बाढीले बगाएको जीवन : बर्ष बित्यो रोशी-कोलाँती क्षेत्र अझै उजाड र खण्डहर

डिसी नेपाल
२३ असार २०८२ ७:२४
84
Shares

पनौती(काभ्रे)। काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी-कोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो। आज त्यो ठाउँमा केवल चिहानजस्तै छ। सन्नाटा छाएको छ र स्थानीयबासी डरले कापिरहेका छन्।

गत असोज १० देखि १३ गतेसम्मको त्यो कहालीलाग्दो ‘रेकर्ड ब्रेकिङ’ वर्षाले यहाँको जीवन, सपना र सम्भावनाहरूलाई बगाएर लगेको बर्षदिन वितिसक्यो। खण्डहर बनेको बस्ती र भत्किएका घरहरुको अवस्था जस्ताकोत्यस्तै छ। समय वितेपनि घाउ निको भएन्, पीडालाई बिर्सन दिएन।

राति पानी प‍र्‍याे कि घरभित्र सुतिरहेका आमाबुबा झसक्क उठ्छन्। बादल लाग्छ, बालबालिकाले आँसु मिसिएको अनुहार बनाउँछन्। यो एक वर्ष उनीहरूका लागि दिन केवल अस्ताउने घामजस्तै भयो, रात केवल डरले भरिएको।

बाढीको उग्र भेलले बगाएको थियो रोशी किनारका बस्तीहरू। बालुवाको डंगुर थुपारिएको थियो, क्रसर उद्योगले थुपारिदिएको धुलो त्यसै लुटिएको थियो। र त्यसैबाट बनेको थियो बाढीको स्वरूप-कहर र क्रुद्धताको यस्तो यथार्थ, जुन कसैले सोचेको थिएन।

बगायो बाढीले-नाबालकको भविष्य मात्र होइन, वृद्ध आमाको सपना पनि। घरहरू गएका थिए पानीसँगै। अनि तिनका भित्तामा टाँसिएका सपना, हाँसो, र सम्झनाहरू पनि गएका थिए बग्न। आज पनि त्यो ठाउँमा पुग्दा देखिन्छ-भत्किएको एउटा भान्साघर, जसमध्ये चुल्हो मात्रै बाँकी छ। तर त्यो चुल्हो अब आगो बल्ने छैन, त्यो अब केवल प्रतीक हो-उजाडको।

खानेपानी आयोजनाको पाइपहरू भाँचिएर कताकता झुन्डिएको देखिन्छ। सडकहरू अब सडक होइनन्, पहिरोले लत्याएको मार्ग मात्रै छन्। पुलहरू जहाँ थिए, त्यहाँ अहिले खाली गहिरा खाडल छन्। मानौं, प्रकृतिले प्रश्न गरिरहेको होस् ‘फेरि निर्माण गर्न सक्ने हो ?’

सरकारी काम कति सुस्त छ। स्थलगत पुगेर अवलोकन गर्दा सबै स्पष्ट देखिन्छ। अनि बासिन्दाहरूको आशा टुटिसकेको छ। पुनर्निर्माणको काम उस्तै ढिला, राहतका आश्वासनहरू केवल भाषणजस्तै भएका छन्। बाढीको पहिलो दिनदेखि आजसम्म, राहतभन्दा बढी त उनीहरूले अपेक्षा गुमाएका छन्।

आज पनि रोशी-कोलाँतीका बासिन्दा त्यो घटनालाई सम्झिँदा आँखाभरि आँसु लिएर भन्छन्, ‘हामीलाई खोला होइन, क्रसरले डुबायो।’ तर त्यो आवाज कसले सुन्छ ? सडकमा उभिएका तिनीहरूको प्रतिवाद र विवशता, सबै लहरसँगै हराएका छन्।

वर्ष दिनपछि पनि, जब एक थोपा पानी पर्छ, त्यहाँको माटो त केवल भिज्दैन, मानिसहरूको घाउ पुनः चिरिन्छ। त्यो भूगोल मात्र होइन्, त्यो भावनात्मक पीडाको थलो बनिसकेको छ।

एक वर्ष भयो तर समयले घाउ भुलाउन सकेन। पनौती नगरपालिका-१२ स्थित रोशी–कोलाँती क्षेत्रका मानिसहरू अझै पनि राति पानी परेपछि निदाउन सक्दैनन्, झस्किन्छन्, तर्सन्छन्।

०८१ सालको असोज १० देखि १३ गतेसम्म लगातार परेको वर्षाले यो क्षेत्रलाई तहसनहस पार्यो। रोशी खोला आफ्नो सीमाभन्दा धेरै बाहिरिएर बग्यो-कुनै शक्तिशाली हातझैं, जसले गाउँको मुटु च्यातेझैं ग‍र्यो। सडक, पुल, खानेपानी आयोजना मात्र होइन, मानिसका घर, सम्झना, सपना र शान्ति सबै बगायो।

आज पनि रोशी किनारमा उभिँदा बगाइएका झुपडीहरूका अवशेष देखिन्छन्। कतै भत्किएको भान्सा, कतै आधा बाँकी कोठाको पर्खाल, कतै खोलामा झुन्डिएको जस्ता पाता।

प्राकृतिक प्रकोप त थियो नै तर त्यसमा थप आगो झन स्थानीय खानी र क्रसर उद्योगहरूले हालिदिए। क्रसर उद्योगबाट निस्किएको धूलो र खानीको उत्खननले नदीलाई साँघुरो बनायो। बाढीको बेगलाई तीव्र बनायो। नदी किनारमा थुपारिएको ग्रावेल र ढुंगा भेलसँगै बग्दा पानीले अब जल मात्र थिएन, त्यो एक विनाशकारी तरल बम बनिसकेको थियो।

स्थानीय बुद्धवीर तामाङ भन्छन्, ‘बाढी पहिरो जानुमा खानीहरूको प्रभाव त छ नै, हाम्रो पनि दोष छ। हामीले खोलाको पेटीमै घर बनायौं, अतिक्रमण गर्यौं तर त्यो सर्भाइवल थियो, नियति थियो। तर राज्यले के ग‍र्‍याे ?’ उनी आक्रोक हुँदै भन्छन्, ‘बर्खा अगावै तटबन्ध बनाउन सकिन्थ्यो। तर सरकार बर्खा कुर्छ, अनि असार मसान्तमा कागजमा मात्रै योजना बनाउँछ।’

बाढी गएको एक वर्ष भइसक्यो। तर बगाएको खानेपानी आयोजना अझै उस्तै, चुँडिएको पाइप झुन्डिएको छ। पुल-पुलेसा छैनन्। सडक भत्केको छ र आवतजावत जोखिमपूर्ण छ। पनौती नगरपालिकाले खोला किनारमा तटबन्धका लागि ५० लाख विनियोजन गरेको छ। तर काम सुरु भएको छैन।

तीन तहका सरकारमध्ये कसैको ध्यान यहाँ पुग्न सकेको छैन। राहत छरिएको हो, पुनर्निर्माण होइन। स्थानीयहरूले आवाज उठाए, केही खानी बन्द पनि भए। तर दुई महिनामै ती पुनः कसरी सञ्चालनमा आए भन्ने स्थानीयलाई नै थाहा छैन । ‘कानुन बनाउनुपर्छ, खानी खोलामा ग्रावेल हाल्नै हुँदैन,’बुद्धवीरले दुखेसो पोखे।

यसैगरी नेपाल न्यूज बैंकसँग कुरा गर्दैगर्दा त्यो रात सम्झँदा माइली आमाको आँखाबाट आँसु अझै झर्छ। उनी भन्छिन्, ‘८० वर्षकी बुढी मान्छे दौडन सक्दिन, बच्चाहरूले तानेर लगे, बल्ल बाँचियो।’ अहिले एउटा सानो छाप्रोमा जीवन चल्दैछ। ‘घर बनाइदिए त हुन्थ्यो, घरकै पीर छ।’

बाढीले सपना चुडाएको बेला माइलीको चार दिनपछि श्रीमानको निधनले जीवनको बाँच्ने अधार नै चुढियो। उनको वाक्य सुन्दा लाग्छ-बाढीले केवल घर होइन, जीवनका आधारहरू बगाएको छ।

अविरल वर्षाले रोशी-कोलाँती क्षेत्रलाई गम्भीर क्षति पुर्याएको एक वर्ष पूरा भइसक्दा पनि त्यहाँको पुनर्निर्माणको अवस्था नाजुक देखिन्छ।

बाढीले बगाएका घरहरू अझैसम्म निर्माण हुन सकेका छैनन्। स्थानीयवासी विजय लामा तामाङका अनुसार, ८० लाख मूल्यको घर बगाउँदा सरकारले मात्र ५० हजार रुपैयाँ सहयोग गरेको छ। ‘यति ठूलो क्षतिमा त्यस्तो सानो राहतले के पुग्छ ?’ उनी प्रश्न गर्छन्।

उनले क्रसर उद्योग र ढुंगा-बालुवा खानीहरूले खोलाको प्राकृतिक बहावलाई अवरुद्ध गरेका कारण बाढी विनाशकारी बनेको समेत बताए। अहिले पनि नियमविपरीत सञ्चालन भइरहेका खानीहरूबारे कुनै ठोस कारबाही नभएकोप्रति उनको गुनासो छ।

‘नगरपालिकाका तर्फबाट आएको निरीक्षण र आश्वासनले मात्रै जनताको समस्या समाधान हुन सकेको छैन,’ उनी भन्छन्, ‘सरकारले चन्दा होइन्, क्षतिपूर्ति देओस्।’

रोशी-कोलाँतीका विस्थापितहरू भन्छन्, ‘हामी विकास विरोधी होइनौं तर विनाशको मूल्यमा विकास चाहीं होइन।’ खानी सञ्चालन गर्नु अघि कडाइ गर्नुपर्छ, बजेट बनाउँदा गाउँका मान्छे हेर्नुपर्छ र योजनाहरू व्यवहारमा लागू गर्नुपर्छ। कागजमा होइन।

पनौति नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जयराम केसी खत्री भने विपरीत धारणा राख्छन्। उनी भन्छन्, ‘०८१ को असोज महिनामा आएको बाढीले पनौतिवासीहरूलाई गहिरो चोट दियो। तर अहिले अवस्था विस्तारै सामान्य बन्दै गएको छ। बस्तीहरू सुरक्षित बनाउन तटबन्ध, आरसिटी पर्खाल, वाललगायतका संरचना बनाइएका छन्।’

उनका अनुसार, करिब बस्तीका दुईसय घ। विस्थापित भएका थिए। खोलाको सिमांकन गरिसकिएको छ र खोला गहिराउने काम सकिएको छ। ‘हामीले पीडितहरूलाई राहत प्याकेज र सामग्री वितरण गरिसकेका छौं,’ अध्यक्ष खत्री भन्छन्। तर उनले यो पनि स्वीर्काछन् कि अझै धेरै काम गर्न बाँकी छ। ‘भाडामा बस्नेहरूको अवस्था दयनीय छ। हामी असोज महिनासम्म पूरानो अवस्थामा फर्काउने योजना अनुसार काम गरिरहेका छौं।’

अध्यक्ष खत्रीले प्रदेश र केन्द्र सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरे। ‘नगर र वडा साझेदारीमा काम गरिरहेका छौं तर केन्द्र र प्रदेश सरकारले जति गर्नुपर्ने हो त्यो गरिरहेको छैन। हामीले पटक–पटक ढोका ढकढकाएका छौं,’ उनले भने।

उनले आगामी वर्षको बजेटमा बस्ती संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी पनि दिए। अध्यक्ष खत्रीले खानीहरुको कुरा गर्दै भने, ‘खानीहरू व्यवस्थित गर्नुपर्छ। बाटोभन्दा २०-३० मिटर पछाडि वाल लगाउनुपर्छ। हामी नियमविपरीतका खानीहरूलाई सुधार गर्नेतिर लागेका छौं।’

वडाले विपद् व्यवस्थापनका लागि पूर्व तयारी योजना बनाएको दाबी गरेको छ। स्काईभेटर, जेसीबी, सेना, प्रहरी, शसस्त्रसँग समन्वय गरेर विपद्को स्थिति आएमा तत्काल परिचालन गर्न सकिने व्यवस्था गरिएको छ। ‘जनतालाई कसरी सुरक्षित राख्ने भन्नेमा हामी अहिलेबाटै लागिरहेका छौं,’ वडा अध्यक्ष खत्री भन्छन्।

तर स्थानीयवासीहरूको भनाइमा यो तयारी कागजमै सीमित देखिन्छ। ‘अस्ति मात्र डोजरले सफा गरेका थियौं, फेरि पानी आयो भने के बाँकी रहन्छ ?’ उनीहरूको प्रश्न अझै अनुत्तरित छ।

रोशी-कोलाँतीमा बाढीको घाउ अझै गहिरो छ। जनप्रतिनिधिले ‘सुरक्षित हुँदैछौं’ भन्ने दाबी गरेका छन् तर बासिन्दाहरूको हरेक दिन त्रासमा बितिरहेको छ। राहत सामग्रीले केवल क्षणिक सहारा दिएको हो, वास्तविक समाधान भने अझैपनि अधुरो छ।

बर्खा फेरि सुरु भइसकेको छ। खोला फेरि भरिन थालिसकेको छ। सायद सरकार, प्रशासन फेरि ढिला गर्दैछ। तर यहाँका मानिसहरूले ढिलो गर्न सक्दैनन्। उनीहरूका लागि ढिलो हुनु भनेको फेरि अर्को रात, अर्को बाढी, अनि अर्को विस्थापन हो।

एक वर्षको यो अन्तराल, समयको हिसाबले सानो होला। तर रोशी-कोलाँतीका मानिसहरूका लागि यो एक अनन्त पीडाको कालखण्ड हो। जसले बगाएको छ केवल माटो होइन, भरोसा पनि। अबको साउन-भदौ सुरक्षित बित्यो भने मात्र यो क्षेत्रले साँच्चै पुनर्निर्माणतर्फ पाइला टेकेको मान्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.