‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

डिसी नेपाल
१४ असार २०८२ १५:४६
96
Shares

वीरेन्द्रनगर (सुर्खेत) । सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै गएका छन्। जिल्लामा ड्रागन फ्रुटको सम्भावना देखिएपछि ४५ जना किसानले व्यावसायिक खेती सुरु गरेका हुन्।

वीरेन्द्रनगर–८ का कृष्ण अधिकारीले चार वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आउनुभएको छ। कोरिया पढ्न जानुभएका अधिकारी पढाइ सकेर नेपाल फर्केपछि काठमाडौंमा कोरियन भाषा पढाउन सुरु गरे पनि उनलाई आफ्नै माटोले तान्यो। कृषि पेसामा केही गर्छु भन्ने योजनासहित उनले ड्रागन फ्रुटको खेती सुरु गरेका थिए।

अहिले अधिकारीको आम्दानीको स्रोत ड्रागन फ्रुट बनेको छ। करिब ४० लाख लागत लागेको बताउँदै उहाँले ड्रागन फ्रुट, कुरिलो, फूल र मौरीपालन गरेको जानकारी दिए। अधिकारीले वीरेन्द्रनगर–११ ग्रागेतालमा २३ कट्ठा जमिन भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक खेती सुरु गरेका हुन्। उनले २० कट्ठामा ड्रागन र बाँकीमा जग्गामा कुरिलो, फूल र मौरीपालन गर्दै आइरहेको बताए।

सुरूवातमा सात सय ५० पोलमा तीन हजार ड्रागनका बिरुवा लगाएको जनाउँदै अधिकारीले फार्ममा हाल नौ सय पोलमा तीन हजार ६०० बेर्ना उत्पादनमूलक बनेका बताए। बिरुवाले एक वर्षमा उत्पादन दिने हुँदा लगानी छिटो उठ्ने उनको भनाइ छ।

उनले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती सुरु गरेका थिए। वार्षिक एक लाख भाडा तिर्ने उक्त जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ। ड्रागनको उत्पादन जेठदेखि मङ्सिरसम्म हुने गर्दछ। कोपिला आएको ३५ दिनमा फल बजार पठाउन सकिन्छ।

यो वर्ष पहिलो सिजनमा एक सय ५० किलो फल उत्पादन भइसकेको अधिकारीले जानकारी दिए। ‘दोस्रो सिजनको फल बजार पठाउन सुरु भइसकेको छ। यस सिजनमा २० क्वीन्टलभन्दा बढी उत्पादन हुने अनुमान छ’, उनले भने।

गत वर्ष ६० क्वीन्टल फल बिक्री गरेर रु २२ लाख आम्दानी गरेको अधिकारीले जानकारी दिए। यस वर्ष उत्पादन बढेर एक सय क्वीन्टल पुग्ने अनुमान गरिएको भन्दै करिब ३० लाखको कारोबार हुने अपेक्षा गरिएको उनले उल्लेख गरे। ‘खुद्रा बजारमा प्रतिकिलो चार सय र थोकमा रु तीन सय ५० मा बिक्री हुँदै आएको ड्रागनको माग दिनानुदिन बढ्दो छ। एक पटक लगाएको ड्रागनको बिरुवाले २० वर्षसम्म फल दिन्छ’, उनले भने।

ड्रागनसँगै उनले कुरिलो खेती गरेका थिए। चैतदेखि भदौसम्म फल दिने यो वनस्पति एकपटक लगाएपछि १० वर्षसम्म उत्पादन दिन्छ। यस वर्ष मात्रै कुरिलो बिक्री गरेर उनले ६० हजार आम्दानी गरेको बताए। कुरिलो प्र्रतिकलिो ६ सयमा बिक्री हुन्छ।

मौरीपालन सुरु गर्न परीक्षणमा तीन घार मौरी राखेको बताउँदै अधिकारीले यस वर्ष मौरीको घार विस्तार गरी ६० वटा पुर्‍याउने योजना रहेको जानकारी दिए। उनले भने, ‘अहिले मौरी परीक्षणका लागि तीन घार मात्र राखेका छौँ। उत्पादन प्रशस्त हुने अपेक्षा छ। यस वर्ष मौरीको घार ६० सम्म पुर्‍याउने तयारीमा छौं।’

कृषिमा आत्मनिर्भर हुँदै गएको अधिकारीले फार्ममा एक जनालाई स्थायी रोजगारी पनि दिएका छन्। उनलाई मासिक १७ हजार तलब दिने गरेको अधिकारीले बताए। उनका अनुसार ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट वार्षिक रु मात्र एक लाख ५० हजार आम्दानी हुने गरेको छ।

अधिकारी जस्तै वीरेन्द्रनगर–१२ की पद्मा रावत ड्रागन फ्रुटको खेतीमा रमाउन थाल्नुभएको पाँच वर्ष भयो। वि.सं. २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फार्म स्थापना गरी श्रीमान् वीरबहादुर बुढा र उहाँले खेती गर्ने योजना बनाउनुभएको थियो। वि.सं. २०७७ चैतमा बिरुवा लिन भारतको गुजरात पुगे। त्यतिबेला कोरोना सङ्क्रमण महामारीका रूपमा फैलिएको थियो। कोरोनाका कारण वीरबहादुरको वि.सं. २०७८ वैशाख १७ गते मृत्यु भएपछि रावतले व्यवसायलाई निरन्तरता दिँदै आएका हुन्।

रावतले छ सय ५० पोलमा दुई हजार ६०० बिरुवाबाट सुरु गर्नुभएको ड्रागन फ्रुटको खेती अहिले एक हजार ४०० पोलमा पाँच हजार ६०० बिरुवा पुगेका छन्। वार्षिक तीन लाख तिर्नेगरी जग्गा १५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको उनले जानकारी दिए।

‘यस वर्षको पहिलो सिजनको ड्रागन बजार पठाउन सुरु भएको छ। अहिलेसम्म दुई क्वीटल बिक्री गरिसकेकी छु। एउटा बोटले आठ पटकसम्म उत्पादन दिन्छ। एउटा खम्बामा चार वटाका दरले बिरुवा रोप्ने गरिन्छ। यो फलको मूल्य अहिले केही घटेको छ, पहिला जस्तो अहिले आम्दानी हुँदैन तर आफूलाई घर खर्च र छोराछोरीको पढाइ खर्च पुगेको छ’, उनले भने।

वर्षमा छ लाखसम्म आम्दानी हुने गरेको रावतले जानकारी दिए। उनले भने, ‘नयाँ रोपेका बिरुवाले फल दिने समय नभएकाले आम्दानी कम भएको हो। ड्रागनका बिरुवा बिक्री गरेर वार्षिक रु तीन लाख आम्दानी हुन्छ।’ उनले फार्ममा तरकारी, फूलका बेर्ना लगाउनुका साथै कुखुरा र बाख्रापालन पनि गर्दै आएका छन्।

कर्णाली ड्रागन उत्पादन महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका बताए। उहाँका अनुसार अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रुटको खेती गर्दै आइरहेका छन्। उनका अनुसार करिब ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटको खेती भइरहेको छ।

खनालका अनुसार हाल उत्पादन भएका ड्रागन सुर्खेतमा बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौंसम्म पठाइने गरिएको छ। सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने अध्यक्ष खनालले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.