माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, जनार्दनलाई कारवाही गर्न दबाव

डिसी नेपाल
१६ साउन २०८२ ७:१७
504
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी मुख्यालय, पेरिसडाँडमा बस्ने उक्त बैठकका लागि बुधवार नै एजेन्डा तय गरिएको थियो।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका छन्।

साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र संगठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन्।

पछिल्लाे समय माओवादीमा भित्र विवाद बढ्दै गएकाे छ। उपमहासचिव जनार्दन शर्मामाथि अनुशासनको कारबाही गर्न अध्यक्ष प्रचण्डमाथि दबाब बढेको छ। प्रचण्ड विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको कारबाही गर्न दबाब बढ्दै गएकाे छ।

बैठकमा उपमहासचिव शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज प्रचण्डनिकट नेताले उठाउँदै छन्। गत बुधबार बसेको पदाधिकारी बैठकमा समेत यस विषयले प्रवेश पाएको थियो।

अनुशासनको विषय पदाधिकारी बैठकमा उठेको भए पनि त्यसमा थप छलफल र निर्णय भने स्थायी समिति बैठकबाट हुँदै छ। शर्मानिकटका नेता यो विषय केन्द्रीय समिति बैठक हुँदै महाधिवेशनसम्म लम्ब्याउने आन्तरिक रणनीतिमा छन्।

प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै शर्माले नेतृत्वमाथि निरन्तर ‘हमला’ गर्दै आएको बुझाइ पार्टी नेतृत्वको छ। यता, शर्माले नेतृत्व हस्तान्तरणको कुरा गर्दा पार्टी नै छोडेर ‘जा’ भन्दै तर्साउने गरिएको बुझाइमा शर्मा छन्।

गत ६ साउनमा उपमहासचिव शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका थिए। साथै, मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली’ धन्दामा लागेको कडा टिप्पणी गरेपछि पार्टी नेतृत्व उनीबाट असन्तुष्ट बनेको हो।

उपमहासचिव शर्माले पार्टी नेतृत्वकै विरुद्धमा अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले उनलाई इंगित गर्दै पार्टीभित्र ‘सिँगौरी खेल्न दिएको’ अभिव्यक्ति दिएका थिए। शर्माले पार्टी नेतृत्व हस्तान्तरणको विषयलाई पटक-पटक उठाएपछि प्रचण्ड असन्तुष्ट छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.