करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

डिसी नेपाल
१४ असार २०८२ १५:३४
2.2k
Shares

सिरहा । गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ। शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ।

विगत सात वर्षदखि नमूना विद्यालयको हैसियतमा वार्षिक करोड रुपैयाँ भन्दा अधिक सरकारी अनुदान प्राप्त गरिरहेको जनता नमूना माध्यमिक विद्यालय चोहर्वाले निराशाजनक प्रदर्शन गरेको छ।

उपरोक्त विद्यालयबाट एसईई परीक्षामा सामेल भएका १०६ जना विद्यार्थी मध्ये जम्मा १७ जना मात्र उत्तीर्ण भएका छन्। ८९ जना विद्यार्थी ननग्रेड अर्थात असफल भएका छन्।

उत्तीर्ण भएका १७ जना मध्ये पनि १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु पढ्न पाउँछन्। बाँकी चार जनाको ग्रेडमा नाम निस्किए पनि निम्नस्तरको अंक प्राप्त भएको छ।
यो परीक्षाफलले ८९ जना विद्यार्थीहरुको भविष्य गोलमाल बनाएको छ।

शिक्षासँग सरोकार राख्ने स्थानीय बासिन्दा रामचन्द्र सिंह भन्छन् ,‘विद्यालयमा बग्रेल्ति शिक्षक छन्। तर, पठनपाठन गतिलो छैन। शिक्षकहरु चोहर्वा दरवारको तावेदारी र एमालेको राजनीति गर्न मै व्यस्त छन्। अनि कसरी विद्यार्थी पास हुन्छन् त ?’,उनले थपे,‘चोहर्वा स्कूलमा सबै साधन र स्रोत हुँदा पनि पठनपाठन न्यूनस्तरको छ। चोहर्वा दरवारको इशारामा निम्नस्तरका शिक्षकहरु सरुवा गरेर ल्याएर थुपारिएको छ। कतिपय शिक्षकहरु नेताका मामा नाता पर्छन् र पढाउन छाडेर पार्टीको संगठन बनाउन हिँडछन्। अनि कसरी शैक्षिक गुणस्तर उकासिन्छ त? चोहर्वा स्कूलको शैक्षिक उन्नयनका लागि यसलाई चोहर्वा दरबारको राजनीतिबाट मुक्त गराउनै पर्छ।’

विद्यालयमा प्रधानाध्यापक ब्रह्मदेव महतोलाई रिजल्टबारे प्रतिक्रिया माग्दा उनले भने हाम्रो विद्यालयको रिजल्ट बिग्रिएको छ। खोइ के भनौ र ? बोल्ने बाटै छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.