गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफलाई
पोखरा। गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले हासिल गरेको छ।
पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए। फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१-१७ को जित निकाल्दै उपाधि चुमेको हो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो।
उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए।
सेमीफाइनलमा एपिएफले कोशीप्रदेशलाई २३-२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो। यस्तै आर्मीले गण्डकीलाई २१–१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो।
फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११-५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्न सफल रह्यो। सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो।
१२ गतेदेखि १४ गतेसम्म चलेको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागि थिए। यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित भइन्। यस्तै एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए।
प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, ह्याण्डबलका पूर्व मुख्य प्रशिक्षक हिमाल दाहाल, एपिएफ नं ४ बाहिनीपति डिआइजी दीपेन्द्र शाह, वुल्समेन क्लबका सचिव उदिम गुरूङ, भूपू खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरूङलगायतले नगद, मेडल, ट्रफी तथा प्राणपत्र वितरण गरेका थिए।
प्रतियोगिताको प्रवद्र्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको थियो भने सह–प्रायोजकमा बुल्समेन क्लब र प्राविधिक सहयोग जिल्ला ह्याण्डबल संघ कास्कीको रहेको थियो।







डिसी नेपाल







Facebook Comment