विधेयक पास भएपछि प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सकिने
काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यहरुसँग छलफल भएको छ।
सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बसेको समितिको ८१औँ बैठकमा उक्त विषयमा छलफल भएको हो। सोही क्रममा संशोधनकर्ता ठाकुर गैरेले नेपाल प्रहरी सम्बन्धी विधेयक पास भएपछि प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउनको लागि अवश्य पनि मद्दत पुग्ने बताए।
उनले भने, ‘नेपाल प्रहरीले सुरक्षाको व्यवस्था गर्न, शान्ति सुरक्षा कायम गर्न प्रभावकारी अनुसन्धान गर्न र विपद् व्यवस्थापन लगायत अन्य प्रकारका जनतासँग सरोकार राख्ने सबै विषयहरुसँग एउटा अभिन्न अंगको रुपमा रहेर जुन सेवा प्रदान गर्दै आएको छ। यो विधेयक पास भएपछि त्यो भूमिकालाई अझै प्रभावकारी बनाउनको लागि अवश्य पनि मद्दत पुग्ने छ। संविधान, लोकतन्त्र र शान्ति व्यवस्थाको कुरालाई प्रभावकारी बनाउनको लागि यसले मद्दत पुग्ने छ।’
साथै, उनले संविधानले व्यवस्था गरे अनुसार जुन संघीय शासन प्रणाली अनुरुप प्रहरी सेवाको प्रवाहलाई लैजानको लागि पनि यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताए।
यस्तै, अर्का संशोधनकर्ता लेखनाथ दाहालले स्वचालित राजकीय संरचना निर्माण गर्न सकिएन भने अनावश्यक राजनीतिक हस्तक्षप बढ्ने भन्दै अहिले देखिएको अपारदर्शिताको पछाडि कतै न कतै सरकार र सरकारको गैर कानूनी आदेश जोडिएको बताए।
उनले भने, ‘हाम्रो नीतिगत, कानूनी र संरचनात्मक नेतृत्व सरकारले गर्ने तर सरकारले अनावश्यक आदेश दिने, गैर कानूनी आदेश दिने आवश्यक पर्छ कि पर्दैन्। आदेश त सम्बन्धित कानूनले दिन्छ, कानूनको मातहतमा बसेर राजकीय संरचनाहरु परिचालन हुनुपर्ने, स्वचालित राजकीय संरचना निर्माण गर्न सकिएन भने अनावश्यक राजनीतिक हस्तक्षप बढ्छ नै अहिले देखिएको अपारदर्शिताको पछाडि कतै न कतै सरकार र सरकारको गैर कानूनी आदेश जोडिएको छ। यसलाई नियन्त्रण गर्ने गरि कानून बनाएर जानुपर्छ।’
अब आउने दिनमा कमसेकम प्रहरी संगठन स्वचालित हुनुपर्ने र प्रहरी संगठनले सहज तरिकाले आफ्नो भूमिका निर्वाह गर्न पाउनुपर्ने पनि उनको भनाइ छ।
उनले भने, ‘विधेयक हामीलाई हेरेर होइन प्रहरी संगठनमा समस्याहरु देखिएका छन् र समस्या निम्ताउने बुँदाहरुलाई पनि हटाउनु पर्ने हुन्छ। अब आउने दिनमा कमसेकम प्रहरी संगठन स्वचालित होस, प्रहरी संगठनले सहज तरिकाले आफ्नो भूमिका निर्वाह गर्न पाउनु पर्छ।’







डिसी नेपाल








Facebook Comment