भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

डिसी नेपाल
२२ असार २०८२ १८:४२
524
Shares

टक्सार (भोजपुर) । शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न यहाँ ल्याइएको हो।

भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरुको हत्या गरेपछि अभियुक्तले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

अभियुक्त राई पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए। जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। मनिषा र राजेन्द्रबीच नौ महिना अगाडी प्रेम बिवाह भएको थियो। झगडा भएपछि केही समयदेखि मनिषा माइतमै बस्दै आएकी थिइन्।

भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौंमा बस्दै आएकाले उनीहरू आएपश्चात् मात्र दास संस्कार गरिने प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.