चलचित्र ‘जनै हराएको मान्छे’को टिजर युट्युब ट्रेन्डिङमा

डिसी नेपाल
४ साउन २०८२ १२:३२
116
Shares

काठमाडौं। आगामी भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को आधिकारिक टिजरले युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गर्दै चौथो स्थानमा आफूलाई स्थापित गर्न सफल भएको छ।

गत मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ। यो समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ।

सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्दै टिजरले चलचित्रप्रति दर्शकको तीव्र उत्सुकता र सकारात्मक प्रतिक्रियालाई प्रमाणित गरेको छ ।

युट्युब कमेन्टहरूमा दर्शकहरूले टिजरको प्रशंसा गर्दै विजय बरालको दमदार अभिनयको खुलेर तारिफ गरेका छन् । साथै, धेरै दर्शकहरूले चलचित्रमा उठान गरिएको कोरियाको कथालाई समसामयिक र मन छुने विषयका रूपमा लिएको देखिन्छ ।

हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रको टिजरले एक साधारण नेपाली युवाको सपना, संघर्ष र सम्बन्धहरूमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गर्छ । टिजरमा मुख्य अभिनेता विजय बराललाई पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर पसेको एक महत्त्वाकांक्षी युवाको भूमिकामा देखाइएको छ । सहरको कठिन जीवनशैली, नयाँ प्रेमको सुरुवात र गाउँमा छाडिएकी दिदीसँगको भावनात्मक द्वन्द्वले कथावस्तु गहिरो र मार्मिक रहने संकेत गर्छ ।

टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगरलाई पनि मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने अनुमान गर्न सकिन्छ ।

चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगरका अलावा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो चलचित्रलाई यस वर्षको एक बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.