोरा तथा तिनै सखी हुने गर्दथे।
उनको खसम राजु भने जागिरको सिलसिलामा राजधानी बाहिर रहनु पर्ने बाध्यता थियो। वास्तवमा उनलाई क्यान्सर भएको पत्ता लागि सकेपछि राजुले विदेशी संस्थाको निकै राम्रो नोकरी पाएको थियो। तर उसलाई आफ्नी जीवनसंगिनी यस्तो भयंकर रोगले ग्रस्त हुँदा उनीबाट टाढा भएर नोकरीमा जान कतइ मन लागेको थिएन।
तर उसकी समझदार पत्नीले नै उसलाई यो जागीरको मौका नछोड्न अनुरोध गरेकी थिइन्। उनको भनाइमा अबका दिनमा उनको उपचारमा ठूलो धनराशी खर्च गर्नु पर्ने हुन सक्ने भएकोले यो नोकरीले निकै भरथेग गर्न सक्ने छ।
त्यसैले राजुले चाहँदा नचाहँदै पनि यो नोकरीमा रहने निर्णय गरेर पूर्वी नेपालमा बस्ने गरी उतै खटिएको थियो। डेढ-दुई महिनाको समयमा हारगुहार गरेर एकाध दिनको बिदा मिलाएर उ जति पटक काठमाडौं आउँदा पनि उसकी पत्नी झन् झन् गल्दै गएको देखेर ऊ ज्यादै निराश हुने गर्दथ्यो।
तर त्यस्तो कुरा पनि ऊ उसकी पत्नीसँग बाँडेर उनलाई निराश पार्न चाहँदैनथ्यो। मनमा जति बेदना भए पनि ऊ केही भएको छैन जस्तो गरेर बाहिर बाहिर मुस्कुराएर बस्ने गर्दथ्यो।
हेर्दा हेर्दै उसकी पत्नीको स्वास्थ्य बिग्रँदै अन्तिम अवस्थामा नै पुग्यो। तर त्यस्तो बेलामा पनि उसका हाकिमहरूले उसलाई कुनै दया नगरी पूर्वी पहाडमा गएर तालीमहरू सञ्चालन गर्न पठाए। कर्तव्य परायणताको आदत बसेको उसले हुन्न भन्न नसकेर नोकरीमा फर्केको बेला यता उसकी पत्नीको स्वास्थ्य डर लाग्दो पाराले बिग्रन थालिसकेको थियो।
उ घर फर्केको दिनमा त उसकी पत्नीले उसैलाई कुरेर बसेको जसरी अन्तिम श्वास थामेर अचेत अवस्थामा बसिरहेकी रहिछन्। राजुले रुँदै म आइपुगेँ प्रिय भनेर उसको हात समाउने बित्तिकै उनले राजुको हातलाई बेस्करी पक्रेर अन्तिम श्वास छोडिछन्। यसरी उनीहरूको सच्चा प्रेमको अन्तिम अध्यायको इतिश्री भएको थियो।
यस पछिका दिनमा जीवनसाथी विनाको एक्लो जीवन बिताउन बाध्य राजुले आफ्ना हुर्किसकेका बच्चाहरूको मनस्थितिमा कुनै नराम्रो असर नपरोस् भन्नाको खातिर उनीहरूको आमा पनि बन्ने प्रयत्न गर्यो।
तर उसले छिट्टै थाहा पायो कि आमा बन्न त्यति सजिलो हुँदैन रहेछ र आमाको ममता बाबाले कहिल्यै दिन सक्दैन रहेछ बालबच्चालाई भन्ने कुरा। बच्चैदेखि राम्रो लालन पालनमा हुर्केका र असल संस्कार पाएका उसका बच्चाहरू आज ज्यादै परिपक्व भएर प्रगतिको बाटोमा निकै अगाडि बढ्न सफल भएका छन्।
आमालाई कलिलै उमेरमा गुमाएर उनको ममताबाट बिमुख हुन परे पनि उनीहरूले शोकलाई शक्तिमा बदलेर आजको अवस्थासम्म पुग्न सफल भएका छन् भने सेतै कपाल फुलेर वृद्ध बन्दै गएको आफ्नो बाउ राजुलाई निकै सुखका साथ राखेका छन्।
राज बसेको अस्पतालको क्याबिनको त्यो क्षण निकै कारुणिक थियो। बाल्यावस्थादेखिका साथीहरू मध्येको एकजना साथी अन्तिम अवस्थामा मृत्युशैयामा बेहोस अवस्थामा सुतिरहेको र अर्को वृद्धोन्मुख साथी आँखामा भरिएको आँशु टल्काउँदै उसलाई एक टकले हेरी रहेको।
त्यस्तै आफ्नी घनिष्ट सखीलाई आठ वर्ष पहिले नै गुमाएकी राजकी पत्नी र उनका छोरा, छोरी र परिवारका सदस्यहरू तथा राजुका छोराछोरी पनि कुनै चमत्कार नै भएर आफ्ना घरमुली पति र बाबा तथा अंकल ठीक भइ हाल्लान् कि भन्ने झिनो आशा राख्दै केही नबोली बसिरहेका।
राजकी वयोवृद्ध आमा सकि नसकी उसलाई अन्तिम आशिर्वाद दिन अस्पतालको क्याविनमा आउँदा घरपरिवार मात्र होइन, राजको उपचारमा संलग्न स्वास्थ्यकर्मी समेत शोकमग्न हुन पुगेका थिए।
आखिर राजले एउटा अन्तिम लामो श्वास फेरेर सबैसँग बिदा लियो र चिर निद्रामा गयो। केही दिनको छोटो अस्पताल बसाइमा नै राजको स्वास्थ्य निकै खस्किएर उसको मृत्यु हुन गए पनि उसले रोगले दिने चरम पीडा र दुःख भने खासै भोग्नु परेन भन्ने कुरा उपस्थित सबैले महसुस गरे।
यो अर्थमा दुर्भाग्यपूर्ण रोगको सिकार हुन परे पनि राजको अन्तिम क्षण भने सजिलोसँग बित्न गयो। यसलाई भाग्य भन्ने कि के विशेषण लगाउने खै।
एकछिन कोलाहलको वातावरण, तर राज शान्त भएर गहिरो निद्रामा सुतिसकेको अवस्था।
राजुले गाला मुसारेर झक्झक्याउने कोशिश ग¥यो तर उसको साथी अब यो संसारको लागि एक इतिहास बनेर अनन्त यात्रामा हिँडिसकेको थियो। मानिस मरे पछि वा मर्दा कस्तो अनुभूति होला भन्ने कुरा बुझ्ने काममा राजले राजुलाई उछिन्न सफल भयो।
राजले अनन्तको यात्रा शुरु गरिसकेको थियो भने उसको भौतिक शरीर अस्पतालबाट आर्यघाटको यात्रामा निस्केको थियो। राजको शरीर राखिएको गाडीको पछि पछि उसको परिवारजन, राजु र उसका छोराछोरी र अन्य हितचिन्तकको क्याराभान नै शहरको कोलाहलपूर्ण वातावरणलाई छिचोल्दै पशुपतिनाथको शरणमा पुग्यो।
मनसुनले गर्दा सफा देखिएकी उर्लंदी बागमतीको अर्को पट्टीको किनारा माथि सन्ध्याकालीन सोमबारे आरतीको रमझम चलिरहेको र हजारौँ भक्तजनको भीड लागेको। मानौँ कि राजलाई बिदाइ गर्न यो सब तामझाम भइरहेको थियो।
ब्रह्मनालमा पनि राज चिर निद्रामा आनन्दले सुतेको जस्तो अति सुन्दर देखिएको। उसकी माता, पत्नी, पुत्र र पुत्री, भाइहरू तथा परिवारका अन्य सदस्यले आफूले निभाउनु पर्ने सबै कर्तव्य निभाएका। कतैबाट राजको आत्माले हेरिरहेको भए उसलाई सन्तोष नै भइरहेको हुन्थ्यो होला।
उसको अन्तिम शवयात्रा ब्रह्मनालदेखि विद्युतीय शवदाहस्थलसम्म पुर्याइँदा आकाशगंगाबाट पनि जलको वर्षा भयो। सनातन धर्ममा यस्तो शुभसाइतमा मोक्ष प्राप्त गर्न पाउनुलाई निकै राम्रो मानिन्छ।
शवयात्राको अघि अघि बजाइएको शंखको ध्वनि राजको कानमा परेको भए उसले त्यो कुन नोटमा बजिरहेको छ भनेर पनि थाहा पायो होला, किनकी उ संगीतको निकै चनाखो साधक थियो।
तीनबिसे छोटो जीवन पाएको भए पनि उसले वास्तवमा नै ठूलो सम्मानपूर्ण बिदाईको अवसर पायो। सम्पूर्ण परिवारजन, बन्धुवान्धब र अनन्य साथीको उपस्थितिमा अनन्तको यात्रामा निस्कन पाउनु कुनै भाग्यमानीको नसिवमा मात्र लेखेको हुँदोरहेछ।
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment