रुद्राक्ष:, महारुद्राक्ष:, ‘भस्मज्योति रुद्राक्षः’

 हृषीकेश ढकाल
१२ साउन २०८२ ६:४८

“या ते रुद्र शिवा तनूरघोरापापकाशिनी।”

ॐ श्रीसरस्वत्यै नमः ॥

“या देवी सर्वभूतेषु विद्यारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ॥

“देवि प्रपन्नार्तिहरे प्रसीद
प्रसीद मातर्जगतोऽखिलस्य।
प्रसीद विश्वेश्वरि पाहि विश्वं
त्वमीश्वरी देवि चराचरस्य ॥३॥
…त्वमीश्वरी देवि चराचरस्य
…त्वमीश्वरी देवि चराचरस्य ॥

“आधारभूता जगतस्त्वमेका…

“त्रिशूलचन्द्राहिधरे महावृषभवाहिनि।
माहेश्वरीस्वरूपेण नारायणि नमोऽस्तु ते ॥१४॥

“शिवदूतीस्वरूपेण हतदैत्यमहाबले।
घोररूपे महारावे नारायणि नमोऽस्तु ते ॥२०॥”

श्रीराधा ॥
“वन्दे महापुरुष ते ! चरणारविन्दम् ॥”

“शिवाय गौरी वदनाब्जवृन्द-
सूर्याय दक्षाध्वरनाशकाय।
श्री नीलकण्ठाय वृषध्वजाय
तस्मै ‘शि’ काराय नम: शिवाय:॥”

“मन्दारमालाकलितालकायै कपालमालाङ्कित शेखराय।
दिव्याम्बरायै च दिगम्बराय नमः शिवायै च नमः शिवाय ॥”

“नीलप्रवालरुचिरं विलसत्त्रिनेत्रम्
पासारुणोत्पलकपालत्रिशूलहस्तम्।
अर्धाम्बिकेशमनिशं प्रविभक्तभूषं
बालेन्दुबद्धमुकुटं प्रणमामि रूपम् ॥”

माता श्रीगुह्येश्वरीदेवी-भगवान् श्रीपशुपतिनाथ युगल चरणकमलेषु स्मरण-सेवा समर्पितः।

जय श्रीसीताराम ॥ जय श्रीहनुमान् ॥

विशेष आभाररूपी दण्डवत् नमन : परम आदरणीय प्रा. डा. श्री ऋषिराम पौड्याल गुरुदेवज्यू।

रुद्राक्ष:, महारुद्राक्ष:, ‘एष भस्मज्योती रुद्राक्षः’ ॥

रुद्राक्ष फल/दानामा ‘bioelectrical properties’ हुन्छन् भनेर भनिएको छ; “It is evident that a bead of Rudrakshya (Elaeocarpus ganitrus) possesses mild electrical signals which can be directly measured using a simple multimeter device.” —- Wikipedia
र,
“Rudrakshya fruits (रुद्राक्ष फल वा रुद्राक्षका दाना) contain alkaloids, flavonoids, tannins, steroids, triterpines, carbohydrates, & cardiac glycosides. They also contain rudrakine, an alkaloid which had been discovered in Rudrakshya fruit in 1979.” —- Wikipedia

रुद्राक्षलाई अति प्रिय हाम्रो दिव्य देश नेपालः

अति प्राचीन नै हुन् दिव्यभूमि हाम्री श्रीनेपालमाता अनि प्राचीन नै हुन् रुद्राक्ष पनि !
जय होस् श्रीनेपालमाताको ! जय होस् महारुद्राक्ष !!!

अनेक अरण्यहरू मध्ये रुद्रारण्य वन नेपालमा मात्र छ। रुद्राक्ष उत्पत्ति हुने रुद्रारण्य वराह क्षेत्र देवदेशो हिमालयको काखमा रहेको नेमुनि द्वारा पनि रक्षित पुण्यभूमि नेपालमा सबै प्रकारका रुद्राक्षहरूको उत्पत्ति हुन्छन्।

भगवान् शिव र माता श्रीगुह्येश्वरीदेवीका विशेष आशीर्वाद स्वरूप संरक्षित गौरीशङ्कर हिमाल जस्ता हिमशिखरले संशोभित यस देवभूमि नेपालका हरेक ठाउँमा रुद्राक्षका वृक्षहरू सनातन देखि निरवच्छिन्न संरक्षित हुँदै आएका छन्।

माता श्रीगुह्येश्वरीदेवी-भगवान् श्रीपशुपतिनाथको रचना र संरक्षण प्राप्त यो अति दुर्लभ देवभूमि-तपोभूमि नेपाल हो, श्रीशिवशिवाको यो अति प्रिय भूमि इन्च-इन्च परम-पवित्र-पावन हो। उहाँहरूकै कृपाशीर्वादले जन्नजन्मान्तरका दुर्लभ नै पुण्यकर्मफलबाट अझै दुर्लभ मानवजन्मको अहोभाग्य उहाँहरूले प्रदान गर्दै सामुन्ने मै राख्नका लागि हामीलाई जन्मभूमि रूपमा यो दिव्य भूमि नेपालमा उहाँहरूबाट अनमोल उपहार बक्स भएको हुँदा कृतकृत्य हुँदै उहाँहरूमा हामी सबैबाट कृतज्ञतायुक्त हार्दिक नमन र श्रीनेपालमाता प्रति हामी सबैको देशभक्ति कत्ति पनि विचल्लित नभई, अटूट-अनवरत-अविच्छिन्न रहेर बढ्दै-बढ्दै जाओस्, यो प्रार्थनारूपी हार्दिक-हार्दिक अभिवादन उहाँहरूका चरणकमलमा कहिल्यै नछुटोस्;

“कर्पूरगौरं करुणावतारं
संसारसारं भुजगेन्द्रहारम्।
सदा वसन्तं हृदयारविन्दे
भवं भवानी सहितं नमामि ॥
भवं भवानी सहितं नमामि ॥”
भगवान् श्रीरामचन्द्रले जननी र जन्मभूमिलाई “स्वर्गभन्दा पनि उत्तम” भन्नुभएकै हो।
अति प्राचीन नै हुन् दिव्यभूमि हाम्री श्रीनेपालमाता अनि प्राचीन नै हुन् रुद्राक्ष पनि !
जय होस् श्रीनेपालमाताको ! जय होस् महारुद्राक्ष !!!

रुद्राक्ष:

मोक्षरूप दिव्यातिदिव्य शब्द ‘रुद्राक्ष’ रुद्र र अक्ष, यी दुई शब्द मिली बनेका हुन्। रुद्र + अक्ष ‌= रुद्राक्ष। रुद्र भगवान् शिव हुनुहुन्छ भने अक्ष चाहीँ उहाँका दिव्य नेत्रनयनहरू- मनोहर नयनाक्षहरू; रम्यश्री नयनराशिहरू।

श्रीसामवेदीय रुद्राक्षजाबाल उपनिषत् मा महात्मा श्रीभुसुण्डजीबाट भगवान् श्री कालाग्निरुद्रलाई “रुद्राक्ष धारणाका लागि के-के मन्त्र छन् ? र, यिनलाई कसरी धारण गरिनुपर्दछ ?”, भन्ने कौतुहलतायुक्त जिज्ञासा भए पछि श्री भगवान् ले समन्त्रक धारणाका आवश्यक विभिन्न वेदोक्त मन्त्रहरू बताउँदै बाटो देखाउनुभएको छ।

अझै अगाडि रुद्राक्षका माला उन्दा उहाँ बताउनु हुन्छ – “रुद्राक्षको मध्य छिद्र रूप आकाशमा सूत्र उन्दा ‘क’ देखि ‘क्ष’ सम्मका मातृकामण्डलका पचासै अक्षर रमाबीज बन्दछ जुन प्रत्येक रुद्राक्षका साथ भावनापूर्वक आरोपित(समायोजन) गर्नु पर्दछ।

र, त्यसपछि बताइएका मन्त्रबाट अभिमन्त्रित गर्नु पर्दछ। त्यस पछि अक्षमालिकोपनिषत् मा बताइए अनुसार प्राणप्रतिष्ठा गरेर बताइएका मूलमन्त्रले उन्नु पर्दछ र सात पाँच या तीन मात्राहरू जस्तै रुद्राक्ष धारण गरिनु पर्दछ।

श्रीऋग्वेदीय अक्षमालिका उपनिषद् मा दश प्रकारका अक्षमाला मध्ये प्रमुख रुद्राक्ष बताइएको छ। रुद्राक्षमालिका अक्षमालिका हो। रुद्राक्ष माला नै अक्षमाला हो। कहिल्यै क्षय नहुने; अक्षय भएको भएर अक्षमाला भनिएको हो। ‘अक्ष’ शब्दका धेरै अर्थ छन् ता पनि अक्षमालालाई ‘अ’ देखि लिएर ‘क्ष’ सम्मका अक्षरहरूले युक्त विधिपूर्वक धारण गरिन्छ। अक्षमालाका प्रत्येक अक्षहरू ‘अ’ देखि लिएर ‘क्ष’ सम्मका अक्षरहरूद्वारा क्रमशः भावित गर्दै बताइएका वेदोक्त प्रक्रियाबाट शोधन गरेर धारण गरिन्छ।

“शङ्करात्मक हुन् रुद्राक्षहरू। भगवान् शिवका आत्मस्वरूप हुन् रुद्राक्ष !” रुद्राक्ष एकातिर भगवान् शिवको अक्ष नै उद्गम मूल भएको अर्कोतिर अक्षमालिका रुद्राक्ष ‘अ’ देखि लिएर ‘क्ष’ सम्मका अक्षरहरूद्वारा क्रमशः भावित गरिएर विधिपूर्वक धारण गरिने! एकातिर यिनको समुद्भवको मूल भगवान् रुद्रका अक्षहरू, अनि अर्कातिर ‘अ’ देखि लिएर ‘क्ष’ सम्मका अक्षरहरूद्वारा क्रमशः भावित गर्दै बताइएका प्रक्रियाबाट शोधन गरेर धारण गरिने हुँदा यी अक्षय ! ओह्हो ! महत्त्व यसै पनि कत्रो! हो रुद्राक्ष ज्ञानमयी माला यो।

उपासकलाई सुख प्रदान गर्ने सार्वत्रिकता-सर्वात्मिकताको भावना गरिएको ज्ञानस्वरूपिणी अक्षमालिका रुद्राक्षको माला हो। अक्षमाला हामीले प्राप्त गर्नलाई(प्राणप्रतिष्ठा गरेर ग्रहण गर्नलाई) यस अक्षमालामा स्थित हुन (प्रतिष्ठित हुन, निवास गर्न); पृथिवीमा भ्रमण गर्नेवाला देवता, पितृगण, अन्तरिक्षमा निवास गर्ने देवताहरू, स्वर्गमा निवास गर्ने देवताहरूलाई, सम्पूर्ण देवीदेवता -अङ्ग सहित, उहाँहरूका शक्तिलाई प्रणाम गर्दै उहाँहरूबाट स्विकार(प्रतिष्ठा, शोभा)को अनुमतिका लागि सविनय प्रार्थना गरिन्छ।

यस लोकमा भएका सबै मन्त्र (कतै सात करोडका सङ्ख्यामा भएका मन्त्र भनिएको), सबै विद्याहरू (कतै चौँसट्ठी विद्याहरू भनिएको) र उहाँहरूका सबै शक्तिसमूहलाई नमस्कार गरी प्रतिष्ठापित यस अक्षमालामा हुन वन्दना गरिन्छ।

त्रिदेव-भगवान् ब्रह्मा, भगवान् विष्णु र भगवान् महेशलाई नमस्कार गर्दै – “उहाँहरूका शक्ति यस अक्षमालालाई प्रतिष्ठा प्रदान गर्नुहोस्”; प्रार्थना गरिन्छ। साङ्ख्यादि दर्शनमा जो तत्त्वहरूका भेद गरिएका छन् (कतै साङ्ख्यादि दर्शनका छयान्नब्बे तत्त्वहरू भनिएको) उहाँहरूलाई नमन गर्दै – “बुद्धि प्रदान, ज्ञानको वृद्धि अनि मनका विरोध-ताप आदि शमन गर्नुहोस्”; प्रार्थना गरिन्छ।

“जो शैव, शाक्त, वैष्णव जनहरू सयकडौँ वर्षदेखि यहाँ निवास गरिरहनुभएको छ, उहाँहरू सबैलाई पनि बार-बार नमन छ। हे भगवन्तहरू हामीलाई अनुमति दिनुहोस्, हामीमा अनुग्रह गर्नुहोस्” -यसरी अङ्ग सहित सम्पूर्ण देवी-देवता-पितृगण-भगवान्-साङ्ख्यादि दर्शनका तत्त्वहरू-विद्याहरू-सम्पूर्ण मन्त्रहरू आदिबाट कृपाको प्रार्थना सहित उहाँहरूबाट अनुमोदनको आग्रह गर्दै, स्विकारोक्ति माग्दै प्राणप्रतिष्ठित गरिन्छ अक्षमालालाई, श्रीअक्षमालिका उपनिषद्को दिव्य वयान यस्तै अद्भुत छ। यस प्रकारले प्रतिष्ठित, विभिन्न मन्त्रहरूले अभिमन्त्रित, शोधित र पूजित अक्षमालाद्वारा जप गरिएको मन्त्र शीघ्रातिशीघ्र साधकलाई सिद्धि प्रदान गर्नेवाला हुन्छन्, श्रीअक्षमालोपनिषद्को समन्त्रक(मन्त्र सहित) रुद्राक्ष धारणा विधि-प्रक्रियामा निष्कर्ष यही छ।

अक्षमाला प्रायः १०८ मनका(दाना)का सङ्ख्याले युक्त भएको धारण गरिन्छ। हाम्रो वैदिक सनातनी मूल्यमान्यतामा सङ्ख्या ‘१०८’ को महिमा अवर्णनीय छ। यहाँ अक्षमालामा त झन् ‘१०८’ को सङ्ख्यामा ‘ब्रह्म’ शब्द निष्पन्न हुन्छ। जस्तै; ब्रह्म = ब् र् ह् म्।

अब यहाँ ‘ब्रह्म’ शब्दको पहिलो अक्षर-‘ब’ लाई ‘क’ देखि ‘ब’ सम्म गणना गर्दा २३ अक्षर(सङ्ख्या २३), त्यस पछि ‘ब्रह्म’ शब्दको दोस्रो अक्षर-‘र’ लाई ‘क’ देखि ‘र’ सम्म गणना गर्दा २७ अक्षर(सङ्ख्या २७), त्यस पछि फेरि ‘ब्रह्म’ शब्दको तेस्रो अक्षर-‘ह’ लाई ‘क’ देखि ‘ह’ सम्म गणना गर्दा ३३ अक्षर(सङ्ख्या ३३), र ‘ब्रह्म’ शब्दको अन्तिम अक्षर-‘म’ लाई ‘क’ देखि ‘म’ सम्म गणना गर्दा २५ अक्षर(सङ्ख्या २५) हुन आउँछन्।

अब यी सबै सङ्ख्याका योगफल ‘१०८’ को दिव्य सङ्ख्या हुन पुग्दछ। अर्थात् यसरी गणना गर्दा अक्षर मातृकामण्डलको गणनाले १०८ मनका युक्त अक्षमालिका सिद्ध हुन्छ। अतः १०८ को सङ्ख्यामा ‘ब्रह्म’ शब्द निष्पन्न हुन्छ।

शास्त्रमा रुद्राक्षको महिमा अत्यन्त व्यापक- अनन्त नै भएकाले अमन्त्रक (मन्त्र बिना पनि) रुद्राक्ष धारणाको मार्ग पनि सहर्ष प्रशस्त भएका कुरा अगाडि चर्चामा आउने नै छन्।

रुद्राक्ष उत्पत्ति:

यस सृष्टिको उत्पत्ति, विस्तार र प्रलय अनि फेरि यही सनातनी अनवरत चक्र बुझ्न अति जटिल छ। दिव्य वर्ष-कल्प-युग-मन्वन्तर भित्रका यी जटील गणितीय कडी जोड्न जटिल छन् जसरी भगवान् का दिव्य लीला बुझ्न कठिन छन्। भगवान् का दिव्य लीला भित्र शास्त्रादिमा आउने यी जोड्न जटिल जस्ता देखिने कडीका समाधान कोही विद्वानहरू ‘कल्पभेद’ रूपी कारण भनी पनि बताउनुहुन्छ।

यिनै कल्प-कल्प-महाकल्पमा ईश्वरका अपरम्पार अनन्त लीला अनवरत चले, चल्दै छन्, चलिरहने छन्। ईश्वरकोटीमा उपलब्ध हुनुभएका, मुनिवरहरू, विप्रजन-द्विजवरहरू, महाप्राज्ञजनहरू, ऋषि-महर्षि-राजर्षि-देवर्षि-ब्रह्मर्षिगण अनि स्वयम् ईश्वरकै विभिन्न अवतारादिले मानवजनलाई परम तत्त्व साक्षात्कारका खातिर अनमोल उपहार स्वरूप दिनुभएका हाम्रा लगभग असङ्ख्य जस्ता सङ्ख्यामा शास्त्रादि ग्रन्थहरू मान्छे-मान्छेबीच लडाउन भिडाउनलाई थिएन।

बरु साक्षात् परब्रह्म परमात्मा भगवान् श्रीकृष्णले नै श्रीमदभगवद्गीता अध्याय ८, श्लोक १५ मा मर्जी भए अनुसार –“दुःखहरूका घर एवम् क्षणभङ्गुर पुनर्जन्म”हरूका चक्रीय समस्या समाधानरूपमा मान्छेका मनोवृत्ति अनुसारका मार्ग रूपमा यी शास्त्रानुरूप यात्रा तय गर्दै भगवद् प्राप्तिको गन्तव्यमा पुग्नलाई थियो।

अतः विभिन्न कल्प-महाकल्पहरू, युग, मन्वन्तर, देव वर्षहरू आदि चलिरहेका -अनि त्यसमा ईश्वरका लीला ! ईश्वरको लीला भित्र मायाको यो बड़ा जटिल ‘फ्याब्रिकेसन’ वा अज्ञानताको महाजालोले टालेको एक पङ्क्तिकारको पनि यस अज्ञानी आँखो, यी आँखै अघिल्तिरकै पनि रहस्य यो, महारहस्य छ जो, भेउ पाउन निकै जो कठिन हो। कतै पूर्वीय शास्त्रहरू लोप पनि भए होलान् कतै पुनर्प्राप्ति पनि भए होलान्।

त्यसैले धर्म गणितीययुक्त किन, कसरी, कहिले आदि यी सनातनी धर्म्य वैज्ञानिक प्रश्नमाला; यी कडीका जोड कि त रहस्यद्रष्टा ब्रह्मज्ञानी महात्माजन कि त भगवत् सन्निकटतामा हुनुभएका सन्त-विद्वान्-गुरुजनलाई हाम्रै आँखा अघिल्तिरका दृष्य झैँ स्पष्ट थाहा होला। उहाँहरुबाट यिनै शास्त्रानुरूप समाधान र मार्गनिर्देशनमा धार्मिक यात्राकै गन्तव्यले मात्र बोधका स्तरमा छर्लङ्ग जवाफ बताउलान् !

ईश्वरका लीला हुनाले सामान्य पनि सजिलै बुझ्न भने कठिन देखिनु स्वाभाविकै पनि हो। तर, कठिन देखिए पनि आशावादी भई अन्तरात्माको पीँधबाट सकारात्मकताको मनश्चक्षुले हेर्ने प्रयास जारी राख्दै यी अति जटिल लीला रहस्योद्घाटित गर्नलाई माथि भनिए झैँ शास्त्र-ग्रन्थादिका कतिपय कडीहरू जोड्न सक्ने भगवत् बोध तत्त्वज्ञाता या भगवत् सन्निकटताप्राप्त महात्माजनसँग सत्सङ्गका अहोभाग्य प्राप्त हुँदा उहाँहरूले गर्नुहुने रहस्योद्घाटनबाट अवश्यमेव स्पष्ट हुन्छ नै।

त्यस्तै ईश्वरका अपरम्पार लीलामा यस पङ्क्तिकारलाई रुद्राक्ष उत्पत्तिका पनि केही कडी देखिएका भान हुन गए। ईश्वरका अपरम्पार यी लीलामा केही कडीहरू, तर रुद्राक्ष उत्पत्तिको मूल चैँ फेरि एउटै मात्र नै छ-श्रीभगवान् शिवका दिव्य आँखा-नेत्रनयनहरू र आँसुहरू ! आँसुको महिमा ठुलो हो ! महिमा आँसुका ठुला छन्। यहाँ संसार मै पनि र ईश्वरीय आयाममा झन् धेरै गुणा अवश्यमेव पनि बढी। लीला अनेक हुँदा पनि हरेक लीलामा यो मूल विद्यमान नै छ – उहाँका मनोहर नेत्रपुटहरू, र अश्रुहरूका वेदना !

श्री रुद्राक्षजाबाल उपनिषत् मा देवर्षि सनत्कुमारले भगवान् श्रीकालाग्निरुद्रसँग जिज्ञासा गर्नुहुन्छ- “भगवन् ! रुद्राक्ष धारण गर्ने विधि मर्जी होस् !” साक्षात् भगवान् बाट रुद्राक्ष जस्तो परम पवित्र पावन मोक्ष साधनको धारण गर्ने विधि श्रुतिमा पाउने अहोभाग्य प्राप्त गर्न निदाघ, जडभरत, दत्तात्रेय, कात्यायन, भरद्वाज, कपिल, वसिष्ठ, पिप्लाद आदि महात्माजन आई पुगी केही भन्न ईच्छा गर्न लाग्नु भयो।

श्रीभगवान् ले उहाँहरू आउने प्रयोजन सोध्दा साक्षात् श्रीकालाग्निरुद्रको मुखारविन्दबाटै कर्णश्रुतिलाई अति पवित्र गरी मोक्षको साधन रुद्राक्षको महिमा सुन्न लालायित भएको अभिप्राय उहाँहरूबाट व्यक्त भए पछि भगवान् श्री कालाग्निरुद्रबाट रुद्राक्षको उत्पत्ति बारेमा दिव्य वर्णन हुन्छ –

“जो रुद्रका अक्षीहरूबाट जन्म भएका छन् रुद्राक्ष ती नै हुन। यो कुरा त लोकमा ख्याति नै छ। जब भगवान् सदाशिव संहारकालमा संहार गरेर, आफ्ना ती संहाराक्ष खोल्नु हुन्छ, तब उहाँका नेत्रबाट रुद्राक्षका प्राकट्य भए। त्यसैले यिनका नाम रुद्राक्ष (रुद्र + अक्ष) हुन गए। स्वयम् श्रीभगवान् का नयनबाट रुद्राक्ष प्रादुर्भाव – त्यही भएर रुद्राक्षको महत्त्व अपरम्पार छ।

श्रीअथर्ववेदीय बृहद्-जाबाल-उपनिषद् को सप्तमं ब्राह्मणम् मा पनि श्रीसनत्कुमारजीको रुद्राक्ष धारणको विधि सम्बन्धि जिज्ञासामा भगवान् श्री कालाग्निरुद्रबाट ज्ञान वर्षण हुन्छ;

“रुद्राक्षको नामले प्रसिद्धि हुन पुग्यो किनकि सुरुमा, भगवान् रुद्रको नयनबाट उत्पन्न भएको हो। शिवजी प्रलय कालमा जब संहार गरेर आफ्ना ती संहाराक्ष (तृतीय नेत्र) आधा बन्द जस्तो गर्नु हुन्छ, तब उहाँका ती आँखाबाट रुद्राक्षको उत्पत्ति भएको हो। यो रुद्राक्षको रुद्राक्ष गुण हो।

श्री रुद्राक्षजाबाल उपनिषद् मा मुनिश्रेष्ठ श्रीभुसुण्डजी भगवान् श्री कालाग्निरुद्रलाई सोध्नुहुन्छ – “रुद्राक्षको उत्पत्ति कसरी भयो ? र, रुद्राक्ष धारण गर्दा प्राप्ति हुने फल के के हुन् ?” भगवान् श्री कालाग्निरुद्र तब जवाफरत हुनुहुन्छ – “त्रिपुरको वधको समय मैले आफ्ना आँखा बन्द गरेको थिएँ। आँखा बन्द हुँदा जलका बिन्दु तल झरे। अश्रुका यी बुँद रुद्राक्ष भए।

“मैले आफ्ना आँखा एक हजार दिव्यवर्ष सम्म बन्द राखेँ। ती वर्ष बितेपछि मैले आँखा खोलेँ तब ती दुई आँखाबाट जलका बिन्दुहरू धरतीमा झर्न पुगे। उहाँ तब यी अश्रुबिन्दु रुद्राक्षका ठुला वृक्ष भए। तिनले भक्तहरूलाई अनुग्रह गर्नका लागि स्थावरत्व(जडता)लाई ग्रहण गरे।

श्रीशिवमहापुराणमा पहिले एक लाखको सङ्ख्यामा श्लोक भएको मानिन्छ। पछि भगवान् वेदव्यासले मानवजनलाई त्यत्रो बृहत् रूप अध्ययन गर्न पत्ता नलाग्ला भनी संक्षिप्तिकरण गरी २४,००० को सङ्ख्यामा कायम गर्नु भएको भनिन्छ। यस श्रीशिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्धमा विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा श्रीसूतजी अगाडि भन्नुहुन्छ;

“पूर्वकालमा भगवान् शिवले समस्त लोकलाई उपकार गर्नका लागि महादेवी श्रीपार्वती सामु रुद्राक्षको महिमाको वर्णन गर्नुभएको थियो।

भगवान् शिवले श्रीमहेशानी देवी पार्वतीजीलाई रुद्राक्षको उत्पत्ति, महिमा र भेद(प्रकार)को बारे व्यक्त गर्नु भएको सुन्दर वृत्तान्त छ। भगवान् महेश्वर श्रीमहेश्वरी देवीलाई रुद्राक्षको उत्पत्तिको बारे भन्नुहुन्छ –

“हे महेश्वरि ! हे शिवे ! म यहाँलाई प्रेमवश भक्तहरूका हितको कामनाले रुद्राक्षको महिमा वर्णन गर्दछु, सुन्नुहोस्।
“हे महेशानि ! पूर्वकालको बात हो, मैले मनलाई संयममा राखेर हजारौँ दिव्य वर्षसम्म घोर तपस्यामा लागिरहेँ।

“हे परमेश्वरि ! म सम्पूर्ण लोकहरूका उपकार गर्नेवाला स्वतन्त्र परमेश्वर हुँ। एक दिन सहसा मेरो मन क्षुब्ध भएर उठ्यो। अतः त्यस समय मैले लीलावश नै आफ्ना दुई नेत्र खोलेँ। नेत्र खुल्नासाथ मेरा मनोहर नेत्रपुटहरूबाट जलका केही बुँद झरे ! भक्तहरू उपर मैले अनुग्रह गर्नका लागि आँसुका मेरा ती थोपाहरूबाट स्थावर भावमा प्राप्त त्यहाँ रुद्राक्ष नामक वृक्ष पैदा भए। ती रुद्राक्ष मैले विष्णुभक्त र सबै वर्णका व्यक्तिमा बाँडेँ।

“भूतलमा आफ्नो प्रिय रुद्राक्ष मैले गौड देशहरूमा उत्पन्न गरेँ। मथुरा, अयोध्या, लङ्का, मलयाचल, सह्यगिरि, काशी आदि विभिन्न महान् तीर्थ तथा पवित्र स्थानहरू र अन्य देशहरूमा पनि रुद्राक्षको अङ्कुर उब्जाएँ। यी उत्तम रुद्राक्ष असह्य पापसमूहलाई भेदन गर्नेवाला तथा श्रुतिहरूलाई पनि प्रेरक छन्।

अष्टादशसाहस्रयां (अठार हजार श्लोकले सुशोभित) श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्ध रुद्राक्षमाहात्म्यवर्णन नामक चतुर्थ अध्यायमा षडानन श्रीस्कन्दकुमारजीले गिरिशायी भगवान् रुद्रसँग सोधनी हुँदा उहाँ बताउनुहुन्छ-

“प्राचीन कालमा सबैबाट अपराजेय त्रिपुर नामक एक दैत्य थियो।

त्यसले भगवान् ब्रह्माजी, भगवान् विष्णु आदि सबै देवतालाई जितिसकेको थियो। तब सबै देवताहरूले त्यसको विषयमा मलाई बताउँदा मैले सबै देवताहरूका शक्तिले सम्पन्न, दिव्य, प्रज्वलित, भयानक रूपवाला तथा मनोहर अघोर नामक एक महान् अस्त्रको विषयमा कल्पना गर्न लागेँ।

त्यस त्रिपुरको संहार तथा देवताहरूका उद्धारका लागि म समस्त विघ्नलाई नाश गर्नेवाला त्यस अघोरास्त्रको लागि चिन्तन गर्दै रहेँ र दिव्य एक हजार वर्षसम्म म नेत्र खुलै रूपमा रहेँ। त्यसपछि अत्यन्त आकुल मेरा नेत्रहरूबाट जलका बुँदहरू झर्न लागे। ती अश्रु-बिन्दुहरूबाट रुद्राक्षका ठुला-ठुला वृक्ष उत्पन्न भए।

५५,००० शलोक भएको श्रीपद्ममहापुराण सृष्टिखण्ड उनान्साट्ठीऔँ अध्यायमा द्विजश्रेष्ठहरू भगवान् वेदव्यासजीलाई सोध्नुहुन्छ – “रुद्राक्ष कसरी उत्पन्न भयो ? कसरी पवित्र भयो ? यी भूमिमा किन स्थित छन् ? अनि यिनका प्रचार कसबाट भयो ?”

अठारै पुराणका रचयिता भगवान् वेदव्यासजी विद्वानहरूको भक्तियुक्त जिज्ञासामा जवाफरत हुनुहुन्छ-

“हे विप्रहरू ! पहिले त्रिपुर नामक एक दानव थियो जो ब्रह्माजीको वरदानका कारण सम्पूर्ण लोकहरूलाई विनाश गर्न चाहन्थ्यो। देवताहरूका निवेदनका कारण शङ्करजीले अजगव धनुष धारण गरेर त्यसको वध गरिदिनुभयो। यो कार्य गर्नाले श्रान्त शिवजीका शरीरबाट स्वेदका विन्दुहरू पृथिवीमा झरे। श्रीभगवान् का अश्रु गिरेका तत् तत् स्थानमा महारुद्राक्षहरू उत्पन्न भए।”

परम् आदरणीय गुरुवरहरू अनि कोही प्राज्ञ विद्वान् जनसँग यस पङ्क्तिकारलाई सत्सङ्गको अहोभाग्य प्राप्त हुँदा त्रिपुरासुर वध र प्रलयकाल एकै समय भएको कुरा सामाधान स्वरूपमा ज्ञानाशीर्वाद प्राप्त भएको हो। “एकै कुराका व्याख्यामा केही फरक शब्द-शब्दावली प्रयोग भएका हुन जानु स्वाभाविक हुन सक्छ तर भन्न खोजिएको कुरा उही नै हो।”, उहाँहरूको मार्गनिर्देशनरूपी राय यस्तै स्वरूपमा प्राप्त भएको हो।

रुद्राक्ष फल र रुद्राक्ष मालामा कुन स्थानमा कुन देवताहरूको निवास भयोः

रुद्राक्ष फलको कुन भागमा वा कुन स्थानमा मुख्यतया त्रिदेवको विद्यमानता श्रीरुद्राक्षजाबालोपनिषद् मा भगवान् श्रीकालाग्निरुद्रले महात्मा श्री भुसुण्डजीको “रुद्राक्षको स्वरूप के हो, भगवन् ?”, भन्ने प्रश्नको जवाफमा – “रुद्राक्षको मूल भाग श्रीब्रह्मा जी, नाल श्रीविष्णु र मुख(अर्थात् रुद्राक्षमा भएका रेखाहरू) श्रीरुद्र(भगवान् शिव) हुनुहुन्छ।

रुद्राक्षको कण्टकरूप बिन्दुहरूमा सम्पूर्ण देवी देवताको निवास हुन्छ”, भनी रुद्राक्ष स्वयम् भगवान् शिवको रूप मात्र नभई त्रिदेव अनि सबै देवीदेवताकै निवासको एकै प्रतीक भएको कुराको रहस्योद्घाटन गर्नुभएको छ।

रुद्राक्ष आफैँमा महानतम तत्त्व भएका हुनाले, यही स्थानमा मात्र फलानो देवीदेवता आदिको निवास भनेर सङ्कुचन नहुने होला।

यही कुरा रुद्राक्ष फलका विभिन्न मुख्य स्थानमा अझै थपेर र अन्य भागमा पनि त्रिदेवको उपस्थितिको फैलावट रहेको बुझिन्छ जुन कुरा श्रीमद्देवीभागवत महापुराण संहिताको एकादशस्कन्धको रुद्राक्षजपमालाविधानवर्णन नामक पाँचौँ अध्यायमा पनि ईश्वरले जपमालाको लक्षण बताउने क्रममा भन्नुहुन्छ – “रुद्राक्षको मुखलाई श्रीब्रह्मा तथा बिन्दुलाई श्रीरुद्र भनिएको छ। रुद्राक्षको तल्लो भाग(पुच्छ्र) श्रीविष्णुरूप हो।”

श्री अक्षमालिका उपनिषद्मा प्रजापति श्रीब्रह्माजीले श्रीगुह(कार्त्तिकेयजी)जीलाई सोधनी हुँदा श्रीकार्त्तिकेयजीबाट अझ केही थप गरी विस्तारमा वर्णन हुँने क्रममा –
“रुद्राक्ष मालिकामा सुन, चाँदी र तामाका तीन सूत्र मध्ये भित्रको सूत्र ब्रह्म, दाहिने भागमा शैव, देब्रे हिस्सामा वैष्णव। मुख सरस्वती, पुच्छ्र गायत्री, छिद्र विद्या। दुई रुद्राक्ष बिचका शिखालाई प्रकृति भनिएको छ। र, त्यसपछि गहिराईमा अन्य विस्तृत वर्णन पनि क्रमशः भएका छन्।

रुद्राक्षका आकारः

श्री रुद्राक्षजाबाल उपनिषद् मा मुनिराज श्रीभुसुण्डजीको जिज्ञासा हल गर्ने क्रममा भगवान् श्री कालाग्निरुद्रले कत्रा आकारका रुद्राक्ष कस्ता ? भनेर प्रस्ट्याउनु भएको छ – “रुद्राक्षहरू मध्ये एक अमालक(अमला)को दानाको परिमाण जत्तिकै ठूलो हुँदा सर्वोत्कृष्ट बताइएको छ आकारका लागि।

विद्वानहरूले बेर/बदरी(बयर फल) दाना बराबर आकारको रुद्राक्ष मध्यम श्रेणीको भनेका छन्। अनि जो चनाको परिमाण-तुल्य हो त्यसको गणना निम्न कोटीमा गरिएको छ। रुद्राक्षको आकार बारे मेरो धारणा यही हो।”

रुद्राक्षका आकार विषयक यही कुरालाई “यो एक सिद्धान्त हो, जसको वर्णन मैले यहाँसँग गरेँ।”, भनेर श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको रुद्राक्षमाहात्म्यवर्णन नामक सातौँ अध्यायमा स्वयम् भगवान् श्रीमन् नारायणले पनि देवर्षि श्रीनारदजीलाई गिरिशायी भगवान् शिवले षडानन श्री स्कन्दकुमारजीलाई रुद्राक्षका आकार बारे बताउनुभएको कुरा वर्णन गर्नुभएको छ।

श्रीशिवमहापुराणको प्रथम-खण्ड- पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा भगवान् शिवले श्रीमहेश्वरी देवी पार्वती समक्ष भक्तहरूका लागि रुद्राक्षका आकार बारे पनि अगि माथि कै नै बयान गर्दै अझै अगाडि माथि बताइएका आकारका रुद्राक्षका साथैमा हुने गुण पनि थप जोड्नुभएको छ-

“हे पार्वती ! अब रुद्राक्षका उत्तमतालाई बुझ्न यहाँ दोस्रो प्रक्रिया भक्तहरूका हितकामनाले बताइन्छ। अतः यहाँ आनन्दले प्रेमपूर्वक सुन्नुहोस्।

“जो रुद्राक्ष बेर(बयर)को फलको बराबर हुन्छन्, ती त्यति नै सानु हुँदा पनि लोकमा उत्तम फल दिनेवाला तथा सुख-सौभाग्यको वृद्धि गर्नेवाला हुन्छन्। जो रुद्राक्ष अमलाको फलको बराबर हुन्छन्, ती समस्त अरिष्ट नाश गर्नेवाला हुन्छन् तथा जो गुञ्जाफल (रातीगेडी; लालगेडी; आँखीगेडी) को समान एकदमै साना हुन्छन्, ती सम्पूर्ण मनोरथ र फलहरूलाई सिद्धि गर्नेवाला हुन्छन्।

रुद्राक्ष जति-जति साना हुन्छन्, त्यति-त्यति अधिक फल दिनेवाला हुन्छन्। एउटा सानु रुद्राक्षलाई विद्वानहरूले एक ठूलो रुद्राक्ष भन्दा दश गुना फल दिनेवाला बताएका छन्। पापहरूलाई नाश गर्नका लागि रुद्राक्षधारण आवश्यक बताइएको छ। यी निश्चय नै सम्पूर्ण अभीष्ट मनोरथहरूका साधक हुन्, अतः यिनलाई अवश्य पनि धारण गर्नुपर्दछ ।

त्यसछि अगाडि रुद्राक्षको आकार उपर भगवान् शिवबाट भक्तहरूका हितका लागि माता श्रीउमाजीसँग अझै थप मर्जी हुन्छ –
“हे उमे ! पहिले अमला फलको बराबर अनि फेरि त्यो भन्दा साना रुद्राक्ष धारण गर्नुपर्दछ।

“रुद्राक्षो मम लिङ्गमङ्गलमुमे
सूक्ष्मं प्रशस्तं सदा ॥४६॥”

“रुद्राक्ष मेरो मङ्गलमय लिङ्गविग्रह हो। यो अन्ततः चनाको बराबर लघुतर हुन्छ। सुक्ष्म रुद्राक्षलाई नै सदा प्रशस्त मानिएको छ।

कस्तो रुद्राक्ष राम्रोः

श्रीशिवमहापुराणको प्रथम- खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा भगवान् शिवले माता परमेश्वरी देवी पार्वतीजीलाई, श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको रुद्राक्षमाहात्म्यवर्णन नामक सातौँ अध्यायमा भगवान् नारायणबाट श्रीदेवर्षि नारदजीलाई र श्री रुद्राक्षजाबाल उपनिषत् मा भगवान् श्री कालाग्निरुद्रले मुनिश्रेष्ठ श्री भुसुण्डजीलाई कस्ता रुद्राक्ष उचित र कस्ता प्रयोग नै गर्न नहुने गरी अनुचित भनेर सजग गराउनु भएको छ –

“समरूप-समान समान आकार प्रकारवाला वा समान गोलाई वाला, सुदृढ-बलियो, ठूलो, स्थूल, स्पष्टरूपले कण्टकयुक्त-काँडादार(रुद्राक्ष फलमा केहि तिखा तिखा काँडा भएका जस्ता मसिना साना-साना उठेका) अनि तिनै कण्टकका रेखाहरूले युक्त रुद्राक्ष श्रेष्ठ हुन्छन् अनि यी गुणहरूमा थपेर राम्रा-आकर्षक-सुन्दर रुद्राक्ष प्रयोग गर्नुपर्दछ, यिनलाई शुभ मानिएको छ। यस्ता रुद्राक्ष अभिलषित पदार्थहरूका दाता तथा सदैव भुक्ति(भोग) र मोक्ष दिनेवाला हुन्छन्।

“जुन रुद्राक्षमा आफैँमा (प्राकृतिक रूपमा नै) डोरा छिर्न योग्य छिद्र बनेका छन् वा प्राकृतिक रूपमै छिद्र भएको रुद्राक्ष सबै भन्दा उत्कृष्ट प्रकार हो, त्यही रुद्राक्ष यहाँ उत्तम मानिएको छ। जुनमा मनुष्यको प्रयत्नले छिद्र गरिएको छ, उक्त रुद्राक्ष मध्यम श्रेणीको हुन्छ।

जसरी निकषको पत्थरमा हेमरेखा हुन्छ, त्यसरी नै हेमरेखा देखियोस् रुद्राक्षमा अथवा जुन रुद्राक्ष सफा समतल सतहमा हातका पन्जाले गुडाउँदा सबैतिरबाट समान, अति विलक्षण स्वर्ण-रेखाको आभाको समान रेखा देखाई दिन्छन्, त्यही रुद्राक्ष उत्तम हुन्छन्।

यसरी सर्व अवयव(आकारबाट) सामान्य(एक समान) अङ्गवाला रुद्राक्ष उत्तम मानिएको छ। शिवपूजकले यस्तै रुद्राक्ष अवश्य पनि धारण गर्नुपर्दछ। रुद्राक्षको धारण ठुला-ठुला पातकहरूलाई नाश गर्नेवाला बताइएको छ।

“सबै तिरबाट समान, राम्रा, बलिया र गोला रुद्राक्षहरूलाई रेशमको डोरोमा उनेर बताइएका तरिकाले, बताइएका सङ्ख्यामा, शरीरका बताइएका स्थानमा धारण गरिनुपर्दछ।

कस्ता रुद्राक्ष त्याज्यः

“अलग-अलग गोलाई वाला, जो काँडा रहित वा कण्टक(काँडा) नभएका जस्ता केही तिखा नभएर बोदो वा भुत्ता छन्, जसलाई किराले खाएका-दुषित गर्दिएका (रोगी) छन्, जो टुटेफुटेका-खण्डित छन्, विक्षत-व्रणयुक्त(बाह्य आघातले भग्न) छन् तथा – पुराका पुरा गोला छैनन्, तथा परतले आवृत यी छः प्रकारका रुद्राक्षहरूलाई मङ्गलाकाङ्क्षीले वर्जन (त्याग) गर्नु पर्दछ, धारण गर्नु हुन्न।

रुद्राक्षका माला तयार गर्ने तरिकाः

श्री रुद्राक्षजाबाल उपनिषत् मा भगवान् श्रीकालाग्निरुद्रबाट मुनिराज श्रीभुसुण्डजीलाई र श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको रुद्राक्षजपमालाविधानवर्णन नामक पाँचौँ अध्यायमा ईश्वरबाट श्रीषडाननजीलाई रुद्राक्षको माला बनाउने विधि अझ विस्तृतमा निर्देशन भएको छ –

रुद्राक्षका माला बनाउँदा “समान, सुन्दर, मजबूत र स्थूल रुद्राक्षलाई रेशमको धागोमा रुद्राक्षका एक दानाको मुखसँग अर्को दानाको मुख संयोजित गर्दै र पहिलेको दानाको पुच्छ्र(तिखो भाग)सँग दोस्रो दानाको पुच्छ्र, यसरी क्रमैले नियोजित गर्दै, जोड्दै उन्नु पर्दछ। सुमेरुको मुख माथि तर्फ तथा नागपाश तिनको माथि गर्नुपर्दछ।

(र, केहि माथि श्री अक्षमालिका उपनिषद् अनुसार अक्षमाला रुद्राक्षमालिकामा कुन स्थानमा कसको निवास भन्ने उपशीर्षक अन्तर्गत चर्चा भएकै हो जहाँ मुख सरस्वती, पुच्छ्र गायत्री, छिद्र विद्या। दुई रुद्राक्ष बिचका शिखालाई प्रकृति भनिएको छ।)

त्यसपछि बताइएको मन्त्र र प्रक्रियाबाट अभिमन्त्रित गर्दै प्रतिष्ठित गरिएको माला धारण गर्नु पर्दछ जुन समस्त कामनाहरूका फल प्रदान गर्नेवाला हुन्छन्।”

श्री रुद्राक्षजाबाल उपनिषद् मा भगवान् श्री कालाग्निरुद्रले मुनिवर भुसुण्डजीलाई अनि श्री अक्षमालोपनिषद मा समन्त्रक धारणाको विधि-प्रक्रिया श्रीगुहजीबाट प्रजापति श्रीब्रह्माजीलाई विस्तारमा बताइने क्रममा- “सम्भव हुँदा माला तयार गर्दा सुन, चाँदि र तामा मिश्रित तीन सूत्र हुन्छन्, जसमा सुन बिचमा, चाँदी दायाँ र तामा बायाँ हिस्सामा। यिनमा भित्रको सूत्र जो छन्, ती नै ब्रह्म हुन्, दाहिने भाग शैव हुन्, जो बायाँ हिस्सामा छन्, उनै वैष्णव हुन्।”, भनी भनिएको छ

रुद्राक्ष धारणा गर्दा पालना गर्नु पर्ने वृत्ति(नियम/अनुशासन):

श्री रुद्राक्षजाबाल उपनिषत् मा श्रीभगवान् कालाग्निरुद्रबाट मुनिराज श्रीभुसुण्डजीलाई, श्रीशिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा स्वयम् भगवान् शिवबाट भक्तहरूका लागि देवीमाता श्रीपार्वतीजीलाई र श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको रुद्राक्षमाहात्म्यवर्णन नामक सातौँ अध्यायमा स्वयम् भगवान् नारायणबाट देवर्षि नारदजीलाई पनि मुमुक्षु-साधक-भक्त-मङ्गलाकाङ्क्षीहरूका लागि निर्देशनात्मक सख्त आदेश भएको छ –

“रुद्राक्ष धारण गर्ने वृत्ति पूर्णतः सात्त्विक हुनु पर्दछ।

“रुद्राक्ष धारण गर्नेवालाले या रुद्राक्षको धारणामा रहँदा वा रुद्राक्ष धारीलाई पुरै सात्त्विक (मद्यपान रहित र मांसाहार रहित) खानपानमा रहनु पर्ने सख्त निर्देशन आफू स्वयम् बाट नै भएको कुरा बताउनुभएको छ। यहाँ सम्म कि लहसुन, प्याज, सहिजन(शोभाञ्जन; शीतल चिनी), लिसोडा(लसोडा/बोहरी) र विड्वराह आदि पूर्णतया त्याग दिनुपर्दछ।”, यी कुराको भक्षण(खानपान) उहाँहरू सबैबाटै निषेधको सख्त आदेश हो।

रुद्राक्ष क-कसले धारण गर्न मिल्छः

श्रीशिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा श्रीदेवेशी माता उमालाई भगवान् शिव भक्तहरूका लागि उपदेशस्वरूप यहाँ कहनुहुन्छ-

“सबै आश्रमहरू(ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ र सन्न्यासी), सबै स्त्रीहरू, समस्त वर्ण, सबैले नियमपूर्वक रुद्राक्ष धारण गर्न उचित छ।

“हे प्रिये ! पञ्चदेवप्रिय (स्मार्त र वैष्णव) तथा सर्वदेवप्रिय सबै व्यक्ति रुद्राक्षको मालाले समस्त मन्त्रहरूका जप गर्न सक्दछन्।

“विष्णवादिदेवभक्तश्च धारयेयुर्न संशयः।
रुद्रभक्तो विशेषेण रुद्राक्षान्धारयेत्सदा ॥६२॥

“भगवान् श्रीविष्णु आदि देवताका भक्तहरूले पनि निस्सन्देह यस रुद्राक्षलाई धारण गर्नुपर्दछ। अझ रुद्रभक्तहरूका लागि त विशेष रूपले सदा रुद्राक्ष धारण गर्न आवश्यक छ।

“यमराजले पनि आफ्ना गणहरूलाई आदेश स्वरूप भन्नुभएको छ – “रुद्राक्ष धारण गर्नेवाला हाम्रालागि पनि पूज्य हुन्”।

रुद्राक्ष धारण गर्नु पर्ने अवस्था र धारण गर्न नहुने अवस्थाः

श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको रुद्राक्षजपमालाविधानवर्णन नामक पाँचौँ अध्यायमा ईश्वरले श्रीषडाननजीलाई भन्नुहुन्छ –
“विशेष गरी स्नान, दान, जप, होम, बलिवैश्वदेव, देवपूजन, प्रायश्चित्त कर्म, श्राद्ध तथा दीक्षाको समय रुद्राक्षमाला अवश्य धारण गरिनु पर्दछ।
“अपवित्र अवस्थामा रुद्राक्ष धारण गर्न हुन्न; सर्वदा पवित्र अवस्था मै यिनलाई भक्तिपूर्वक धारण गर्नुपर्दछ।

सबैभन्दा ठुलो पुराण श्रीस्कन्द महापुराणमा ८१,००० श्लोक छन्। यसै महापुराणको प्रथम माहेश्वरखण्डमा केदारखण्डको तेह्रौँ अध्यायमा भनिएको छ –
“जो व्यक्ति शिवपूजामा, दानमा, तपस्यामा, तीर्थमा वा पर्वकालमा आलस्यरहित भएर रुद्राक्ष धारण गर्दछन्, उनको समस्त अर्जित पुण्य अक्षय हुन पुग्दछ।

श्रीस्कन्दमहापुराणकै प्रथम माहेश्वरखण्डमा केदारखण्डको तेह्रौँ अध्यायमा

“तप-जप-क्रिया-योगसाधना-स्नान-दान-अर्चनादि जो कुछ शुभ कर्म हुन्छ, यी सबै उस समय रुद्राक्ष धारणले अनन्त हुनपुग्दछ। यसमा अरू केही सोच्नै पर्दैन। धारण गर्यो कि सद्गति प्राप्त हुन्छ। यसमा शङ्कै नगर्नु। रुद्राक्षको संसर्गबाट पाप क्षयीभूत भइ हाल्छन्। यो तत्त्व जानेर रुद्राक्ष पहिरिँदै शुभकर्म गर्नु।”, भनिएको छ।

श्रीरुद्राक्षजाबालोपनिषत् मा चाहिँ “हरपल शुद्धता-पवित्रतामा कायम रही सात्त्विक वृत्तिमा रहेको व्यक्तिलाई सुत्दा, जाग्दा, खाँदा-पिउँदा आदि सबै-सदाकालमा रुद्राक्ष धारण गर्नु पर्दछ”, भनेर भगवान् श्री कालाग्निरुद्रले श्रीभुसुण्डजीलाई बताउनु भएको छ।

श्रीरुद्राक्षजाबालोपनिषत् ले यो कुरा माला छोटो हुँदा भनी भन्न खोजिएको बुझ्नु पर्छ भनेर परम आदरणीय गुरुजनबाट राय भएको हो। किनभने माला यदि लामा छन् भने खाँदा-पिउँदा आदि समयमा मोक्षको साधन-ईश्वरतुल्य पवित्र-शुद्ध रुद्राक्ष जुठामा पर्न सक्छन् ! जुन राम्रो पक्कै होइन।

रुद्राक्ष कति सङ्ख्यामा शरीरको कुन स्थानमा धारण गर्नेः

मनुष्यले शिखा, मस्तक(शिर), गला-कण्ठ, छाती, वक्षःस्थल, दुवै हात, दुवै कुहिना, यज्ञोपवीतमा, दुवै मणिबन्ध, दुवै स्कन्धहरू, काँध, भुजा, कुक्षिबन्ध, कटिप्रदेश आदि शरीरका कुन कुन अङ्गमा कतिकति सङ्ख्यामा कसरी र कुन मन्त्र सहित धारण गर्दा धारणा गर्ने व्यक्तिलाई प्राप्त हुने दिव्यफल(भुक्ति र मुक्ति)का बारेमा विभिन्न शास्त्रमा स्पष्ट बत्लाइएका व्याख्या छन्।

श्रीभस्मजाबालोपनिषत् मा माहात्मा भुसुण्ड जाबालजीलाई भगवान् शिवले माथि बताईएका जस्तै शरीरका विभिन्न स्थानमा रुद्राक्ष धारणबारे उल्लेख गर्नु भएको छ।

त्यस्तै श्रीशिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा माथि भनिए जस्तै शरीरका कुन कुन अङ्गमा कतिकति सङ्ख्यामा कसरी र कुन मन्त्र सहित धारण गर्दा धारणा गर्ने व्यक्तिलाई प्राप्त हुने दिव्यफलका बारेमा “भगवान् शङ्करको समान वा भगवान् रुद्रका समान(रुद्ररूप भएर) सबै मानिसका लागि प्रणम्य र स्तुत्य हुन पुग्दछन्।

अनि बाँकी प्रीतिपूर्वक आस्था र भक्तिले बताइएका प्रजातिका रुद्राक्ष बताइएका व्यक्तिलाई बताइएका सङ्ख्यामा भए राम्रो नभए सङ्ख्या नपुग्दा जति सङ्ख्यामा सकिन्छ त्यति नै धारण गर्नुपर्दछ, त्यसो हुँदा ती शिवभक्त सबै मानवजनका लागि भगवान् शिवको समान पूजनीय, वन्दनीय र बारबार दर्शनको योग्य हुन पुग्दछन्”, भनी भगवान् शिवबाट श्रीगिरिराजनन्दिनी माता उमालाई मर्जी भएको छ।

शङ्करात्मक रुद्राक्ष आफैँमा भगवान् शिवको आत्मस्वरूप भएका हुनाले, सकेसम्म बताइएका तरिकाबाट सम्भव भए उचित, नहुँदा रुद्राक्ष आफैँमा अपरम्पार। सकेसम्म समन्त्रक सक्दै सकिएन भने अमन्त्रक नै उच्च भक्तिभाव, ईश्वर प्रति परम प्रेमप्रीति युक्त हुँदै यथाशक्य धारण गर्दा “भाव मिच्छन्ति देवताः”, परम कृपालु, परम करुणामयी ,करूणारूप, साक्षात् करुणामूर्ति श्रीआशुतोष भगवान् शिवको कृपा त छँदैछ। भाव ठुलो होला कि।

त्यस्तै निर्णयसिन्धुको तृतीयपरिच्छेदको पूर्वार्धमा रुद्राक्ष धारण गर्दा हुने विशेषफलका कथनहरूमा रुद्राक्ष धारणलाई लिएर विषेश शिवरहस्यमा भनिएको कुरा उल्लेख गरिएको छ-

“कामनाभेदानुसार(के प्राप्तिको इच्छा/कामना छ त्यही अनुरूप) रुद्राक्ष धारण विचारमा शरीरका कुन-कुन महत्त्वपूर्ण स्थानमा कति सङ्ख्यामा पहिरिँदा र कसलाई दान गर्दा कस्तो पुण्यफल प्राप्त हुने”।

त्यसपछि रुद्राक्षका सङ्ख्याभेदानुसार शरीरका कुनकुन अङ्गमा कतिकति ओटा धारण गर्ने भन्ने कथन अन्तर्गत पदार्थदर्शमा बोपदेवबाट मर्जी भएको कुरा पनि यहाँ उल्लेखित छ। यसरी शरीरका विभिन्न अङ्गहरूमा यहाँ बताइएका सङ्ख्यामा रुद्राक्ष धारण गर्दा भुक्ति र मुक्ति दुवै प्राप्त हुने; व्यक्ति स्वयम् नीलकण्ठको रूप हुन्छन् भनेर भनिएको छ।

श्रीमद् देवीभागवत महापुराणको एकादशस्कन्ध सदाचारनिरूपण रुद्राक्षमाहात्म्यवर्णन नामक चतुर्थ अध्यायमा श्रीषडानन स्कन्दकुमारजीले गिरिशायी भगवान् रुद्रलाई सोधनी हुँदा यहाँ पनि स्कन्दकुमारजीलाई कति सङ्ख्यामा शरीरका कुनकुन स्थानमा धारण गर्दा, कति सङ्ख्यामा रुद्राक्षका मनका भएका माला बनाई जप गर्दा कस्तो फल प्राप्त हुने। र, यसरी बताईए अनुसार साधनायुक्त हुँदा अनेक फल मात्र हैन अनन्त फल प्राप्त गर्दै, अन्त्यमा शिवलोक मै प्रतिष्ठा प्राप्त गर्ने कुरा भगवान् रुद्रले दोहोर्याउनुभएको छ।

त्यही भएर विभिन्न सन्त, महात्मा, साधुजन आदि कोही गृहस्थ जनले पनि शरीरका विभिन्न दिव्य स्थानमा विभिन्न सङ्ख्यामा रुद्राक्ष धारण गर्नुभएको हामीले देखिरहेकै हुन सक्छ जुन कुराको कारण शास्त्रको मार्गनिर्देश नै हुनुपर्छ।

श्री रुद्राक्षजाबालोपनिषत् मा पनि भगवान् श्रीकालाग्निरुद्रले श्रीभुसुण्डजीलाई शिवभक्तहरूले शरीरका कुनकुन भागमा कतिकति सङ्ख्यामा कुनकुनमन्त्रले धारण गर्ने भनेर मार्गनिर्देश गर्नुभएको छ। अनि कस्तोकस्तो स्वरूपमा पनि धारण गर्न सकिन्छ त्यो पनि बताउनुभएको छ।

बताइएका प्रजातिका रुद्राक्ष बताइएका वर्णका मानवजनलाई समन्त्रक पहिरिन महात्माजन वा गुरुका शास्त्रविहित निर्देशन अनि उहाँहरूको सहयोगमा अभिमन्त्रित हुँदा र तिनलाई नित्य साधनामा साधनको रूपमा साध्यको प्राप्ति नहुन्जेलसम्म उहाँहरूको मार्गनिर्देशनमा रहेर प्रयोग गर्दा उचित होला। अनि अमन्त्रक धारणा बारे यस लेखनको प्रयासमा ठाउँठाउँमा चर्चा भएकै नै छन्।

रुद्राक्ष धारण गर्ने विशेष समय(मुहूर्त):

रुद्राक्षलाई सधैँ पवित्र स्थानमा राख्नु पर्दछ र रुद्राक्ष हरपल पवित्र रहँदै पलपल धारण गरिरहनु जस्तो दिव्यता के हुन सक्ला र !? तर पनि अझ शास्त्रहरूले निर्देशित गरेका अझै विशेष समय-काल-मुहूर्तमा नछुटाई-नबिर्सी रुद्राक्ष धारण गर्दा पुण्यफल धेरै गुणाले वृद्धि हुने कुराको वर्णन छन्।

श्री रुद्राक्षजाबाल उपनिषत् मा श्रीभगवान् कालाग्निरुद्रबाट मुनिश्रेष्ठ श्रीभुसुण्डजीलाई र एक प्रसङ्गमा श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको रुद्राक्षमाहात्म्यवर्णन नामक सातौँ अध्यायमा भगवान् नारायणबाट देवर्षि नारदजीलाई केही विषेश समयहरूमा रुद्राक्ष धारणा गर्दा अरू बेला भन्दा महत्त्व अझ बढी पुण्यफलको ठुलै प्राप्ति हुने हुँदा ती महत्त्वपूर्ण समय बारे निर्देशन भएको छ।

जस्तै- “सूर्य-चन्द्र ग्रहणको समय, अमावस्या(औँसी), पौर्णमासी(पूर्णिमा), उत्तरायण-दक्षिणायन योग, तुला-मेष आदिका सङ्क्रान्तिका समय, श्रावण(कर्कट) र माघ(मकर) सङ्क्रान्ति, विष्णु सङ्क्रान्ति, रात-दिनको बराबरीको समय, दिनको पूर्णताको समय, सूर्य विषुवत् रेखामा, संक्रमणकालमा, तथा अन्यान्य पुण्य दिवसहरूमा आदि जस्ता यस्ता महत्त्वपूर्ण शुभ दिन-समय-मुहूर्तमा भक्तले रुद्राक्ष धारण गर्दा सम्पूर्ण पाप नाश भई तिनबाट शीघ्र नै मुक्ति पाउँदछन्।”
रुद्राक्षको वैशिष्ट्यता, माहात्म्य, महिमा, महत्त्व:

श्री रुद्राक्षजाबाल उपनिषद् मा भगवान् श्री कालाग्निरुद्रले मुनिवर भुसुण्डजीलाई र श्रीबृहज्जाबालोपनिषत् मा भगवान् कालाग्निरुद्रले श्रीसनत्कुमारजीलाई “यस रुद्राक्षको महत्व यति विराट छ कि रुद्राक्षको कुरालाई वाणीको विषय मात्र बनाउँदा पनि (रुद्राक्षको बारे चर्चा मात्र गर्दा पनि) दश गाई दान गरे बराबरको पुण्यफल मिल्दछ। यहि रुद्राक्ष ‘भस्मज्योति रुद्राक्ष’ कहिन्छ।

“एष भस्मज्योती रुद्राक्षः” ॥

“यो परम पावन अति पवित्र साधन जो मोक्षको हो, यो त्यही संहाराक्षबाट प्रकट भएको भस्मज्योति हो, यो रुद्राक्ष त्यही ‘भस्मज्योति रुद्राक्ष’ हो। त्यही भएर रुद्राक्षलाई हातले स्पर्श गर्दै समातेर शिरोपर गर्दै-ढोग्दै शिरमा राख्ना मात्रले पनि दुई हजार गौ दानको पुण्यलाभ हाँसिल हुन्छ, त्यस्तै यदि आफ्ना हातले स्पर्श गर्दै धारण गरिए मात्र दुई हजार गौ दानको पुण्यफल मिल्दछ। यो भन्दा अगाडि अब म के भनौँ ?”, भन्दै रुद्राक्षको अवर्णनीय महिमा दर्शाउन खोज्नुभएको छ।

श्री रुद्राक्षजाबाल उपनिषत् मा भगवान् कालाग्निरुद्रले मुनिराज भुसुण्डजीलाई रुद्राक्षको अनन्त महिमालाई गणितीय भाषामा पनि राखिदिन खोज्नुभएको छ – “रुद्राक्षको दर्शनमात्रले पुण्यफल मानौँ एक लाखको सङ्ख्यामा हुन्छ। धारण गर्दा त एक करोड। किन र त्यति मात्रै ?! यति महत्त्व छ कि अझै पुण्य त शत-कोटि सङ्ख्यामा पुग्दछन् !”

“रुद्राक्ष भगवान् शिवलाई अति नै प्रिय छ। परम पावन सम्झिनु पर्दछ। रुद्राक्षको दर्शनले, स्पर्शले र यसको माध्यमबाट भगवद् स्मरण गर्नाले सम्पूर्ण पापलाई अपहरण गर्नेवाला मानिएको छ”। भनेर ऋषिगणलाई श्रीसूतजीले श्रीशिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा भन्नुभएको छ।

श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्ध सदाचारनिरूपण रुद्राक्षमाहात्म्यवर्णन नामक तृतीय अध्याय र श्रीमद्देवीभागवत महापुराणकै एकादशस्कन्धको रुद्राक्षमाहात्म्यवर्णन नामक सातौँ अध्यायमा भगवान् नारायणले देवर्षि नारदजीलाई “रुद्राक्ष-फलको दर्शनले महान् पुण्य(एक लाख गुना) मिल्दछ, स्पर्शले करोड गुना अधिक पुण्य हुन्छ तथा यिनलाई धारण गर्नाले मनुष्य सय करोड गुना पुण्य प्राप्त गर्दछन्।”, भनी बताउनुभएको छ। श्रीपद्ममहापुराण सृष्टिखण्ड उनान्साट्ठीऔँ अध्यायमा भगवान् शिवले श्रीस्कन्दजीलाई पनि यही कुरा बताउनुभएको छ।

श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्ध सदाचारनिरूपण रुद्राक्षमाहात्म्यवर्णन नामक तृतीय अध्यायमा स्वयम् भगवान् नारायणले देवर्षि नारदजीलाई रुद्राक्ष धारणको विशिष्ट महत्त्व अझै दर्शाउनुभएको छ –

“रुद्राक्ष धारणं साक्षाच्छिवज्ञानस्य साधनम् ॥२०॥”
“रुद्राक्ष धारण गर्नु साक्षात् शिव ज्ञानको प्राप्तिको साधन हो।
“सबै आश्रम तथा वर्णका मान्छेले रुद्राक्ष धारण गर्ने विधान छ।
“रुद्राक्ष धारण गर्नाले व्यक्ति साक्षात् रुद्ररूप हुन पुग्छन्, यसमा सन्देह छैन।
“रुद्राक्ष धारणमा लज्जा अनुभव गर्दा करोडौँ जन्ममा पनि संसारबाट उसको मोक्ष हुन सक्दैन।
“रुद्राक्ष धारण गर्नेवालाको निन्दा गरियो भने ठुलो पाप लाग्छ।

“रुद्राक्ष धारण गर्दा रुद्र रुद्रत्वलाई प्राप्त हुनुभो, मुनिगण सत्यसंकल्पवाला हुनुभो, ब्रह्माजी स्वयम् ब्रह्मत्वलाई प्राप्त हुनु भो। अतएव रुद्राक्ष धारण गर्नु भन्दा ठुलो अरू केही छैन।

“जो कोही पनि मनुष्य समन्त्रक(मन्त्र सहित) या अमन्त्रक(मन्त्र बिना पनि) अथवा भावरहित भएर अथवा लाजै मान्दा मान्दै पनि भक्तिपूर्वक रुद्राक्ष धारण गर्दछन्, तिनी सबै पापहरूबाट मुक्त भएर सम्पूर्ण ज्ञानको प्राप्ति गर्दछन्।

“अझै अगाडि अब त म नै रुद्राक्षमाहात्म्यको वर्णन गर्न समर्थ छुइनँ, अतएव पूर्ण प्रयत्नका साथ रुद्राक्ष धारण गर्नुपर्दछ।

“रुद्राक्ष धारण गर्नेवाला मनुष्यबाट पाप भैहाले पनि सबै पापबाट मुक्त हुन्छन् – यस्तो जाबालोपनिषत् मा भनिएको छ।

“रुद्राक्ष धारणले पशु पनि रुद्रत्वलाई प्राप्त गर्छन्; फेरि मनुष्य भएर जो मानिस रुद्राक्षको माला धारण गर्दछन्, उनको त के कुरा भो र !

“यदि आरम्भमा साक्षात् वेद-प्रतिपादित तथा मुक्तिदायक रुद्राक्ष धारण गर्नमा श्रद्धा उत्पन्न हुँदैन भने पनि, अनेक जन्महरू बाद भगवान् शिवको अनुग्रहले रुद्राक्ष धारण गर्न प्रति स्वाभाविक रूपले इच्छा उत्पन्न हुन्छ नै।

श्रीमद्  देवीभागवत महापुराणकै एकादशस्कन्धको रुद्राक्षमाहात्म्य गुणनिधिमोक्षवर्णन नामक छैठौँ अध्यायमा साक्षात् ईश्वरले महासेन श्रीषडाननजीलाई नै रुद्राक्ष र रुद्राक्ष धारणको महत्त्व अझै जोड्नुभएको छ –

“रुद्राक्ष भन्दा ठुलो न कोही स्तोत्र छन् न कुनै व्रत छन्। सबै प्रकारका अक्षय दानहरूका तुलनामा रुद्राक्ष-दान विषेश महिमावाला हो।

“सबै प्रकारका यज्ञ, तप, दान तथा वेदाध्ययन गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो फल मात्र रुद्राक्ष-धारणले शीघ्र नै प्राप्त हुन्छ।

“चारै वेदहरूको स्वाध्याय, पुराणहरूको अध्ययन, तीर्थहरूको सेवन, तथा सबै विद्याहरूको अध्ययन गर्दा फलस्वरूप जुन पुण्य हुन्छ, त्यो पुण्य मनुष्य केवल रुद्राक्ष धारणले तत्काल प्राप्त गर्दछन्।

“प्रयाणकालमा रुद्राक्ष धारण गरेर यदि कसैको मृत्यु हुन्छ भने, तब ती व्यक्ति रुद्रत्वलाई प्राप्त गर्छन् अनि उनको पुनर्जन्म हुन्न।

“यदि मनुष्यको कण्ठमा या दुवै भुजामा रुद्राक्ष धारण गरेको अवस्थामा मृत्यु हुन्छ भने उनी आफ्ना एक्काइस पीँढिहरूलाइ तारेर अन्त्यमा रुद्रलोकमा निवास गर्दछन्।
“जो आफ्ना मनमा रुद्राक्ष धारण गर्ने भावना राख्दछन्, तर धारण गर्न पाउँदैनन् या पाईराख्या हुन्नन्, भने पनि उनी महेश्वर-स्वरूप हुन् र यस लोकमा शिवलिङ्गको भाँति नमस्कारका योग्य हुन्।

“कोही व्यक्ति चाहे विद्यासम्पन्न हुन् अथवा विद्यारहित, उनी रुद्राक्ष धारण गर्दा मात्र पनि शिवलोकलाई प्राप्त हुन्छन्।

“रुद्राक्षका श्रीमुखहरूका जति दुर्लभ सङ्ख्या हुन्छन्, त्यति नै हजार युगहरूसम्म धारण गर्नेवाला शिवलोकमा प्रतिष्ठा प्राप्त गर्दछन्।

“रुद्राक्ष धारण गर्दा हुनेवाला पुण्यको तुलना कसको साथ गर्न सकिएला र ? तत्त्वदर्शी मुनिगण यस रुद्राक्षधारणलाई महाव्रतको संज्ञा दिन्छन्।

“जो व्यक्ति मोती, मूँगा, स्फटिक, रौप्य(चाँदी), वैदूर्य तथा सुवर्ण आदिले जटित रुद्राक्ष धारण गर्दछन्; उनी साक्षात् शिवरूप हुन्छन्।

“जो आलस्यवश केवल रुद्राक्षहरू मात्रै धारण गर्दछन्, उनलाई पाप कुनै तरिकाले पनि स्पर्श गर्न सक्दैन, जसरी अन्धकार सूर्यलाई स्पर्श गर्न पाउँदैन।

श्रीस्कन्दमहापुराण तृतीय ब्रह्मखण्डमा ब्रह्मोत्तरखण्डको बीसौँ अध्यायमा श्रीसूतजी बताउनुहुन्छ-

“जुन वृत्तान्तलाई सुनेर वा पढेर सर्वपाप क्षयभूत हुन्छन्, त्यस रुद्राक्ष माहात्म्यको संक्षेपमा म वर्णन गर्दछु। जस्तो सुकै व्यक्ति होस्, ऊ रुद्राक्ष धारणद्वारा सर्वपापरहित हुन पुग्दछन्। यो पवित्र रुद्राक्ष धारण कर्म अनुपम छ। तत्त्वदर्शी मुनिगणहरू यसलाई महाव्रत भन्नुहुन्छ।

सत्यको यति ठूलो घोषणामा पनि चित्त नबुझेर रुद्राक्षको महिमा यसै अध्यायमा उहाँ अझै अगाडि थप्नुहुन्छ-
“जसरी अन्धकार राशि सूर्यलाई स्पर्श गर्न पाउँदैनन्, त्यसरी नै जो व्यक्ति जस्तो उपलब्ध रुद्राक्ष छन् त्यही धारणले पापराशिले उनलाई स्पर्श गर्न पाउँदैन।

निर्णयसिन्धुको तृतीयपरिच्छेदको पूर्वार्धमा श्रीलिङ्गमहापुराणको तिथीतत्त्वमा बताइएको कुरा उल्लेख गर्दै भनिएको छ –
“रुद्राक्षको माला लगाई श्रीमहादेवको पूजन गरिएको छ भने त्यो फलप्रद हुन मद्दत हुन्छ।”

श्रीकृष्णयजुर्वेदीय रुद्रहृदय उपनिषद्मा पनि परब्रह्म परमात्मा प्राप्तिको खातिर अनेक अत्यावश्यक साधन मध्ये एक रुद्राक्ष इङ्गित गर्दै यसको विशिष्ट महिमा व्यक्त गरिएको छ।

श्रीअथर्ववेदीय रामरहस्य उपनिषद्मा पनि श्रीभगवान् को बोधको लागि गरिने भगवत् स्मरणमा प्रयोग हुने जपमाला या त तुलसीको या त रुद्राक्ष नै हुनु पर्ने भनेर रुद्राक्षको बृहद् महिमा व्यक्त गरिएको छ।

तीर्थ रूपी शरीरका मन्दिर रूपी विभिन्न महत्त्वपूर्ण दैव्य स्थानहरूमा आवश्यक रूपमा बताइएका, निश्चित कति सङ्ख्यामा, रुद्राक्ष धारण गर्दा र धारण गरी साधनामय हुँदा श्री बृहद् जाबाल उपनिषद्मा भगवान् श्री कालाग्निरुद्रले सनत्कुमारजीलाई र श्री रुद्राक्षजाबाल उपनिषदमा भगवान् श्री कालाग्निरुद्रले मुनिराज भुसुण्डजीलाई धारणा गर्ने व्यक्ति-भक्तलाई ठुला ठुला परम पुण्यलाभको प्राप्ति हुने बताउनु भएको हो।

त्यस्तै श्री शिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा भगवान् शिवले माता पार्वतीलाई व्यक्ति नै वन्दनीय-पूजनीय-बारबार दर्शनका लागि योग्य भई भगवान् कै विभिन्न रूपस्वरूप हुँदै परमरूप हुन पुग्ने बताउनु भएको छ।

यस्तै श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको सदाचारनिरूपण रुद्राक्षमाहात्म्यवर्णन नामक तृतीय अध्यायमा भगवान् नारायणले श्रीनारदजीलाई रुद्राक्ष धारण गर्ने भक्त साक्षात् नीलकण्ठ शिव नै हुने बताउनु भएको कुरा यस लेखनको प्रयासमा चर्चा भएकै हो।

यस्तै श्रीस्कन्दमहापुराणको तृतीय ब्रह्मखण्डमा ब्रह्मोत्तरखण्डको बीसौँ अध्यायमा पनि श्रीसूतजीले आवश्यक रूपमा बताइएका, निश्चित कति सङ्ख्यामा, रुद्राक्ष धारण गर्दा र धारण गरी साधनामय हुँदा, भक्त स्वयम् भगवान् रुद्र समान हुने अनि त्यस्तै बताइएका रत्नसहित रुद्राक्ष धारणा गरी साधनायुक्त हुँदा त झन् वर्णन नै हुन नसक्ने महिमालाई ती व्यक्ति त भगवान् को परम रूप – भगवान् शिव नै हुन् भनेर टुङ्ग्याउनु भएको देखिन्छ।

श्री रुद्राक्षजाबाल उपनिषत् मा भगवान् श्री कालाग्निरुद्रले भुसुण्डजीलाई बताउनुभएको छ –

“यस रुद्राक्षले भक्तहरूबाट दिन र रातमा भएका/गरिएका पापहरू नाशिन्छन्, यिनलाई धारण गर्दा।

‘रुद्राक्ष’, यो नाम जप्ता मात्र एक जापकले दश गाई दान गरेको पुण्यफल प्राप्त गर्दछ। रुद्राक्षको दर्शन र स्पर्श गर्दा मात्र अगि भनेको पुण्य फल दुगुना हुन पुग्दछन्। रुद्राक्षको बाँकी अगाडिको विराट महत्त्व म आफैँ पनि व्यक्त गर्न असमर्थ छु !”

“तर, यो पुण्य एक हजार लाख करोड र एक सय लाख करोड गुणा शक्तिशाली हुन पुग्दछ यदि कसैले रुद्राक्षको मालाले जप गर्दछ र धारण गर्दछ।

श्रीशिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा भगवान् शिवले माता पार्वतीलाई रुद्राक्ष मालाले जप गर्दा हुने महापुण्यको बारे गज्जब बताउनु भएको छ-

“मणि आदिको अपेक्षा रुद्राक्षद्वारा मन्त्रजप गर्नाले करोड गुना पुण्य प्राप्त हुन्छ र धारण गर्नाले त अझ दश करोड गुना पुण्यलाभ हुन्छ।

श्रीपद्ममहापुराण सृष्टिखण्ड उनान्साट्ठीऔँ अध्यायमा स्वयम् भगवान् शिवले श्रीस्कन्दजीलाई र श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्ध सदाचारनिरूपण रुद्राक्षमाहात्म्यवर्णन नामक तृतीय अध्याय र यस श्रीमद्देवीभागवत महापुराणकै एकादशस्कन्धको रुद्राक्षमाहात्म्यवर्णन नामक सातौँ अध्यायमा स्वयम् भगवान् नारायणले पनि रुद्राक्ष-मालाद्वारा गरिएका जपको महिमामा अझै अनन्तता थप्दै विश्वस्तता दिलाउनुभएको छ-

“रुद्राक्ष-मालाले नित्य जप गर्नाले व्यक्ति सयकडौँ लाख-करोड गुना तथा हजारौँ लाख-करोड गुना पुण्य प्राप्त गर्दछ, यसमा सन्देह गर्न हुन्न, अरू केही सोच्नै पर्दैन।”

श्रीस्कन्दमहापुराण तृतिय ब्रह्मखण्डमा ब्रह्मोत्तरखण्डको बीसौँ अध्यायमा श्रीसूतजी बताउनुहुन्छ- “रुद्राक्ष मालाद्वारा जपिने मन्त्र अनन्त फलप्रद हुन्छन्।”

श्रीपद्ममहापुराण सृष्टिखण्ड उनान्साट्ठीऔँ अध्यायमा द्विजश्रेष्ठहरूलाई श्रीव्यासदेवजी स्पष्ट पार्नुहुन्छ-

“आफ्नो(रुद्राक्ष) मालाले कुनै पनि देवताको मन्त्र जप्न सकिन्छ। सबै वैदिक मन्त्र, पौराणिक मन्त्र, आगमीय मन्त्र सबै रुद्राक्षको मालाले जप्नाले अभीष्ट फल दिन्छन्।”

श्रीशिवमहापुराणको प्रथम-खण्ड्पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा भगवान् शिवले माता पार्वतीसमक्ष रुद्राक्ष धारण गर्नेवाला भक्तको हुन जाने उच्चतम धार्मिक अवस्था बारे प्रकाश पार्नु भएको छ-

“रुद्राक्षले युक्त हुँदै जब आसन लगाएर ध्यानपूर्वक शिवको नाम स्मरण गर्न लाग्दछ, तब उसलाई देखेर पाप स्वतः छोडेर भाग्दछ। रुद्राक्ष धारण गर्नेवाला स्वतः शुद्ध हुन पुग्दछन्। सबै देवता र असुरहरूका लागि पनि रुद्राक्ष धारण गर्नेवाला सधैँ वन्दनीय एवम् पूजनीय हुन्।

“रुद्राक्षको यस्तो पावन र विराट महिमा छ कि धारण गर्नेवालालाई दर्शन गर्ने प्राणीका भगवान् शिवले पापहरूका नाश गरे झैँ नाश हुन्छन्। ध्यान र ज्ञानले रहित हुँदा पनि रुद्राक्ष धारण गर्नेवाला सम्पूर्ण पापबाट मुक्त भएर परमगतिलाई प्राप्त हुन्छन्।

“हे देवि ! यो रुद्राक्ष, प्राणीको शरीरमा जबतक रहन्छ, तबतक स्वल्पमृत्यु उनलाई बाधा पुर्याउँदैनन्।

“रुद्राक्षको माला धारण गर्नेवाला व्यक्तिलाई देखेर नकारात्मक उर्जा-शक्तिहरू तथा उपद्रव-कष्ट निम्त्याउने तत्त्व-माध्यमहरू, ती सबका सब टाढा भाग्दछन्। जो खराब कर्म प्रयुक्त हुन्छन्, ती सबै रुद्राक्षधारीलाई देखेर सशंक टाढा जान्छन्।

“हे पार्वति ! रुद्राक्षमालाधारी मानवलाई देखेर म शिव, भगवान् विष्णु, देवी दुर्गा, गणेश, सूर्य तथा अन्य देवता पनि प्रसन्न हुन पुग्नुहुन्छ।

“हे महेश्वरि ! यस प्रकार रुद्राक्षको महिमा जानेर धर्मको वृद्धिका लागि भक्तिपूर्वक पूर्वोक्त मन्त्रहरूद्वारा विधिवत् भुक्ति तथा मुक्ति (भोग तथा मोक्ष) प्रदान गर्ने यिनलाई धारण गर्नुपर्दछ।

श्रीपद्ममहापुराण सृष्टिखण्ड उनान्साट्ठीऔँ अध्यायमा द्विजश्रेष्ठहरू श्रीव्यासदेवजीलाई प्रश्न गर्नुहुन्छ –

“हे द्विजोत्तम ! मर्त्यलोकमा सबैभन्दा प्रधान पुण्य के हो ? मुनिहरू तथा तपस्वीहरूमा श्रेष्ठ पूज्य एवम् सुलभ मनुष्य को हुन् ? चारै वर्ण तथा चारै आश्रमहरूका पापयुक्त तथा पुण्यवानहरूमा गुणीहरूमा गुण, वर्णवालाहरूमा वर्ण सुलभ (पुण्यवान मनुष्य) को हुन् ?” जवाफमा श्रीद्वैपायन वेदव्यासजी-

“सबै मनुष्यहरूमा रुद्राक्षधारी व्यक्ति श्रेष्ठ हुन्। उनको दर्शन मात्र गर्दा पनि पाप समूहका नाश हुन्छन्। रुद्राक्षको स्पर्श गर्नाले स्वर्गको प्राप्ति हुन्छ, धारण गर्दा रुद्रत्वको प्राप्ति हुन्छ। शिर, छाती, भुजाहरूमा रुद्राक्ष धारण गर्नेवाला लोकमा शङ्करजीको समान हुन्छन् तथा यज्ञमा सर्वत्र पवित्र हुन्छन्।

ती व्यक्ति जहाँ रहन्छन् त्यही स्थान पवित्र हुन पुग्दछ। उनका दर्शन अथवा स्पर्शले मानिस पापरहित हुन पुग्दछन्। रुद्राक्षको ब्रह्मग्रन्थिले युक्त तथा पवित्र माला लिएर गरिएको जप देखि यी मालालाई धारण गरी गरिएका धार्मिक कार्यहरू सबै अक्षय हुन पुग्दछन्। रुद्राक्ष सबै तीर्थहरू भन्दा महान् तीर्थ हो।

“रुद्राक्षले स्रुत जलले जो आफ्ना शिरमा धारण गर्छन्, उनी सब पापबाट पवित्र हुन्छन् तथा उनलाई अक्षय फलको प्राप्ति हुन्छ। रुद्राक्षको प्रत्येक बीजका अलग-अलग देवता हुन्छन्। जो मनुष्य शरीरमा धारण गर्छन् उनी देवताहरूमा श्रेष्ठ हुन्छन्।

रुद्राक्ष जस्तो यस्तो रहस्यात्मक फललाई जीवले नजान्दा श्रीपद्ममहापुराणको सृष्टिखण्डको यसै अध्यायमा श्रीस्कन्दजीले रुद्राक्ष धारण गर्दा लाभ हुने अति महान् फलबारे जिज्ञासायुक्त हुँदा साक्षात् भगवान् शिवले बताउनु भएको छ-

“रुद्राक्षको धारण गर्दा मात्र उच्छिष्ट रहनेवाला पनि सबै पापबाट मुक्त हुन पुग्छन्। यदि कुनै जनावर गलामा रुद्राक्ष धारण गरेर मृत्युलाई उपलब्ध हुन पुग्दा तब त्यो पनि रुद्रत्वलाई प्राप्त गर्दछन्, मनुष्यको बारे त भन्नु के नै बाँकी रह्यो र ? ध्यान तथा धारणाले रहित व्यक्ति पनि यदि रुद्राक्ष धारण गर्दछ भने ऊ पनि सबै पापबाट मुक्त भएर मुक्तिलाई प्राप्त गर्दछ।

श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको रुद्राक्षमाहात्म्य गुणनिधिमोक्षवर्णन नामक छैठौँ अध्यायमा रुद्राक्ष पूजन विषयमा श्रीभगवान् स्वयंले श्रीकार्त्तिकेयजीलाई बताउनु हुन्छ –

“एकमुखी, पञ्चमुखी, एघारमुखी, चौधमुखी तथा अरू पनि केही रुद्राक्षहरूका लोकमा पूजा गरिन्छन्।

“साक्षात् शङ्करको आत्मस्वरूप यस रुद्राक्षको यदि भक्तिपूर्वक पुजा गरिन्छ त अति दीन-दुःखी व्यक्तिलाई पनि पृथ्वीमा राजा बनाइदिन्छ।

“रुद्राक्ष भन्दा ठुलो न कोही स्तोत्र छन् न कुनै व्रत छन्। सबै प्रकारका अक्षय दानहरूका तुलनामा रुद्राक्ष-दान विषेश महिमावाला हो।

श्रीस्कन्दमहापुराण तृतिय ब्रह्मखण्डमा ब्रह्मोत्तरखण्डको बीसौँ अध्यायमा श्रीसूतजीले दिव्य रहस्योद्घाटन गर्नुभएको छ-

“बताइएका प्रक्रियानुसार रुद्राक्ष पूजनले शिवलिङ्गपूजनको फल प्राप्त हुने हुन्छन्। सबै मुखी रुद्राक्ष लोकमा पूजनीय छन्, त्यसमा पनि एकमुखी, पञ्चमुखी, एकादशमुखी(एघारमुखी), चतुर्दशमुखी(चौधमुखी) रुद्राक्षहरू लोकमा पूजित मानिन्छन्। शङ्करात्मक हुन् रुद्राक्षहरू ! शङ्करात्मक रुद्राक्षको पूजा भक्तिपूर्वक गर्नाले दरिद्रता राजश्री समन्वित हुन्छन्। यो कुराको प्रामाणिकता सहितको दृष्टान्त श्रीसूतजीबाट एक आख्यान जो मनिषीगणले बताउनुभएको थियो त्यसको उल्लेख पनि यहाँ यस अध्यायमा गरिएको छ।

श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्धको रुद्राक्षमाहात्म्य गुणनिधिमोक्षवर्णन नामक छैठौँ अध्यायमा एक बहुतै सुन्दर कथामा एकजनको जुन ठाउँमा मृत्यु हुँदा, त्यस भूमिको दस हात तल रुद्राक्ष विद्यमान हुन्छन्।

त्यही रुद्राक्षको प्रभावले भगवान् शिवका दूतले यमदूतबाट उनलाई छुटाउँछन् र ती व्यक्ति दिव्यरूप धारण गरेर सुन्दर विमानमा आरूढ हुँदै ती शिवदूतसँग शिवलोक जान्छन्।” हाय ! रुद्राक्षको अपरम्पार महिमा !!!

श्रीपद्ममहापुराणको सृष्टिखण्ड उनान्साट्ठीऔँ अध्यायमा श्रीस्कन्दजीलाई साक्षात्

भगवान् शिव स्वयंले मानवजीवनको अन्तिम घडीमा पनि यदि रुद्राक्ष-माला छैन र एक मात्र रुद्राक्ष धारित छ या त्यस अन्तिम घडीमा रुद्राक्षको उपस्थिति भएको दिव्य क्षेत्रको परिधिमा उपस्थिति हुन मात्र पाएको छ भने पनि कसरी सद्गती प्राप्त हुन्छ भनेर अद्भुत रहस्य उद्घटित गर्नुभएको छ –

“यदि वज्रपातको समयमा प्राण छुट्दै शरीर रुद्राक्षको टुक्रामा खस्न पायो भने त मेरो लोकमा निवास हुन्छ। मेरो अंश प्राप्त गरेर ऊ पृथिवीमा ऐश्वर्यशालीहरूको पनि स्वामी हुन जानेछ। हे पुत्र ! रुद्राक्षको टुक्रामा गिर्दा त सुन्दर गति हुन्छ भने यो कुरा जानेर कोही रुद्राक्ष धारण गर्दछ भने त्यसको फलको वर्णन गर्न सकिन्न। जसको प्राण छुट्ने जस्तो दुखद घडीमा रुद्राक्षको माला अथवा एक रुद्राक्ष मात्र पनि धारण भएको अवस्था छ भने, ती व्यक्ति शैव(भगवान् शिव भक्त), शाक्त(श्रीदेवी/शक्ति भक्त), गाणपत्य(भगवान् गणेश भक्त) अथवा सौर(भगवान् श्रीसूर्यनारायणको भक्त) हुन्छन्।

श्रीमद्देवीभागवत महापुराणकै एकादशस्कन्ध सदाचारनिरूपण रुद्राक्षमाहात्म्यवर्णन नामक तृतीय अध्यायमा साक्षात् भगवान् श्रीमन् नारायणले दैव्य रोमाञ्च भरे महावाणी व्यक्त गर्नुभएको छ –

“रुद्राक्षको वृक्षबाट चलेको वायुको सम्पर्कमा आएर भैँमा पलाएका तृण(घाँस-पात) पनि पुण्यलोकमा जान्छन् र त्यहाँबाट पुनः ती यस लोकमा आउन्नन्।”
ओह्हो ! रुद्राक्षको अपरम्पार महिमा !!!

रुद्राक्षका प्रकार:
विभिन्न रङ्गका रुद्राक्षका प्रजाति:

श्रीरुद्राक्षजाबालोपनिषद् मा मुनिश्रेष्ठ श्रीभुसुण्डजीका जिज्ञासामा भगवान् श्री कालाग्निरुद्रले रुद्राक्षका विभिन्न रङ्गका प्रजातिमा आधारित रुद्राक्षका प्रकार बत्लाउनु भएको छ –

“सेतो(श्वेत), रातो(रक्त), पहेँलो(पीत) र श्याम(कृष्ण) वर्ण; यी चार रङ्गका रुद्राक्ष हुन्छन् जुन वर्णविषेशका लागि क्रमशः प्रकार हुन्।”

त्यस्तै श्रीशिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्डमा रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा भगवान् शिवले माता महेशानी श्रीदेवी पार्वतीजीलाई रुद्राक्षका विभिन्न रङ्गका प्रजाति :

“मेरै आज्ञाले ती रुद्राक्ष विभिन्न वर्णका भेदानुसार चार भिन्न रङ्गमा भूतलमा प्रकट भए। रुद्राक्षहरू क्रमशः श्वेत(सेतो), रक्त(रातो), पीत(पहेँलो) तथा कृष्ण(गाढा) वर्णका हुन्छन्।

मनुष्यले आफ्नो वर्णानुसार बताइएको प्रजातिको रुद्राक्ष धारण गर्नु पर्दछ – यो वेदोक्त मार्ग हो। भोग तथा मोक्षको इच्छा राख्नेवाला चारै वर्णका र विशेषतः शिवभक्तहरूले भगवान् शिव-माता पार्वतीको प्रसन्नताका लागि रुद्राक्षका फलहरूलाई अवश्य धारण गर्नुपर्दछ।”, भनेर बताउनुभएको छ।

रङ्गका आधारमा रुद्राक्षका वर्ण बारे अझ थप कुरा श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्ध सदाचारनिरूपण रुद्राक्षमाहात्म्यवर्णण नामक चतुर्थ अध्यायमा पनि षडानन स्कन्दकुमारजीको उत्कट अभिलाषालाई पूर्ण निराकरण गर्दै गिरिशायी भगवान् रुद्रले आफ्ना तीन मध्ये कुन नेत्रबाट कस्ता प्रकारका रुद्राक्ष उत्पन्न भए भनेर अझ विस्तारमा ज्योति डाल्नु भएको छ –

“हे महासेन ! मेरा आज्ञाबाट सबैका कल्याणार्थ भूतलमा प्रकटित ती अडतीस प्रकारका रुद्राक्ष भए। मेरो सूर्यनेत्र (दाहिने/दायाँ नेत्र)- बाट उत्पन्न रुद्राक्ष कपिल वर्णका थिए, ती बाह्र प्रकारका भनिएको छ। मेरो चन्द्रनेत्र (बायाँ/देब्रे नेत्र) – बाट उत्पन्न रुद्राक्ष श्वेत(सेता)वर्णवाला थिए, ती क्रमैले सोह्र प्रकारका छन्। यसै प्रकार मेरो अग्निनेत्र (तेस्रो नेत्र)- बाट उत्पन्न रुद्राक्ष कृष्ण(गाढा)वर्णका थिए, तिनका दस भेद(प्रकार) छन्।
श्वेत, रक्त, मिश्र र कृष्ण-यी वर्ण हुन् रुद्राक्षका।”

प्रकृति-ईश्वरको दिव्य लीला अपरम्पार छ। त्यस्तै परम शक्तिशाली ईश्वरका दिव्य लीला अनुसार श्रीरुद्राक्षजाबालोपनिषद् ले र श्रीशिवमहापुराणले रुद्राक्षका रङ्गका आधारमा माथि बताइएका चार भेद-प्रजाति(श्वेत(सेतो), रक्त(रातो), पीत(पहेँलो) तथा कृष्ण(गाढा) ) वर्णका रुद्राक्ष सम्बन्धि ज्ञप्तिमा थपेर अझै श्रीमद्देवीभागवत महापुराणबाट कपिल र मिश्र वर्णका रुद्राक्ष पनि हामी माझ उपस्थित भएको रहस्योद्घाटित हुनु अहोभाग्य नै हो।

रुद्राक्षका प्रकार:
श्रीमुखका आधारमा:

रुद्राक्षका श्रीमुखका आधारमा हुने भेद(प्रकार)का बारे धेरै शास्त्र-ग्रन्थादिहरूमा व्याख्या छन्।

रुद्राक्षका उत्पत्ति, रुद्राक्षको कुन स्थान(भाग)मा कुन देवताको निवास, एक रुद्राक्षका विभिन्न स्थान देखि लिएर सिङ्गो रुद्राक्षको माला अनि तिनको शिखा, ब्रह्मग्रन्थि, सुमेरु, पुच्छ्र, नागपाश आदिमा कुन देवीदेवताको निवास, रुद्राक्षका आकार, कस्ता रुद्राक्ष राम्रा कस्ता त्याज्य, रुद्राक्षका माला तयार गर्ने विधि-तरिका, रुद्राक्षधारणा गर्दा पालना गर्नु पर्ने वृत्ति-नियमानुशासन, रुद्राक्ष क-कसले धारणा गर्न मिल्ने, रुद्राक्ष धारणा गर्नु पर्ने र धारणा गर्ने नहुने अवस्था, रुद्राक्ष कति सङ्ख्यामा शरीरका कुन स्थानमा धारण गर्ने र तिनका पुण्यफल, अझ समय विशेषानुसार रुद्राक्ष धारणा गर्दा वृद्धि हुने पुण्यफल, रुद्राक्षका माहात्म्य-महिमा-महत्त्व, विभिन्न रङ्गका अधारमा रुद्राक्षका प्रजाति र कुन रङ्ग-प्रजातिका रुद्राक्ष कसले धारणा गर्ने आदि जिज्ञासात्मक अनमोल प्रश्नमालाहरू विभिन्न मुनिगण, विप्रहरू, मनिषीगण, महाप्राज्ञजन, देवता आदिबाट आउँदा साक्षात् श्रीभगवान् कै मुखारविन्दबाट ज्ञानामृतरूपी मोक्ष साधन स्वरूप अमूल्य रत्नसमाधान वर्षण हुँदा स्वयम् ती महात्माजन जिज्ञासाकर्ता मात्र नभएर आजसम्म आईपुग्दा यी मानवचोलाहरू नै कृतकृत्य छौँ।

यस्तै ती पुण्यात्माका अनमोल प्रश्नरत्नहरू मध्ये श्रीमुखका आधारमा रुद्राक्षका प्रकार(भेद) पनि साक्षात् परमात्मा श्रीभगवान् नै विभिन्न रूपस्वरूपमा रहस्योद्घाटन गर्नुभएको छ जुन अनेकन यी अति पवित्र ग्रन्थहरू मध्ये श्री रुद्राक्षजाबाल उपनिषद् मा मुनिराज श्रीभुसुण्डजीले भगवान् श्रीकालाग्निरुद्रलाई जिज्ञासा गर्नुभएको छ –

“भगवान् ! रुद्राक्षका विभिन्न स्वरूप र तिनका प्रभाव, ती पावन-पवित्र परम, परम मङ्गलकारी फलका श्री मुखहरूका आधारमा हुने तिनका प्रकार – अति महत्त्वपूर्ण तिनका अर्थ, जुन सम्पूर्ण अमङ्गलबाट मुक्त हुने माध्यम हुन्, भुक्तिमुक्ति प्रदाता हुन्, यी सब बारे हे भगवन् मलाई मर्जी हवस् !”

त्यस्तै श्रीशिवमहापुराणको प्रथम-खण्ड-पूर्वार्ध विद्येश्वरसंहिताको साध्यसाधनखण्ड रुद्राक्षमाहात्म्यवर्णन नामक पच्चीसौँ अध्यायमा स्वयम् भगवान् शिवले माता पार्वतीलाई रुद्राक्षका श्रीमुखका सङ्ख्याका आधारमा भएका भेद-प्रकार र ती धारण गर्दा प्रत्येक मुखीका क्रमशः आवश्यक मन्त्र, धारण गरेपछि हुने पुण्यफल-लाभ आदिको महिमा बताउनुभएको छ – “हे पार्वति ! रुद्राक्ष अनेक प्रकारको बताइएको छ। म तिनका भेदहरूका वर्णन गर्दछु। ती भेद भोग र मोक्षरूप फल दिनेवाला हुन्। उत्तम भक्तिभावले तिनका परिचय सुन्नुपर्दछ।

त्यस्तै श्रीपद्ममहापुराणको सृष्टिखण्डको उनान्साट्ठीऔँ अध्यायमा श्रीकार्त्तिकेयजी भगवान् शङ्करसँग रुद्राक्ष सम्बन्धि पूर्ण भक्तिमयी जिज्ञासारत हुनुहुन्छ – “स्वयम् हजुरले चौध मुखवाला सम्म रुद्राक्ष बत्लाउनुभएको छ। ती सबैका तथा तिनका श्रीमुखका देवता को-को हुनुहुन्छ, यो हजुर बताईदिनु हवस्, ती सबैका गुण के हुन् अथवा दोष के हुन् ?”

त्यस्तै श्रीमद्देवीभागवत महापुराणको एकादशस्कन्ध रुद्राक्षमाहात्म्यवर्णण नामक सातौँ अध्यायमा भगवान् नारायणबाट देवर्षि नारदजीलाई रुद्राक्षका विभिन्न श्रीमुखका रहस्यमा थप प्रकाश भएको छ।

त्यस्तै निर्णयसिन्धुको तृतीयपरिच्छेदको पूर्वार्धमा रुद्राक्षका श्रीमुख सम्बन्धि अझै केही जानकारी लिन सकिन्छ।

त्यस्तै श्रीस्कन्दमहापुराणको प्रथम माहेश्वरखण्डमा केदारखण्डको अध्याय तेह्रमा भगवान् शिवले अझै थपमा “एक मुखी देखि लिएर सोह्रमुखी सम्मका रुद्राक्ष हुन्छन् जसमा एक मुखी र पञ्चमुखी श्रेष्ठ हुन्छन्”, भनी भन्नु भएको कुरा बताइएको छ।

रुद्राक्ष तत्त्व ठूलो हो। एक प्रकारका रुद्राक्षसँग अर्का प्रकारका रुद्राक्षका गुण मिल्न जान सक्छन् जुन स्वाभाविकै पनि हो किनभने मूलमा तत्त्व रुद्राक्षतत्त्व हो। अतः विभिन्न भेद(श्रीमुख)का आधारमा भुक्ति र मुक्ति (भोग र मोक्ष) रूप फल दिनेवाला विभिन्न थरिका (विभिन्न मुखी) रुद्राक्ष हुन्छन्। जुन माथि अघिल्लो हरफमा उल्लेख गरिएका केही विभिन्न शास्त्रानुसार विशुद्ध रूपमा यस प्रकार छन् :-

एकमुखी रुद्राक्ष:

“एकवक्त्र(एक मुखी) रुद्राक्षको माला साक्षात् परमात्मा-सर्वोच्च सत्य/परम सत्य/परम तत्त्वको रूप हो। एक मात्र शाश्वत सत्य, परम तत्त्व, साक्षात् परमात्मासँग एक निष्ठावान् जितेन्द्रिय मिल्दछ, लीन हुन पुग्छ एक मुखी रुद्राक्ष जब ऊ धारण गर्दछ। (श्रीरुद्राक्षजाबाल उपनिषत्)

“एकमुखी रुद्राक्ष साक्षात् शिवको स्वरूप हो। भोग र मोक्ष रूपी फल प्रदान गर्ने वाला एक मुखी रुद्राक्षको दर्शन मात्रले ब्रह्म हत्या जस्तो पाप नष्ट हुन पुग्दछ। जहाँ रुद्राक्षको पूजा हुन्छ त्यहाँबाट श्रीलक्ष्मीजी टाढा जानुहुन्न। उक्त स्थानका सम्पूर्ण उपद्रवहरू नष्ट भएर जान्छन् तथा त्यहाँ रहनेवाला सबैको सम्पूर्ण कामना पूर्ण हुन्छन्।
(श्रीशिवमहापुराण)

“एकमुखी रुद्राक्ष परमतत्त्वको प्रकाशक हो। अतः यस परमतत्त्वमय एकमुखी रुद्राक्षको धारणले त्यस ब्रह्मको साक्षात्कार हुन्छ। (श्रीमद्देवीभागवतम्)

निर्णयसिन्धुमा रुद्राक्ष धारण गर्दा हुने विशेषफलका कथनहरूमा रुद्राक्ष धारणलाई लिएर विषेश शिवरहस्यमा भनिएको कुरा व्यक्त गरिएको छ-
“एकमुखवाला रुद्राक्ष साक्षात् शिवको स्वरूप हुन्छ। यी रुद्राक्ष ब्रह्महत्यालाई नाश गर्दछ। सब स्रोतहरूलाई अवध्यत्व गर्दछन् तथा अग्निलाई स्तंभन गर्दछन्, एकमुखी रुद्राक्षले। यी रुद्राक्षले वधरहित तुल्याउँदछन् तथा प्रवाहको विपरीत प्रवाहलाई रोकेर अग्निलाई नै रोक्दछन्। अर्थात् – प्रवाहबाट फैलँदै गरेको अग्निज्वालालाई यी एकमुखी रुद्राक्षले रोकेर शान्त गर्दिन्छन्।

“एकमुखिरुद्राक्ष स्वयं शिवस्वरूप हुन्छ र यिनले ब्रह्महत्या दूर गर्दछन्। अतएव आफ्ना शरीरमा सबै पापहरूलाई नाश गर्नका लागि यी रुद्राक्षलाई धारण गरिनुपर्दछ। यिनलाई धारण गर्नेवाला शिवलोकमा जान्छन् र भगवान् शिवका साथ आनन्दानुभव गर्दछन्। हे षडानन ! जब महान् पुण्य उदित हुन्छ तब उनी उपर शङ्करजीको कृपा हुन्छ। एकमुखी रुद्राक्षले कैलासको प्राप्ति हुन्छ। (श्रीपद्ममहापुराण)

“जो व्यक्ति सदा एकमुखी रुद्राक्ष धारण गर्दछन्, उनी रुद्रलोकमा गमन गर्दछन्। रुद्रलोकमा उनी भगवान् रुद्रको सन्निधानमा विहार गर्दछन्। (श्रीस्कन्दमहापुराण)

एकमुखी रुद्राक्ष निष्कर्ष : एकवक्त्र रुद्राक्ष साक्षात् शिवस्वरूप हुन्। साक्षात् शिवस्वरूप भन्नासाथ सबै कुरा आइगयो नै। साक्षात् शिवस्वरूप भन्दा बित्तिकै अरू केही उल्लेख आवश्यक नहोला पनि तर पनि अझै केही केलाएर त्यसमा थप्न चाही बुझ्दा भगवद् भावले युक्त भई आनन्दानुभूतिका लागि विभिन्न ग्रन्थहरूले अझै सकेसम्म धेरै कुरा जोडेर हामी मानवलाई कल्याणार्थ कृपाको वर्षण भएकै रहेछ।

दुईमुखी रुद्राक्षः

“हे मुनिश्रेष्ठ ! द्विवक्त्र(दुईमुखी) रुद्राक्ष श्री अर्धनारीश्वरको स्वरूप हो, दुई मुखवाला रुद्राक्ष अर्धनारीश्वर हुन्छ र पहिरिने भक्तलाई श्री अर्धनारीश्वरको कृपा प्राप्त हुन्छ, धारक उपर श्री अर्धनारीश्वरको प्रीति बनिरहन्छ, त्यसव्यक्तिउपर भगवान् श्रीअर्धनारीश्वर सदा प्रसन्न रहनुहुन्छ। (श्रीरुद्राक्षजाबाल उपनिषत्)

“दुईमुखी रुद्राक्ष देवदेवेश्वर कहिएको छ जुन सम्पूर्ण कामनाहरू र फलहरू दिनेवाला हुन्छ। यस रुद्राक्षले विशेष गरी गोहत्याको पाप नष्ट गर्दछ। (श्रीशिवमहापुराण)

श्रीमद्देवीभागवतमा गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “दुईमुखी रुद्राक्ष देवी-देवता-यी दुवैको स्वरूप हो, यस रुद्राक्षले दुई प्रकारका पापहरूका शमन गर्दछन्”, भनेर माहात्म्य अझ थप्नु भएको छ।

“दुईमुखवाला रुद्राक्षलाई ‘हरगौरी’ भनिन्छ। यी रुद्राक्षले गोवध आदि पापहरूका नाश गर्छन्। (निर्णयसिन्धुः)

“दुईमुखिरुद्राक्ष देवदेव शिव स्वरूप हुन्छ जसले धारण गर्छन् उनलाई गोप्य गोवधजन्य पाप पनि नष्ट हुन्छन्। अतएव दुईमुखी रुद्राक्ष धारण गर्नेवाला अक्षय स्वर्गलाई पाउँदछन्। (श्रीपद्ममहापुराण)

दुईमुखी रुद्राक्ष निष्कर्ष : द्विवक्त्र रुद्राक्ष श्री अर्धनारीश्वर/हरगौरी, देवी-देवता, देवदेवेश्वर, देवदेव शिवका एकै प्रतीकरूप। धारण गर्दा प्राप्त हुने उहाँहरूको आशीर्वाद र अझै थपेर माथिका विभिन्न शास्त्रबाट ज्ञानानुभूतिको रूपमा कृपा भएको नै छ।

तीनमुखी रुद्राक्षः

“त्रिवक्त्र(तीनमुखी) रुद्राक्ष अग्नित्रयको स्वरूप हो र पहिरिने भक्तलाई अग्निको कृपा प्राप्ति हुन्छ, ती भक्त उपर अग्निदेवता सदैव प्रसन्न रहनुहुन्छ। (श्रीरुद्राक्षजाबालोपनिषद्)

श्रीमद्देवीभागवतमा गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “तीनमुखवाला रुद्राक्ष अग्निस्वरूप त हुँदै हो, यस रुद्राक्षले स्त्री-वधजनित पापलाई क्षणभरमा भस्म गर्दछन्”, भनेर माहात्म्य थप्नु भएको छ।

“त्रिमुखी रुद्राक्ष सदा साक्षात् साधनहरूका फल दिनेवाला हुन्छ जसको प्रभावले सम्पूर्ण विद्याहरू प्रतिष्ठित हुन पुग्छन्। (श्रीशिवमहापुराण)

“तीनमुखी रुद्राक्ष अग्निस्वरूप हुन्छ। यिनले स्त्री-हत्याको पापलाई क्षणभरमा भस्म गर्दिन्छन्। यी रुद्राक्ष अग्नित्रय (गार्हपत्य, आहवनीय, दक्षिणाग्नि)-को पनि स्वरूपवाला हुन्। यिनलाई धारण गर्नाले त्यस व्यक्ति उपर अग्निदेवता सदा प्रसन्न रहनुहुन्छ। (श्रीमद्देवीभागवत)

“तीनमुखवाला रुद्राक्षलाई ‘अग्निजन्मा’ भनिन्छ। यी रुद्राक्षले पापहरूका समूहलाई नाश गर्दछन्। (निर्णयसिन्धुः)

“त्रिमुखिरुद्राक्ष साक्षात् अग्निस्वरूप हो। यी जसका शरीरमा रहन्छन् यिनले पापहरुलाई त्यसरी नै विनष्ट गर्दिन्छन् जसरी अग्निले इन्धन जलाउँदछन्। स्त्री हत्या, ब्रह्महत्या तथा अनेक व्यक्तिका हत्या गर्नाले जो पाप हुन्छ ती सबै पापलाई यी रुद्राक्षले विनष्ट गर्दिन्छन्।

अग्निहोत्रको समयमा अग्निमा घ्यूको आहुति दिँदा जे फलको प्राप्ति हुन्छ धीर व्यक्ति त्यही फल तथा अनन्त स्वर्गलाई यी रुद्राक्ष धारण गर्नाले प्राप्त गर्दछन्। यस तीनमुखी रुद्राक्ष जसले धारण गर्दछ उनी श्रीब्रह्माजीको समान हुन पुग्दछन्।

उनको जन्मजन्मान्तरको अर्जित पापलाई यी रुद्राक्षले भस्म गर्दिन्छन्। उनको पेटमा कुनै रोग रहन्न र उनी मूर्ख हुन्नन्। उनको कहिल्यै पराजय हुन्न तथा उनको घरमा कहिल्यै आगो लाग्दैन। यी सबका अतिरिक्त उनका घरमा बिजुली/चट्ट्याङ् आदि गिर्दैन। तीनमुखी रुद्राक्ष धारण गर्नेवालाको अकल्याण नै हुँदैन। (श्रीपद्ममहापुराण)

तीनमुखी रुद्राक्ष निष्कर्ष :  त्रिवक्त्र रुद्राक्ष साक्षात् अग्नि(अग्नित्रय)स्वरूप भनिएको छ। धारण गर्दा उहाँका कृपा अनि यो कुरामा थपेर महिमा अरू, माथि शास्त्रहरूबाट अझै धेरै कुरा ज्ञानलाभको रूपमा प्राप्त हुन गएको छ।

चारमुखी रुद्राक्षः

“चतुर्वक्त्र(चारमुखी) रुद्राक्ष चाहीँ श्रीचतुर्मुखी ब्रह्माजीको स्वरूप हो। यिनलाई धारण गर्नाले भगवान् चतुर्मुख सदैव प्रसन्न रहनुहुन्छ, पहिरिने भक्तलाई चतुर्मुखी ब्रह्माजीको आशीर्वाद प्राप्त हुन्छ। (श्रीरुद्राक्षजाबाल उपनिषत्)

श्रीमद्देवीभागवतमा गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “चारमुखवाला रुद्राक्षले नरवधजनित पापलाई दूर गर्दछन्”, भनेर यस चारमुखवाला रुद्राक्षको थप महत्ता जोड्नुभएको छ।

“चारमुखी रुद्राक्ष साक्षात् ब्रह्माको रूप हो र ब्रह्महत्याको पापबाट मुक्ति दिनेवाला हो जसको दर्शन र स्पर्शले शीघ्र नै धर्म, अर्थ, काम र मोक्ष – यी चारै पुरुषार्थको प्राप्ति हुन्छ। (श्रीशिवमहापुराण)

“चतुर्मुखिरुद्राक्ष श्रीब्रह्माजीस्वरूप हुन्। यिनलाई धारण गर्दा महान् वैभव, अत्यन्त उत्तम आरोग्य तथा विशद ज्ञान-सम्पदाको प्राप्ति हुन्छ। मनुष्यलाई आत्मशुद्धिका लागि यिनलाई धारण गर्नुपर्दछ। (श्रीमद्देवीभागवतम्)

“चारमुखवाला रुद्राक्ष स्वयम् ब्रह्माजी नै हुनुहुन्छ जसले मनुष्यको ब्रह्महत्या दूर गर्दछन्। (निर्णयसिन्धुः)

“चतुर्मुखी रुद्राक्ष स्वयं ब्रह्माजी स्वरूप हुन्छ, यी रुद्राक्ष जसका शरीरमा रहन्छन् ती सबै शास्त्रहरूका ज्ञाता वेदज्ञहरूमा श्रेष्ठ हुन्छन्। ती सबै धर्म र अर्थका तत्त्वको जान्नेवाला तथा स्मार्त पौराणिक हुन्छन्। मनुष्यलाई मार्नाले तथा घरमा धेरै जीवहरूलाई मार्नाले हुन गएको पाप यी रुद्राक्षले शीघ्र नै भस्म गर्दिन्छन्। (श्री पद्ममहापुराण)

चारमुखी रुद्राक्ष निष्कर्ष : चतुर्मुखी रुद्राक्ष श्रीचतुर्मुखी ब्रह्माजीको स्वरूप। अनि मुख्य यो कुरामा थपेर यिनलाई धारण गर्दाको माहात्म्य र अरू धेरै ज्ञानमयी कृपा माथि उल्लिखित शास्त्रहरूबाट प्राप्त हुन गएको छ।

पाँचमुखी रुद्राक्षः

“पञ्चवक्त्र(पाँचमुखी) रुद्राक्ष श्रीपञ्चब्रह्मको प्रतीक रूप हो र पहिरिने भक्तले श्रीपञ्चब्रह्मको कृपाशीर्वाद प्राप्त गर्दछन्। यिनलाई धारण गर्नाले स्वयम् पञ्चानन भगवान् शिवले मनुष्यवध-नरहत्याको पापबाट मुक्ति दिनुहुन्छ। (श्रीरुद्राक्षजाबाल उपनिषद्)

(श्रीपञ्चब्रह्म-भगवान् शिव-भगवान् श्रीपशुपतिनाथका पाँच श्रीमुख; श्रीसद्योजात पश्चिम दिशाका श्रीमुख, श्रीवामदेव उत्तर दिशाका श्रीमुख, श्रीअघोर दक्षिण दिशाका श्रीमुख, श्रीतत्पुरुष पुर्वदिशाका श्रीमुख र श्रीईशान (आकाशात्मक, अव्यक्त) श्रीमुख। जुन श्रीईशान श्रीमुख हुनुहुन्छ, उहाँको दर्शन दुर्लभातिदुर्लभ साधक-महात्मालाई पनि दुर्लभ बताइएको छ।)

“पाँचमुखी रुद्राक्ष साक्षात् कालाग्निरुद्र रूप हो जुन सबथोक गर्नमा समर्थ, सबैलाई मुक्ति दिनेवाला तथा सम्पूर्ण मनोवान्छित फल प्रदान गर्नेवाला हो। (श्रीशिवमहापुराण)

श्रीमद्देवीभागवतमा गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “पाँचमुखी रुद्राक्ष धारण गर्नाले मनुष्य अभक्ष्य भक्षणबाट उत्पन्न हुनेवाला तथा अगम्या गमन गर्दा लाग्ने सबै प्रकारको पापहरूबाट मुक्त हुने”, भनी थप प्रकाश पार्नु भएको छ।

“पाँचमुखवाला रुद्राक्ष ‘कालाग्नि’ कहिन्छ। यिनले अगम्य गमन र अभक्ष भक्षणका पापहरूलाई नाश गर्दछन्। (निर्णयसिन्धुः)

“उनीसँग शङ्करजी सधैँ सन्तुष्ट रहनुहुन्छ, र उनी सबै जीवका स्वामी हुन्छन् पञ्चवक्त्र रुद्राक्ष धारण गर्नेवाला। सद्योजात, ईशान, तत्पुरुष, अघोर तथा वामदेव यी पाँच देवता पाँचमुखी रुद्राक्षमा रहनुहुन्छ। अतएव पञ्चमुखी रुद्राक्ष सर्वत्र पृथिवीमा अधिक मात्रामा उपलब्ध हुन्छन्।

यी रुद्रका पुत्र स्वरूप अतएव यिनलाई धारण गर्नुपर्दछ। करोडहजार कल्प तथा सयकडौँ हजार कल्प सम्म यिनलाई धारण गर्नेवाला शिवको समक्ष पूज्य हुन्छन्। उनी भूलोकमा सार्वभौम राजा हुन्छन् तथा शिवलोकमा पुगेर शिवको तेजले सम्पन्न हुन्छन्। अतएव सबै प्रयत्न द्वारा पञ्चवक्त्र रुद्राक्ष धारण गर्नुपर्दछ। (श्री पद्ममहापुराण)

पाँचमुखी रुद्राक्ष निष्कर्ष : पञ्चवक्त्र रुद्राक्ष पञ्चब्रह्म भगवान् श्री पशुपातिनाथ-पञ्चानन भगवान् शिव वा भगवान् श्रीकालाग्निरुद्र अनि धारकलाई उहाँका आशीर्वाद। अनि यी रुद्राक्षका अरू गुण र यिनलाई धारण हुँदाका अझै धेरै पुण्यलाभ माथि अङ्कित विभिन्न शास्त्रादि ग्रन्थबाट ज्ञानरूपी कृपा !

छमुखी रुद्राक्षः
“षड्वक्त्र(छमुखी) रुद्राक्ष श्रीकार्तिकेयजीको स्वरूप हो र धारण गर्ने भक्तको श्रीमहालक्ष्मी, महैश्वर्य, महदारोग्य प्राप्त हुन्छ, मति-विज्ञान-सम्पत्ति शुद्धिने हुन्छ भने मनिषीगणले गणपति देवता श्रीविनायकजीको रूप मान्दछन् र धारकको समस्त विघ्न नाश हुने मान्दछन्। त्यसैले बुद्धिमान् मनुष्यले विद्या, बुद्धि र धनको शुद्धिकालागि यिनलाई धारण गर्नुपर्दछ। (श्रीरुद्राक्षजाबालोपनिषत्)

“षड्मुख रुद्राक्ष श्रीकार्तिकेयजीको स्वरूप हो। यदि दाहिने बाहुमा धारण गरिन्छ भने धारण गर्नेवाला मनुष्य ब्रह्महत्या आदि पापहरूबाट मुक्त हुन पुग्दछन्; यसमा शङ्का छैन। (श्री शिवमहापुराण)

“छमुखी रुद्राक्षका अधिदेवता श्रीकार्तिकेयजी हुनुहुन्छ र कोही मनीषिगण श्री विनायक गणेशलाजीई पनि यी रुद्राक्षका देवतारूपमा बताउनुहुन्छ। (श्रीमद्देवीभागवतम्)

“छमुखवाला रुद्राक्ष ‘गुह’ संज्ञा हुन्छ। यी रुद्राक्षले भ्रूणहत्या आदिको नाश गर्दछन्। (निर्णयसिन्धुः)

“छमुखी रुद्राक्ष भगवान् कार्तिकेयजी स्वरूप हुन्छ र दाहिने भुजामा धारण गर्नेवाला ब्रह्महत्या आदिका पापबाट मुक्त हुन्छ। कल्पको अन्त्यमा ती व्यक्ति श्रीस्कन्दजीकै समान शूरवीर हुन्छन्। उनको कतै पनि पराजय हुन्न, उनी गुणहरूका आकर हुन्छन्।

उनी गौरीश नन्दन कै समान कुमारत्वलाई प्राप्त हुन्छन्। यी रुद्राक्षलाई धारण गर्नेवाला हरेक वर्णका आ-आफ्ना कर्म-कार्यमा परिपूर्ण-भरिपूर्ण हुन्छन्। उनलाई वरदात्री गौरी, आमा समान सुलभ हुनुहुन्छ। त्यस पश्चात् आफ्ना भुजाको बलले नै सम्पूर्ण तेजले सम्पन्न ती मनुष्य सभामा, राजगृह तथा संसदमा वाग्मी(बोल्नमा निपुण) तथा धैर्य सम्पन्न हुन्छन्। उनमा न कायरता आउँछ न उनी हतोत्साही हुन्छन्। यी सबै गुण छ मुखी रुद्राक्ष धारण गर्दा आउँछन्। (श्रीपद्ममहापुराण)

छमुखी रुद्राक्ष निष्कर्ष : षड्वक्त्र रुद्राक्ष भगवान् श्रीकार्तिकेयजी। र, थपमा यी रुद्राक्ष धारण हुँदा उहाँका र अरू थपिएर प्राप्त हुने कृपाशीर्वाद माथि इङ्गित विभिन्न ग्रन्थबाट प्रकाश !

सातमुखी रुद्राक्षः
“सप्तवक्त्र(सातमुखी) रुद्राक्ष सप्तमात्रा – ब्राह्मी, वैष्णवी आदि सात मातृशक्ति-देवी भगवतीहरूको रूप मानिन्छ, उहाँहरू सबैको एउटै प्रतीक हो सातमुखी रुद्राक्ष, र यिनलाई पवित्र रहेर धारण गर्नाले विशाल श्री ऐश्वर्य, उत्तम सुस्वास्थ्य, महदारोग्य, महान् ज्ञानको द्वार खुल्ने, सबैकुरामा शुचिता(चोखोपन; शुद्धता; पवित्रता)को प्राप्ति हुने कृपा प्राप्त हुन्छ। (श्रीरुद्राक्षजाबाल उपनिषद्)

“हे महेश्वरि ! सातमुखी रुद्राक्ष अनङ्ग नामले प्रसिद्ध हो। जुन धारण गर्दा दरिद्र पनि ऐश्वर्यशाली हुन पुग्दछन्। (श्री शिवमहापुराण)

श्रीमद्देवीभागवतमा गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई

“अनङ्ग नामवाला सातमुखी रुद्राक्ष महाभाग्यशाली कामदेवको रूप हो। यस सातमुखवाला रुद्राक्ष धारण गर्दा स्वर्णको चोरी आदि पापहरूबाट मुक्त हुन्छन्।”, भनी महत्त्व थपेर बुझाउनुभएको छ।

“सातमुखी रुद्राक्षका अधिदेवता सात मातृकाहरू हुनुहुन्छ। यी रुद्राक्षका अधिदेवता सूर्य तथा सप्तर्षी पनि हुनुहुन्छ। यिनलाई धारण गर्दा विपुल सम्पदा, उत्तम आरोग्य तथा महान् ज्ञान-राशिको प्राप्ति हुन्छ। पवित्र भएर मात्रै मनुष्यले यिनलाई धारण गर्नुपर्दछ। (श्रीमद्देवीभागवत)
“सातमुखवाला रुद्राक्षको ‘अनन्तसंज्ञा’ हुन्छ जसले सुवर्ण चोरी आदिको पाप हरण गर्दछन्। (निर्णयसिन्धुः)

“सप्तमुखी रुद्राक्ष महासेन अनन्त नामक नागराज स्वरूप हुन्छन्। यिनी रुद्राक्षका प्रत्येक वक्त्रमा अलग-अलग नागहरूका निवास हुन्छन्। अनन्त, कर्कट, पुण्डरिक, तक्षक, विषोल्वण, करीष र शङ्खचूड; यी महाबलवान् सात नाग सप्तमुखी रुद्राक्षमा व्यवस्थित छन्।

यिनी रुद्राक्ष धारण गर्दा मात्र शरीरमा कहिल्यै पनि विष(विषाक्त-विषम अवस्था) व्याप्त हुन्न, उसरी जसरी नागेश्वर शिवजीमा विष व्याप्त हुन्न। यिनको प्रसन्नताका कारण सबै पाप प्रतिदिन विनष्ट हुन्छन्। ब्रह्महत्या, चोरी तथा गुरुका शैय्यामा सुत्दा उत्पन्न हुने पाप तत्क्षण नष्ट हुन पुग्दछन्। उनी त्रैलोक्यमा देवता कै समान भोगहरूलाई प्राप्त गर्दछन्। (श्रीपद्ममहापुराण)

सातमुखी रुद्राक्ष निष्कर्ष : सप्तवक्त्र रुद्राक्ष श्रीसप्तमातृका र शुभेच्छा प्रदायक श्रीकामदेव, अनङ्ग नामवाला महाभाग्यशाली श्रीकामदेव स्वरूप, महासेन अनन्त नामक नागराज, उहाँहरूबाट प्रेम र कृपाको वर्षा। अनि थप अन्य महत्ता माथि शास्त्रमा उल्लेख गरिएका छँदै छन्।

आठमुखी रुद्राक्षः

“अष्टवक्त्र(आठमुखी) रुद्राक्ष अष्टमात्राको प्रतीक हो, आठ माताहरूको स्वरूप हो, एवम् यी रुद्राक्ष आठ वसुहरूको पनि प्रिय मानिएको छ। गङ्गाजीलाई पनि प्रीतिकारक हो। त्यसैले धारण गर्ने सत्यवादी मनुष्यलाई अष्टमातृका, अष्टवसु र गङ्गाजीले प्रीति गर्नुहुन्छ, उनी उपर यी तीनै प्रसन्न हुनुहुन्छ। यी देवी देवताका आशीर्वाद प्राप्त हुँदा ती सत्यवादी भक्त अझ दृढ सत्यवान् र निष्ठावान् हुन पुग्दछन्। (श्रीरुद्राक्षजाबाल उपनिषत्)

“आठमुखी रुद्राक्ष अष्टमूर्ति भैरवस्वरूप हो जसलाई धारण गर्नाले मनुष्य पूर्णायु हुन पुग्दछन् र मृत्यु पश्चात् शूलधारी शङ्कर हुन पुग्दछन्। (श्रीशिवमहापुराण)

श्रीमद्देवीभागवतमा गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “आठ मुखवाला रुद्राक्ष साक्षात् विनायक देव हुन्। यी रुद्राक्ष धारण गर्दा अन्न, वस्त्र तथा स्वर्ण आदिको विपुल मात्रामा प्राप्ति हुन्छ। धारण गर्दा यो रुद्राक्षले गम्भीर पापहरूलाई नष्ट गर्दछन्। धारण गर्नेवाला व्यक्तिको धेरै विघ्नवाधा नष्ट हुन्छन् तथा अन्त्यमा परमपदलाई प्राप्त हुन्छ।”, भनेर ठुलो महत्त्व जोड्नुभएको छ।

“आठमुखी रुद्राक्षका अधिदेवता अष्टमातृकाहरू हुनुहुन्छ। यो शुभ रुद्राक्ष आठै वसुहरू तथा गङ्गाजीलाई प्रीतिकर हो। यिनलाई धारण गर्दा सत्यवादी देवता प्रसन्न हुनुहुन्छ। (श्रीमद्देवीभागवत)

“आठमुखवाला रुद्राक्षको ‘विनायकसंज्ञा’ हुन्छ। यिनले सबै मिथ्याभाषणरूपी पापहरूका नाश गर्दछन्। (निर्णयसिन्धुः)

“आठमुखवाला रुद्राक्ष साक्षात् श्रीगणेशजी स्वरूप हुन्छन्। यिनलाई धारण गर्दा प्राप्त हुने पुण्य-फलमा व्यक्ति कुनै पनि जन्ममा न त ऊ मूर्ख हुन्छ, न रोगी हुन्छ, कहिल्यै पनि उनको कार्यमा कुनै पनि विघ्न आउन्नन्। लेखनको कार्यमा उनलाई निपुणता प्राप्त हुन्छन् तथा सबै कार्य गर्नमा उनी कुशल हुन्छन्। अनेक जघन्य पाप आठमुखी रुद्राक्ष धारण गर्नाले तत्काल विनष्ट हुन्छन्। उनी अक्षय स्वर्गलोकलाई भोग गरेर मुक्त हुन पुग्दछन्। (श्रीपद्ममहापुराण)

आठमुखी रुद्राक्ष निष्कर्ष : अष्टमुखी रुद्राक्ष मुख्य चाहीँ अष्टमात्रा, आठ वसु, अष्टमूर्ति भैरव, श्रीविनायक गणेशजी – उहाँहरूबाट कृपा अनि बाँकी थपेर महत्त्व माथि विभिन्न शास्त्रादि ग्रन्थको उल्लेख।

नौमुखी रुद्राक्षः

“नववक्त्र(नौमुखी) रुद्राक्ष श्री नवशक्तिको देवता भनिएको छ। यी रुद्राक्षको दर्शन मात्रले नव शक्तिहरू प्रसन्न हुन पुग्नुहुन्छ। र, धारण गर्ने भक्त नवशक्तिका प्रिय भई उहाँहरूका कृपा-आशीर्वाद प्राप्त गर्दछन्। (श्रीरुद्राक्षजाबालोपनिषत्)

“नौमुखी रुद्राक्ष भैरव तथा कपिलमुनिको प्रतीक मानिएको छ अथवा नौ रूप धारण गर्नुहुने महेश्वरी दुर्गा नौ मुखी रुद्राक्ष धारण गर्ने व्यक्तिको अधिष्ठात्री देवी मानिनुहुन्छ। जो मनुष्य भक्तिपरायण भएर नौ मुखी रुद्राक्ष आफ्नो देब्रे भुजामा धारण गर्दछन् उनी निश्चय नै मेरो समान सर्वेश्वर हुन पुग्दछन्; यसमा संशय छैन। (श्रीशिवमहापुराण)

श्रीमद्देवीभागवतमा पनि गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई यही कुरा बताउनुभएको छ। र, अझ अगाडि थप महिमामा “यो रुद्राक्ष भोग तथा मोक्ष दिनेवाला बताइएको छ। यिनलाई धारण गर्नेवाला मेरो समान बलवान् हुन पुग्दछन्। हजारौँ भ्रूणहत्या तथा सयकडौँ ब्रह्महत्याको पाप यी नौमुखी रुद्राक्षलाई धारण गर्नाले शीघ्र नै नष्ट हुन पुग्दछन्।”, भनेर श्रीभगवान् बाट थप व्यक्त भएको छ।

“नौमुखी रुद्राक्ष साक्षात् यमदेवको तुल्य मानिएको छ। यिनलाई धारण गर्दा यमको कुनै भय रहन्न। (श्रीमद्देवीभागवत)

“नौमुखवाला रुद्राक्षको ‘भैरव’ संज्ञा हुन्छ। जो शिवसायुज्यतालाई गराउनेवाला हुँदछन्। (निर्णयसिन्धुः)

“नवमुखी रुद्राक्ष भैरव स्वरूप हुन्। यिनलाई जसले आफ्ना भुजाहरूमा धारण गर्दछन्, यी कपिलवर्णका मुक्तिप्रद रुद्राक्ष धारण गर्नेवाला मेरै समान बलवान् हुन्छन्। लाख करोड ब्रह्महत्या गर्नेवालाको पनि पापहरूलाई नवमुखी रुद्राक्षले तत्क्षण नै भस्म गर्दिन्छन् अनि देवलोकमा देवता उनलाई इन्द्रको समान पूजा गर्दछन्। भगवान् शङ्करजी कै समान उनी श्रेष्ठ गृहमा स्थित गणेश हुन पुग्छन्। (श्रीपद्ममहापुराण)

नौमुखी रुद्राक्ष निष्कर्ष : नवमुखी रुद्राक्ष मुख्यतया नवशक्ति, महेश्वरी दुर्गा, भैरव, कपिलमुनि र यमदेव – उहाँहरू सबैका आशीर्वाद रूपी कृपा र थपमा माथि शास्त्रका दिव्य ज्ञान।

दशमुखी रुद्राक्षः

“दशवक्त्र(दशमुखी) रुद्राक्ष योगीहरूले प्रयोग गरेका दश यम माध्यमहरूका संयुक्त स्वरूप हो, यम देवताको स्वरूप मानिएको छ, यी रुद्राक्षलाई। यिनको पनि दर्शन मात्रले यी शान्ति दिनेवाला हुन्छन् भने धारण गर्ने भक्तका दशा शान्त रही मनको शान्ति प्राप्त हुने आशीर्वाद प्राप्त हुन्छ नै, शान्ति मिल्छ नै। यसमा कुनै सन्देह छैन। (श्रीरुद्राक्षजाबाल उपनिषद्)

श्रीमद्देवीभागवतमा गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “दशमुखी रुद्राक्ष साक्षात् देवेश्वर जनार्दन हुनुहुन्छ। यिनलाई धारण गर्नाले ग्रह, पिशाच, बेताल, ब्रह्म राक्षस तथा पन्नगहरू(सर्पहरू)बाट उत्पन्न हुनेवाला विघ्न शान्त हुन्छन्।”, भनी महत्ता थप्नुभएको छ।

“हे महेश्वरि ! दशमुखी रुद्राक्ष साक्षात् श्रीभगवान् विष्णुको रूप हो र धारण गर्दा मनुष्यका सम्पूर्ण कामनाहरू पूर्ण हुन पुग्दछन्। (श्रीशिवमहापुराण)

“दशमुखी रुद्राक्षका देवता दशै दिशाहरू बताइएको छ। यिनलाई धारण गर्दा मनुष्य दशै दिशाहरूकालागि प्रीतिजनक हुन्छ, यसमा सन्देह छैन। (श्रीमद्देवीभागवत)

“दशमुखवाला रुद्राक्षको ‘विष्णु’ संज्ञा हुन्छ। यी रुद्राक्ष भूतप्रेतका भयलाई हटाउँदछन्। (निर्णयसिन्धुः)

दशमुखी रुद्राक्ष निष्कर्ष : दशमुखवाला रुद्राक्ष साक्षात् देवेश्वर जनार्दन भगवान् विष्णु, योगीहरूले प्रयोग गरेका दश यम माध्यम, दशै दिशा अनि माथि शास्त्रबाट उल्लिखित प्राप्त हुने उहाँहरू सम्बन्धित कृपा।

एघारमुखी रुद्राक्षः

“एकादशवक्त्र रुद्राक्ष एकादश रुद्रको स्वरूप भनिएको छ। एकादश रुद्र सदैव सौभाग्यलाई बढाउनेवाला हुनुहुन्छ। अनि धारण गर्ने वाला भक्तले सदा सौभाग्यको वर्धन प्राप्त गर्दछन्, क्षेम(१.आनन्द; सुख २. मुक्ति ३. रक्षा; सुरक्षा ४. सन्चोसुबिस्ता; कुशलमङ्गल)को श्रीवृद्धि(ऐश्वर्य तथा सम्पत्तिको बढोत्तरी; उन्नति।) र श्रीरूपी कृपा प्राप्त गर्दछन्। (श्री : १. ऐश्वर्य, श्रीमहादेवी लक्ष्मी, २. विद्या तथा गुणकी प्रतीक श्रीमहादेवी सरस्वती, ३. विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिका शक्ति वा पूर्णताबाट झल्कने शोभा; कान्ति; दीप्ति।) (श्रीरुद्राक्षजाबाल उपनिषत्)

“हे परमेश्वरि ! एकादशमुखी जो रुद्राक्ष छ, रुद्र रूप हो जसलाई धारण गर्नाले मनुष्य सर्वत्र विजयी हुन पुग्दछन्। (श्रीशिवमहापुराण)

श्रीमद्देवीभागवतमा पनि गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई एघारमुखी रुद्राक्ष साक्षात् एकादश रुद्र बताउँदै अगाडि थप महत्त्वमा यसरी ज्योति दिनुभएको छ – “यी रुद्राक्षलाई शिखामा धारण गर्नाले मनुष्यलाई हजारौँ ठुला यज्ञ गर्दा अनि सम्यकरूपले लाखौँ गाईदान गर्दा जे फल प्राप्त गर्छन्, उनले एघारमुखी रुद्राक्ष धारण गर्दा शीघ्र नै प्राप्त गर्छन्।”

“एघारमुखवाला रुद्राक्षका अधिदेवता एकादश रुद्र हुनुहुन्छ। कोही व्यक्ति इन्द्रदेवलाई पनि निरन्तर सौख्यको वृद्धि गर्नेवाला यस रुद्राक्षका देवता भन्नुहुन्छ। (श्रीमद्देवीभागवत)

“एकादशमुखी रुद्राक्षलाई ‘रुद्र’ भनिन्छ। एघारमुखी रुद्राक्ष अनेक प्रकारका यज्ञका फल दिनेवाला हुन्छन्। (निर्णयसिन्धुः)

“हे वत्स ! एघारमुखी रुद्राक्षमा एघार रुद्रहरूको निवास हुन्छ। हजारौँ, सयकडौँ करोड अनेक यज्ञहरू गर्दा तथा विधिपूर्वक एक लाख गाईहरूको दान गर्दा जुन फलको प्राप्ति हुन्छ, त्यस फलको प्राप्ति एकादश वक्त्र रुद्राक्ष धारण गर्दा हुन्छ, यी धारण गर्ने ती व्यक्ति मनुष्यलोकमा भगवान् शिवजीको समान हुन पुग्छन्, उनको पुनर्जन्म हुन्न। (श्रीपद्ममहापुराण)

एकादशवक्त्र रुद्राक्ष निष्कर्ष : एकादशमुखी रुद्राक्ष एकादश रुद्र र इन्द्रदेव अनि माथि शास्त्रहरूमा बताइए अनुसार यिनलाई धारण गर्दा भक्त उपर उहाँहरूका प्रीति, कृपा र आशीर्वाद।

बाह्रमुखी रुद्राक्षः

“द्वादशवक्त्र रुद्राक्ष श्री महाविष्णुको स्वरूप मानिएको छ। यिनी रुद्राक्षलाई द्वादश आदित्यको रूप पनि मानिन्छ। यिनलाई धारण गर्ने व्यक्ति भगवान् विष्णुपरायण र श्रीआदित्यपरायण भईजान्छन्। र, अगाडि यिनलाई धारण गर्ने भक्तले फल-तत्परता तथा तत्-देवतासँगको मिलन, मोक्षको आशीर्वाद प्राप्त गर्दछन्। (श्रीरुद्राक्षजाबालोपनिषद्)

“द्वादशमुखी रुद्राक्ष केशप्रदेशमा धारण गर्नु। यीनलाई धारण गर्दा मानौँ बाह्रै आदित्य विराजमान हुन पुग्नुहुन्छ। (श्रीशिवमहापुराण)

श्रीमद्देवीभागवतमा पनि गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “बाह्र मुखी रुद्राक्ष कानमा धारण गर्नाले द्वादश आदित्य प्रसन्न हुनुहुने किनभने उहाँ रुद्राक्षको बाह्रौँ मुखमा विराजमान रहनुहुन्छ। सिङ्गवाला जनावर, व्याघ्र आदि हिंसक पशुहरू तथा शस्त्रधारी शत्रुहरूको भय हुन्न।

धारण गर्नेवाला उनलाई शारीरिक तथा मानसिक कष्टको पनि भय हुन्न। उनलाई कुनै किसिमको रोग हुन्न तथा कहीँबाट पनि कुनै पनि किसिमको भयबाट ग्रस्त नरहँदै सदा सुख तथा ऐश्वर्य सम्पन्न रहन्छन्। द्वादशमुखी रुद्राक्ष धारण गर्नेवाला मानव हात्ती, घोड़ा, मृग, बिरालो, सर्प, मुसा, भ्यागुता, गर्दभ(गधा), कुकुर, स्याल तथा अनेक प्रकारका जनावरहरू मार्दा लाग्ने पापबाट मुक्त हुन पुग्दछन्, यसमा संशय छैन।”

“बाह्रमुखी रुद्राक्ष महाविष्णु स्वरूप हो। यी रुद्राक्षका अधिदेवता बाह्र सूर्य हुनुहुन्छ। यी देवगणले यिनी रुद्राक्षलाई धारण गर्नेवालाको सदा भरण-पोषण गर्नुहुन्छ। (श्रीमद्देवीभागवत)

“बाह्र मुखवाला रुद्राक्ष ‘आदित्य’ (सूर्य) नामको हुन्छ। यी रुद्राक्ष सब प्रकारका रोगहरूलाई हटाउनेवाला हुन्छन्। (निर्णयसिन्धुः)

“यदि कोही मनुष्य आफ्ना गलामा द्वादशमुखी रुद्राक्षलाई धारण गर्दछन् त त्यसले श्रीआदित्यको तुष्टि हुन्छ। यिनी रुद्राक्षमा द्वादशादित्यको निवास हुन्छ। बाह्रमुखी रुद्राक्ष धारण गर्ने व्यक्तिलाई वज्रपात इत्यादि हुन्न। उनकामा अग्नि र रोगको भय हुन्न।

उनलाई दरिद्रता हुन्न, उनले अर्थलाभ गरेर सुखभोग गर्दछन्, ईश्वर नै हुन्छन्। हात्ती, घोडा, मानिस, बिरालो, मुसा, खरायो, सर्प, दाँतवाला जीव शृगाल(स्याल) इत्यादि जनावर हत्या व्यक्तिबाट भएको छ भने यी पापबाट निःसन्देह रूपले मुक्त हुन्छन्। यो द्वादशमुखी रुद्राक्ष धारणको फल हो। (श्रीपद्ममहापुराण)

बाह्रमुखी रुद्राक्ष निष्कर्ष : द्वादशवक्त्र रुद्राक्ष श्रीमहाविष्णु र श्रीद्वादशादित्य। अनि माथि शास्त्रहरूमा बताइए अनुसारका यी रुद्राक्ष धारण गर्दा प्राप्त हुने यिनका अधिदेवताका कृपाशीर्वाद।

तेह्रमुखी रुद्राक्षः

“त्रयोदशवक्त्र(तेह्र मुखी) रुद्राक्ष सबै मनोरथहरूलाई पूर्ण गर्नेवाला, मङ्गलकारी र सिद्धिदायक मानिएको छ। यी रुद्राक्ष कामदेवको स्वरूप प्रतीक हो र धारण गर्दामात्र पनि श्रीकामदेव प्रसन्न हुनुहुन्छ र धारण गर्ने भक्तले कामदेवको कृपाबाट सम्पूर्ण शुभ इच्छा/कामना पूर्ति हुने आशीर्वाद प्राप्त गर्दछन्। तेह्रमुखी रुद्राक्ष धारण मात्रले धारक उपर श्रीकामदेव प्रसन्न हुनुहुन्छ। (श्रीरुद्राक्षजाबालोपनिषत्)

“तेह्र मुखी रुद्राक्ष विश्वेदेवहरूको स्वरूप हो जसलाई धारण गरेर मनुष्य सम्पूर्ण अभीष्टहरूलाई प्राप्त गर्दछ र सौभाग्य र मङ्गललाभ गर्दछन्। (श्रीशिवमहापुराण)

श्रीमद्देवीभागवतमा पनि गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “त्रयोदशमुखी रुद्राक्ष कार्त्तिकेय सदृश जान्नु पर्दछ। यिनले सबै प्रकारका कामना, अर्थ तथा सिद्धिहरू दिनेवाला हुन्। धारण गर्नेवालालाई रस-रसायन- सब थोक सिद्ध हुन पुग्दछन् तथा समस्त प्रकारको भोग्य-पदार्थ उनलाई प्राप्त हुन पुग्दछन्, यसमा सन्देह गर्न हुन्न। आफन्तजनको वध गर्नेवाला व्यक्ति पनि यी रुद्राक्षको धारण गर्दामात्र समस्त पापहरूबाट मुक्त हुन पुग्दछन्।

“तेह्र मुखवाला रुद्राक्ष समस्त मनोरथहरूलाई पूर्ण गर्नेवाला, सिद्धिहरू प्रदान गर्नेवाला तथा कल्याण गर्नेवाला हुन्। यिनलाई धारण गर्दामात्र श्रीकामदेव प्रसन्न हुनुहुन्छ। (श्रीमद्देवीभागवत)

“तेह्रमुखवाला रुद्राक्षको ‘काम’ संज्ञा हो। जो चाहीँ सब शुभ कामना-इच्छाहरूको फल दिनेवाला हुन्छन्। (निर्णयसिन्धुः)

“यदि त्रयोदशमुखी रुद्राक्ष भेटियो भने यी साक्षात् रुद्रस्वरूप हुन्। यिनलाई सर्वाधिक शान्तिप्रद र सबै कामनाका पूर्ण गर्नेवाला जान्नु पर्दछ। हे षण्मुख ! यी रुद्राक्ष धारण गर्नेवाला व्यक्तिको अमृत रसायन, धातुवाद तथा पादुका यी सबका सब सिद्ध हुन्छन्। (श्रीपद्ममहापुराण)

तेह्रमुखी रुद्राक्ष निष्कर्ष : त्रयोदशवक्त्र रुद्राक्ष शुभेच्छा पूर्ण गर्नेवाला श्रीकामदेव, श्री रुद्र, विश्वेदेवहरू र श्री कार्त्तिकेयजी अनि यी रुद्राक्ष धारक उपर यिनका अधिदेवताका कृपा र माथि ग्रन्थहरूले बताए अनुसारका थपिएर कृपाशीर्वाद।

चौधमुखी रुद्राक्षः

“चतुर्दशवक्त्र(चौध मुखी) जो रुद्राक्ष छन् परम शिवरूप हो जसलाई भक्तिपूर्वक शिरमा धारण गर्नु, यसले सम्पूर्ण पापहरूको नाश हुन्छ। (श्रीशिवमहापुराण)

श्रीमद्देवीभागवतमा पनि गिरिशायी भगवान् रुद्रले श्रीषडानन स्कन्दकुमारजीलाई “चौध मुखवाला रुद्राक्ष भेटिएको खण्डमा यिनलाई निरन्तर आफ्मा मस्तकमा धारण गर्ने हो भने धारण गर्नेवालाको शरीर साक्षात् शिवतुल्य हुन्छ।”, भनी मर्जी भएको छ।

“चतुर्दशमुखी(चौध मुखी) रुद्राक्ष भगवान् श्री रुद्रको अक्षबाट समुद्भव हुँदै गर्नु भएको श्रीरुद्र स्वरूप हो। यी रुद्राक्ष सबै व्याधिहरूलाई दूर गर्नेवाला भएकाले धारण गर्ने भक्तले सम्पूर्ण व्याधी/रोगबाट मुक्त भई सर्वदा आरोग्यमा स्थित रहने कृपा प्राप्त गर्दछन्। (श्रीरुद्राक्षजाबाल उपनिषत्)

“चौधमुखवाला रुद्राक्ष भगवान् शङ्करको नेत्रबाट उत्पन्न हुन्। यी सबैप्रकारका व्याधिहरूलाई नष्ट गर्नेवाला तथा सर्वविध आरोग्य प्रदान गर्नेवाला हुन्। (श्रीमद्देवीभागवत)

“चौध मुखवाला रुद्राक्षको ‘श्रीकण्ठ’ नाम हो। यी रुद्राक्ष वंशको उद्धार गर्नेवाला हुन्। (निर्णयसिन्धुः)

“हे यत्स ! यदि कोही चतुर्दशमुखी रुद्राक्षलाई सदा शिर तथा भुजामा धारण गर्दछन् त ती शिवका शक्तिपिण्ड रुद्राक्ष हुन्छ। यी चौधमुखी रुद्राक्ष धारण गर्नेवालाको विषयमा बहुत के भन्नु, देवता सधैँ उनको पूजा गर्दछन्। अत्यधिक पुण्य हुँदा मात्र उक्त रुद्राक्ष प्राप्त हुन्छ। (श्रीपद्ममहापुराण)
चौधमुखी रुद्राक्ष निष्कर्ष : चतुर्दशवक्त्र रुद्राक्ष परम शिव, धारकको शरीर साक्षात् शिवतुल्य र श्रीरुद्र स्वरूप। अनि जोडेर यी रुद्राक्षका कृपा धारण गर्नेवालालाई माथि अङ्कित शास्त्रका व्याख्या भए अनुसार।

शास्त्रहरूमा स्वयम् भगवान् ले नै बखान गर्दा गर्दै पनि विराट महिमा जनाउन “मैले नै सकिनँ !” भन्दिनु भो। जसको अर्थ अवर्णनीय-अपरम्पार, अनन्त नै हो।
रुद्राक्ष फल यो मोक्षको साधन हो,
“शङ्करात्मक हुन् रुद्राक्षहरू” –

“साक्षात् भगवान् शङ्करकै आत्मस्वरूप महारुद्राक्ष” हो।
“ ‘रुद्राक्ष’-केवल यो नाम उच्चारण मात्रले ठुलो पुण्यफल प्राप्त हुने यही रुद्राक्ष ‘भस्मज्योति रुद्राक्ष’ कहिन्छ। झन् पूजन, धारण गरी साधनायुक्त हुँदा त अनन्त महिमा…”

अश्रुहरू भावना हुन्, भावनाका अभिव्यक्ति हुन्। हरपल जीवको कल्याणको मात्रै भावना राख्ने परम करुणामयी, करुणारूप, करुणामूर्ति श्रीआशुतोष भगवान् शिवको जीवलाई कल्याणका खातिर भावनाका अभिव्यक्ति – प्रेमोपहार हुन् रुद्राक्ष।

उपहार ! प्रेमका उपहार ! करुणै करुणाले भरिएका हुन् रुद्राक्ष, श्रीभगवान् का विभु-व्यापक कल्याणमयी करुणाको सघन केन्द्रिकृत अश्रु बिन्दुरूप हुन् रुद्राक्ष ! रुद्राक्ष शिवत्व प्राप्त गरी जीवनको कल्याणका लागि ! श्री शिव र शिवालाई अति प्रिय अक्षमाला यो रुद्राक्ष हो, यो सबै देवीदेवतालाई पनि प्रिय हो। दुःख मुक्त हुन, पुनर्जन्मरूपी दुःखालय यो-यसबाट मुक्त हुन रुद्राक्ष साधन यो। यो रुद्राक्ष शिव र जीव एकाकार हुन, जीव दिव्य ज्ञानमा उपलब्ध हुन, दिव्य ज्ञानरूप हुन। दिव्य ज्ञानस्वरूप हुन, मोक्षरूप हुन, शिव ज्ञानको साधन यो, मोक्षस्वरूप हुन रुद्राक्ष हो, महारुद्राक्ष हो, हो यो त्यही ‘भस्मज्योति रुद्राक्ष’ हो।

रुद्राक्ष:, महारुद्राक्ष:, ‘एष भस्मज्योती रुद्राक्षः’ ॥

अति प्राचीन नै हुन् दिव्यभूमि हाम्री श्रीनेपालमाता अनि प्राचीन नै हुन् रुद्राक्ष पनि !
जय होस् श्रीनेपालमाताको ! जय होस् महारुद्राक्ष !!!

श्रीभगवद् कृपाबाट प्राप्त सम्पूर्ण शास्त्रादि ग्रन्थ र स्रोतहरूमा हार्दिक नमन :-

श्री अक्षमालिका उपनिषद् (श्री अक्षमालोपनिषत्/अक्षमालिकोपनिषद्)
श्री रुद्राक्षजाबाल उपनिषत् (श्री रुद्राक्षजाबालोपनिषद्)
श्री बृहज्जाबालोपनिषद् (श्री बृहद्-जाबाल-उपनिषद्)
श्री भस्मजाबालोपनिषद् (श्री भस्मजाबाल उपनिषद्)
श्री रुद्रहृदयोपनिषत् (श्रीरुद्रहृदय उपनिषद्)
श्री रामरहस्य उपनिषद् (श्रीरामरहस्योपनिषत्)

उपनिषत्सञ्चयनम् (ईशाद्यष्टोत्तरशतोपनिषदः द्वितीयः खण्डः, प्रथम संस्करण, सन् २०१५, तृतीयः खण्डः, प्रथम संस्करण, सन् २०१४, चौखम्बा संस्कृत प्रतिष्ठान, दिल्ली)
१३५ उपनिषत्सङ्ग्रह —- वसन्तकुमार शर्म्मा ‘नेपाल’ (शब्दार्थ प्रकाशन, काठमाडौँ, नेपाल, प्रथम संस्करण : २०७०, वैशाख (रामनवमी))
उपनिषत्प्रसङ्ग १ —- वसन्तकुमार शर्म्मा ‘नेपाल’ (६० उपनिषद्सङ्ग्रह, नेपाली-संस्कृत (मूल सहित), भाभा प्रकाशन प्रा.लि., काठमाडौँ, नेपाल, संस्करण : दोस्रो वि.सं. २०७८(पूर्ण परिमार्जित))
उपनिषत्प्रसङ्ग २ —- वसन्तकुमार शर्म्मा ‘नेपाल’ (६१ उपनिषद्सङ्ग्रह, नेपाली-संस्कृत (मूल सहित), भाभा प्रकाशन प्रा.लि., काठमाडौँ, नेपाल, संस्करण : दोस्रो वि.सं. २०७८(पूर्ण परिमार्जित))
श्री शिवमहापुराण (प्रथम-खण्ड-पूर्वार्ध, वि.सं. २०७६, प्रथम संस्करण,
द्वितीय-खण्ड-उत्तरार्ध, वि.सं. २०७६, प्रथम संस्करण, गीताप्रेस गोरखपुर)

श्री स्कन्दमहापुराणम् (प्रथमं माहेश्वरखण्डम्, द्वितीय संस्करण, वि.सं. २०७६, तृतीयं ब्रह्मखण्डम्, द्वितीय संस्करण, वि.सं. २०७७, चौखम्बा संस्कृत सीरीज आफिस वाराणसी)

श्री पद्ममहापुराण (चौखम्बा संस्कृत सीरीज आफिस वाराणसी)

श्रीमद्देवीभागवतमहापुराणम् (प्रथम खण्ड, वि.सं. २०६७, प्रथम संस्करण, द्वितीय खण्ड, वि.सं. २०६७, प्रथम संस्करण, गीताप्रेस गोरखपुर)

नेपाल प्रज्ञा – प्रतिष्ठान नेपाली बृहत् शब्दकोष नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादी, काठमाडौँ (पुनर्मुद्रण – वि.सं. २०५०)
निर्णयसिन्धुः (सावित्री ठाकुर प्रकाशन, सन् २००८)

Shaiva Upanishads [Translated Into English (On The basis Of the Commentary Of Shree Upanishadbrahmayogin) by T.R. Srinivasa Ayyangar & Edited By G. Srinivasa Murti, The Adyar Library Series-No. 85, The Adyar Library 1953]

The 108 Upanishads

Upanishads [110] (Vedanta Spiritual Library)

Upanishads, Purans & Other Different Scriptures From Google :- shdvef.com (Shree Hindu Dharma Vedic Education Foundation), Internet Archive, scribd.com, sanskritdocuments.org
Wikipedia & Youtube.

“करचरणकृतं वाक्कायजं कर्मजं वा
श्रवणनयनजं वा मानसं वाऽपराधं।
विहितमविहितं वा सर्वमेतत् क्षमस्व।
जय जय करुणाब्धे श्रीमहादेव शम्भो ॥”

“नमः शिवायै च नमः शिवाय ॥”
“वन्दे महापुरुष ते ! चरणारविन्दम् ॥”

“…त्वमीश्वरी देवि चराचरस्य
…त्वमीश्वरी देवि चराचरस्य
…त्वमीश्वरी देवि चराचरस्य ॥”
श्रीराधा ॥
जय श्रीसीताराम ॥ जय श्रीहनुमान् ॥

सविनय निवेदनः रुद्राक्ष सम्बन्धी थोरै विस्तृत ज्ञप्ति सङ्कलन-लेखनको क्रममा जान-अन्जान बस कुनै पनि किसिमको त्रुटि हुन गएको खण्डमा श्रीआदरणीय सम्पूर्ण विद्वान् पाठकजन समक्ष यस एक अज्ञानी पङ्क्तिकार क्षमाको भावपूर्ण याचन गर्दै ज्ञानको मार्गनिर्देशका लागि विनम्र निवेदन अर्पण गर्दछ।
hrisheekeshdhakal@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *