‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली संस्कृति विश्वभर विस्तार गरेको छ’

डिसी नेपाल
१९ साउन २०८२ १८:०३
80
Shares

काठमाडौं। संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली संस्कृतिको दायरालाई विश्वभर विस्तार गर्न टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ले सघाइरहेको बताएका हुन्।

मन्त्रालयकै सभाहलमा दुबै रियालिटी शोका टप टेन प्रतिभाहरुसँग अन्र्तक्रिया गर्दै मन्त्री पाण्डेले नेपाली संस्कृतिलाई पहिचान र पर्यटनसँग जोडेर गीत–संगीत र नृत्यकलाको माध्यमबाट नेपालीपन प्रर्बद्धन गर्ने कार्यमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ ले निकै अर्थपूर्ण योगदान पुर्‍याइरहेको बताएका हुन्।

नेपाल टेलिभिजनमा प्रसारण हुने यी दुबै रियालिटी शो गैरनाफामुखी सामाजिक संस्था इन्ट्रा फाउन्डेसनले निर्माण गरेको हो। हाल दुबै शोको सिजन-२ जारी छ।

मन्त्री पाण्डेले ‘मेरो डान्स युनिभर्स’ सिजन-१ का विजेता थाइल्याण्डका नेपाली प्रतिभा खुशी कार्कीसँग केही अघि थाइल्याण्डकै एक कार्यक्रममा भेटेको सन्दर्भ समेत सुनाउँदै संसारभर फैलिएका नेपालीहरुलाई संस्कृतिको साझा धागोले जोड्ने काम इन्ट्रा फाउन्डेसनले गरेकोमा प्रसंसा गरे।

‘एउटा राष्ट्रको हिसाबले हामीसँग बरु केही सीमाहरु छन्’, उनले भने, ‘तर, अमेरिका पुगेका भुटानी नेपालीहरुको संस्थाले नेपाली गीत–संगीत र संस्कृतिमाथि यति ठुलो कार्य गर्नु भनेको निकै प्रसंसानीय छ।’

मन्त्री पाण्डेले उत्कृष्ट अवार्ड जसले जितेपनि दुबै शोमा सहभागी सम्पुर्ण प्रतिभाहरुलाई नेपाली सांस्कृतिक दुतको रुपमा आ-आफ्ने भुमिमा सक्रिय हुन आग्रह समेत गरे।

फाउन्डेशनका कार्यकारी निर्देशक चूडामणि भट्टाराईका अनुसार संसारभर छरिएका नेपाली मुलका नागरिकलाई गायन र नृत्य कलामार्फत एउटै मालामा गाँसेर नेपाली साँस्कृतिक पहिचानलाई विश्वभर प्रबद्र्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ। दुबै शोमा विभिन्न ६० मुलुकबाट सहभागिता भई यो साता उत्कृष्ट ८ को सूचीमा प्रवेश गरेका छन्।

‘अन्टार्कटिकाबाहेक सबै महादेशमा हामी पुगेका छौं’, उनले भने, ‘म्यान्मारबाट त त्यता पुगेको सातौं पुस्ताका प्रतिभाले पहिलोपटक नेपालमा पाइला टेक्दै शोमा सहभागी हुने अवसर हासिल गर्नुभएको छ।’

कार्यक्रममा म्यान्मारकै अस्मिता न्यौपाने, कतारको प्रतिनिधित्व गर्दै जुनु प्रसाइँ, सिक्किमबाट दिपराज राई र नेपालबाट प्रशान्त पोखरेलले मन्त्री पाण्डेसहितलाई गीत सुनाएका थिए।

इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पना रहेको ‘मेरो भ्वाइस युनिभर्स’ बिहीबार र शुक्रबार साँझ तथा ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ। दुबै रियालिटी शोको प्रथम हुनेलाई जनही १-१ करोड रुपैयाँ, दोस्रोलाई ३०-३० लाख, तेस्रो हुनेलाई १०-१० लाख रुपैया र उत्कृष्ट दशमा पर्ने सहभागीले जनही ३ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने बताइएको छ। दुबै शोको ग्राण्ड फिनाले आउँदो भदौ ७ गते गोदावरीमा हुने कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.