धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

डिसी नेपाल
१९ साउन २०८२ २२:४५

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले  सोमबार बैंकिङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्।

डिल्लीबजार कारागारबाट सोमबार राति प्रसाईं धरौटी बुझाएर निस्किएका हुन्। उनलाई लिन नेपाली कांग्रेस सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए। कारागार अगाडि समर्थकहरुको बाक्लो भिड लागेको थियो।

साेमबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले बैंकिङ कसुरमा रु २५ लाख धरौटीमा छाड्न आदेश गरेको हो। अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित भएको भन्ने प्रमाणबाट देखिएकाले धरौटीमा छाड्ने आदेश गरेको हो ।

त्यसैगरी सोमबार नै उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले गत चैत १५ गते राजावादीको आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ। सो मुद्दामा रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो। अदालतले प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। प्रसाईंले जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटन दिएको निवेदनमाथिको सुनुवाइपछि धरौटीमा छाड्ने आदेश भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *