मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

डिसी नेपाल
६ साउन २०८२ १६:३२
336
Shares

सिन्धुली। दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगंगा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ।

हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनी मधुगंगा महादेवको दर्शन गर्न आएका थिए। शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए। मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गर्नु भएको हो।

सोमबार बिहान उक्त स्थानमा करिब २५/३० वर्षको पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा मृतकको छातिमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए। प्रहरीले घटनास्थलबाट धारिलो हतियार चुप्पी र खुर्पा बरामद गरेको थियो।

प्रहरीका अनुसार पंकज साथिहरुसँग मधुगंगा महादेवको दर्शन गर्न आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै आएका सबैजना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए। घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ।

भारतको विभन्न स्थानबाट बर्सेनि साउनको पहिलो सोमबार मधुगंगा महादेवको दर्शन गर्न यहाँ आउने गरेका बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.