पहिलो आम चुनावमा पाल्पाबाट निर्वाचित पूर्वमन्त्री रेग्मीको निधन
तानसेन (पाल्पा)। पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ। नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित भएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो।
पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए । उनी पछिल्लो समय अस्वस्थ थिए। काठमाडौँ मध्यबानेश्वरमा बस्दै आएपनि केही समय अघि अष्ट्रेलिया गएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी अत्याधिक मतका साथ विजयी भएका थिए। रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्री समेत भएका थिए।
पाल्पाका शिक्षाविद् डा रामप्रसाद ज्ञवालीले रेग्मीको निधनले देशले एक असल राजनीतिज्ञ गुमाएको बताए। उनले भने, ‘रेग्मी मेरो फुपुको छोरा हुनुहुन्छ, आमाको निधनपछि मेरै घरमा बसेर २०१५ मा संसदीय चुनाव लड्नुभयो र विजयी पनि हुनुभयो। पछि उहाँ पञ्चायतमा गएर २०३३÷०३४ मा मन्त्री पनि बन्नुभयो।’
रेग्मी कांग्रेसको सह–महामन्त्री समेत बनेका थिए। मन्त्री बनेपछि उनी विस्तारै राजनीतिबाट निष्क्रिय हुँदै आध्यात्मिकतर्फ लागेको डा ज्ञवाली बताउँछन्। उनको श्रीमती, तीन छोरी र एक छोरा छन्।
कांग्रेस पाल्पाले कांग्रेसका पूर्वसह–महामन्त्रीसमेत रहेका रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ। कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले मंगलबार शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
स्व रेग्मीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ। ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका जीवित साक्षीको अवसान अवश्य पनि अपूरणीय क्षति हो। दुःखको यस घडीमा स्व रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ’, शोक विज्ञप्तिमा भनिएको छ।







डिसी नेपाल








Facebook Comment