एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

डिसी नेपाल
१५ असार २०८२ २१:४४
272
Shares

काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो।

नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन्। यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन्। लाओसले एउटा आत्मघाती गोल गरेको थियो।

नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको थियो। सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओस विरुद्ध २–० गोलको अग्रता लिएको छ। नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो। खेलको १२औँ मिनेटमा अनिताले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन्। यस्तै खेलको ४४औँ मिनेटमा नेपालका लागि अनिताको क्रसमा सावित्राले गोल गरिन्।

दोस्रो हाफमा नेपालले थप ६ गोल गरेको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै नेपालका लागि सरु लिम्बूले गोल गरिन्। यस्तै खेलको ५५औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। उनले खेललाई ४–० गोलको अवस्थामा पुर्याइन्। लगत्तै रश्मीकुमारी घिसिङले गोल गरिन्। नेपालले खेलको ७५औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यसको एक मिनेटपछि साम्बाले नै व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ६–० गोलको अग्रता दिलाइन्।

यस्तै खेलको ८३औँ मिनेटमा नेपालका लागि अनिता केसीले गोल गरिन्। नेपालले ८–० गोलको अग्रता बनायो। खेलको ८८औँ मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो। योसँगै नेपालले तीन अङ्क जोडेको छ। आजको खेल नेपालले १००औँ अन्तर्राष्ट्रिय खेल हो। नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आज आराम गर्न दिइएको थियो। नेपाल रहेको समूह ‘एफ’ मा लाओसका साथै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.