काठमाडौंमा कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

डिसी नेपाल
१० साउन २०८२ १५:१६
120
Shares

काठमाडौं। नेपालमा लामो समयदेखि प्रचलित कवाड व्यवसायसँग संलग्न व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध आवाज उठाएका छन्। कवाड व्यवसायी समाज नेपालले आज गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ।

ज्ञापन पत्रमा उल्लेख भएअनुसार, कवाड व्यवसायीहरु सरकारले तोकेको कर तथा कानुनी दायरामा रही व्यवसाय गर्दै आएका छन्। उनीहरुले स्टील, प्लाष्टिक, कागज, मदिराजन्य, ब्याट्री तथा मेटल उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको र यसले देशको व्यापार घाटा कम गर्न मद्दत पुर्‍याएको जनाएका छन्।

संघका अध्यक्ष राम केवल गुप्ताका अनुसार, अहिले देशभर एक लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा यस व्यवसायमा संलग्न छन्। वातावरणीय सरसफाईमा समेत यसको उल्लेख्य योगदान रहेको उनले बताए।

तर, व्यवसायीहरुको गुनासो अनुसार, विगत दुई वर्षदेखि काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरी ‘गुण्डागर्दी शैली’मा कवाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट, अपहरण तथा संरचनाहरू भत्काउनेजस्ता कार्य गर्दै आएको छ। केही घटनामा मजदुरको टाउको फुट्ने र अङ्गभङ्गसमेत भएको जनाइएको छ।

व्यवसायीहरुले मेयर बालेन्द्र शाहमाथि पनि गम्भीर आरोप लगाएका छन्। ज्ञापनमा भनिएको छ, ‘मेयर शाहले काठमाडौंबाट गरिब र श्रमिक वर्गलाई हटाउने नीति लिएका छन्,’ र यो नीति प्रतिगामी भएको उनीहरुको भनाइ छ।

कवाड व्यवसायी समाज नेपालले सरकारसँग व्यवसायीको ज्यान–मालको सुरक्षा सुनिश्चित गर्न, कुटपिट र संरचना भत्काउने कार्य तत्काल रोकिन, तथा श्रमिकहरूमाथि भइरहेको ज्यादतीको छानबिन गर्न आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.