शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं?

डिसी नेपाल
११ साउन २०८२ १९:३७
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन्।

काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्मस्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले वर्तमान राजनीतिक र प्रशासनिक प्रबृत्तिको आलोचना गरे।

उनले वर्तमान प्रशासकीय प्रणालीमा दलीय प्रभाव अत्याधिक बढेको उल्लेख गर्दै भने, ‘अहिले दलीय प्रशासकहरु यसरी हावी भएका छन्, त्यो कल्पना गर्नै सकिँदैन। कुन पार्टीको प्रशासक हो, त्यसको घरमा त जानुहुन्छ उहाँहरु। तर अरुको घरमा गएर केछ, कसो छ भनेर सोध्ने चलन हराइसकेको छ।’

बहुदलीय प्रणालीपछि केही हदसम्म अवस्था सुधारिएको भएपनि गणतन्त्रपछि प्रशासकहरुको शैली नै परिवर्तन भएको उनको भनाइ छ।

‘हामीले कस्तो देश बनाउन खोजेका हौं ? देशलाई के बनाउने हो ?’ भन्दै उनले राजनीतिज्ञहरुको नैतिकता गम्भीर रूपमा खस्किएको उल्लेख गरे।

कोइरालाले अहिले संसदमा घटिरहेका घटनाहरूलाई नियाल्दै संसदको स्तरसमेत खस्किएको बताएका छन्। उनले संसदभित्र ‘इथिक्स कमिटी’ गठन गर्नुपर्नेमा जोड दिंदै मन्त्रीहरूलाई आरोप लागेपछि जिम्मेवारी लिन तयार नहुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।

‘कुनै मन्त्रीमाथि चार्ज आउँछ भने उसले ‘म राजीनामा दिन्छु’ भनेर अगाडि बढ्दैन। त्यो आँट नै छैन अहिले,’ उनले भने, ‘कस्तो कार्यपालिका बनाउने हो हामीले ?’

प्रधानमन्त्रीले दिनमा पाँचचोटि भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर भनेपनि त्यो व्यवहारमा देखिनुपर्ने आवश्यकता कोइरालाले औंल्याए। उनले भने, ‘हाम्रो प्रधानमन्त्री दिनको पाँचचोटि भन्नुहुन्छ म भ्रष्टाचार गर्दिन,भ्रष्टाचार गर्न दिन्न। यो भनेर हुँदैन प्रधानमन्त्रीज्यू। अब गरेर देखाउनुपर्‍यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.