राप्रपाका केन्द्रीय सदस्य कार्कीले त्यागे पार्टी

डिसी नेपाल
१५ साउन २०८२ १६:१८
392
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गर्ने निर्णयमा पुगेको बताएका छन्।

उनले आफू लामो समयदेखि पार्टीमा समर्पित रहे पनि हालको नेतृत्वको कार्यशैलीप्रति सन्तुष्ट हुन नसकेको बताएका छन्। पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै, चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेपछि सुधारको कुनै सम्भावना बाँकी नरहेको उनको आरोप छ।

राप्रपामा आफूले सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाश चन्द्र लोहनीसँग विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उल्लेख गर्दै कार्कीले वर्तमान नेतृत्वले पार्टीलाई विधि-विधानविहीन र स्वेच्छाचारी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

पार्टीमा विचारभन्दा पनि पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको उनको आरोप छ। पार्टीमा पुराना र समर्पित कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई शीर्ष जिम्मेवारी दिइनु, लगातार चुनाव चिन्ह परिवर्तन हुनुले संगठन र कार्यकर्तामाझ निराशा थपिएको उनको दुखेसो छ।

यस्तो प्रवृत्तिले संगठनको आत्मा मरेको अनुभूति हुने गरेको छ। यस्तो नेतृत्वको पछि लाग्नु देश र जनताका लागि धोका हुने मेरो ठहर छ,’ उनले भने।

पार्टीको साधारण सदस्यता समेत त्यागेको भन्दै कार्कीले अब कुनै दल वा गुटसँग आबद्ध नरही स्वतन्त्र जनता र राष्ट्रको सेवामा रहने बताएका छन्।

उनले भविष्यमा सत्य, निष्ठा र राष्ट्र निर्माणमा लाग्नेहरुसँग भने साझा प्रयासमा सहकार्यको अपेक्षा राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.