युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्ने बताएका छन्। राष्ट्रिय युवा परिषद्को आयोजनामा आज काठमाडौंमा सुरु भएको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्
‘युवाका लागि अबको निकासः उद्यमशीलता, रोजगारी र सीप विकास’ भन्ने नारासहित आयोजित सम्मेलनमा उपराष्ट्रपति यादवले युवाहरूको साहस, सृजनशीलता र सम्भावनालाई नेपालको उज्ज्वल भविष्यको आधारका रूपमा उल्लेख गरे। ‘नेपालको कुल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने युवाशक्ति आजको यथार्थमात्र होइन, उज्यालो भविष्यको सुनिश्चितता पनि हो’, उनले भने, ‘युवाहरू नवप्रवर्तनशील सोच र उद्यमशील दृष्टिकोणका साथ राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ।’
उपराष्ट्रपति यादवले राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय सम्मेलनहरूबाट केन्द्रीय तहसम्म आइपुग्दा उद्यमशीलता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे। यस्ता सम्मेलनले सरकारका नीति र कार्यक्रमलाई युवासँग जोड्न, निजी क्षेत्रसँग सहकार्य सुदृढ गर्न र स्टार्टअप संस्कृति प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उपराष्ट्रपति यादवले जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी, साना तथा घरेलु उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रमा युवालाई केन्द्रमा राखेर नीतिनिर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। ‘हाम्रो चाहना नेपाली युवा समस्या देखाउनेमात्र नहोस्, स्वयं समाधान पनि बनोस् भन्ने छ’, उनले भने, ‘यसका लागि सशक्त वातावरण, अनुकूल नीति, वित्तीय पहुँच र युवाप्रतिको विश्वास अपरिहार्य छ।’
उपराष्ट्रपति यादवले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजी, सीप र मार्गदर्शन प्रदान गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान, वित्तीय निकाय र नागरिक समाजले साझा जिम्मेवारी लिनुपर्ने बताए। उनले बेरोजगारी घटाउन र युवालाई स्वरोजगारका लागि प्रेरित गर्न यो सम्मेलन कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले सम्मेलनको सफलताका लागि आयोजक राष्ट्रिय युवा परिषद्लाई बधाई दिँदै युवाहरूको सृजनशीलता र जोशलाई व्यावहारिक रूपान्तरण गरी समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन शुभकामना व्यक्त गरे।







डिसी नेपाल








Facebook Comment