बाग्लुङमा जन्माष्टमीमा इस्कोन मन्दिरको उद्घाटन हुने

बागलुङ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ ( इस्कोन नेपाल) गण्डकी शाखाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहि श्रावण २५ देखि ३१ गतेसम्म बागलुङको मालढुङ्गा स्थित खुदुर्केमा इस्कोन मन्दिर समुद्दघाटन कार्यक्रमको आयोजना गरेको छ।
श्रीकृष्ण जन्माष्टमी मुल समारोहका साथै मन्दिर समुद्घाटन कार्यक्रम श्रावण ३१ गते दिउँसो ३:३० बजेदेखि रातिको १२ बजेसम्म रहनेछ । उक्त दिन बिहान ४:३० बजेदेखि भक्तजनहरूले पूजाआजा गर्न सक्नेछ।
जन्माष्टमीको दिन दिउँसो ११ बजे बाग्लुङ बजारमा मन्दिर उद्घाटनको उपलक्ष्यमा बृहत र्याली आयोजना गरिएको छ। यस वर्ष इस्कोन बागलुङ, पर्वत, म्याग्दि र मुस्ताङ्ग जिल्लाले जन्माष्टमी तथा मन्दिर समुद्घाटनको उपलक्ष्यमा संयुक्त कार्यक्रम इस्कोन गण्डकीमा गर्नेछ।
२५ गते बलराम जयन्तीदेखि औपचारिक रूपमा सप्ताहव्यापी कार्यक्रम लक्ष्मीनारायण मन्दिर, इस्कोन गण्डकी, मालढुङ्गामा प्रारम्भ हुनेछ। २६ गते इस्कोन कुस्मा ( दुर्लुङ चोक), २७ गते इस्कोन बागलुङ बजार ( शिवधारा चोक), २८ गते इस्कोन बेनी ( इन्द्रेणी चोक) हुँदै २९,३०, ३१ गतेका दिन लक्ष्मीनारायण मन्दिरको प्राङ्गण, इस्कोन गण्डकीमा हुनेछ।
कार्यक्रममा आध्यात्मिक ज्ञान र सनातन धर्मप्रति उत्साह जगाउने हेतुले विद्यालय स्तरीय( कक्षा १० सम्म) जिल्ला ( बागलुङ, पर्वत र म्याग्दी) स्तरीय अध्यात्मिक हाजिरीजवाफ प्रतियोगिता, महारिनाम, भगवान श्रीकृष्णको लीला प्रवचन, नाटक, नृत्य, पुस्तक वितरण, महाभिषेक सँगै विभिन्न मनोरम सांस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछन्।
देवभूमि नेपाल कला, संस्कार तथा संस्कृतिले भरिपूर्ण छ। मुक्तिक्षेत्रको प्रवेशद्वार बागलुङको मालढुङ्गामा अवस्थित, पवित्र कालीगण्डकी नदीको तट स्थापित यस इस्कोन मन्दिरले सारा विश्वका सनातन धर्मावलम्बीहरूका लागी एक आस्थको धरोहरको रूपमा स्थापित गर्न लागी परेको इस्कोन बागलुङका जिल्ला अध्यक्ष जगतगुरु गिरिधारी दासले बताए।
धार्मिक पर्यटनको सर्वाधिक महत्व बोकेको यस मुक्तिक्षेत्रमा स्थापना हुने इस्कोन मन्दिरले आजभन्दा ५३९ वर्षअघि यस धराधाममा प्रकट हुनुभएका श्री चैतन्य महाप्रभुको युगधर्म हरिनाम संकिर्तनलाई गाउँ-गाउँ, नगर-नगर र टोल-टोल सम्म पुर्याउनका लागी टेवा पुग्ने इस्कोन नेपालका केन्द्रिय अध्यक्ष परमेश्वर अच्युत दासले विश्वास व्यक्त गरे।
कृष्णदास कविराज गोस्वामीद्वारा लिखित चैतन्य चरितामृत मध्यलीला २०. २६३-२६४ मा भगवानको अवतारको सिद्धान्त प्रस्तुत गर्नुभएको छ।
सृष्टि हेतु यही मूर्ति प्रपञ्चे अवतारे।
सोही ईश्वरमूर्ति अवतार नाम धरे।।
मायातीत परव्योमे सबार अवस्थान।
विश्वे अवतारी धरे अवतार नाम।।
अर्थात्, भौतिक रूपमा देखिनको निम्ति भगवानको धराधामबाट यो धराधाममा अवतरित हुनुहुन्छ। यसरी आउने ईश्वरको विशिष्ट स्वरूपलाई अवतार भनिन्छ। यस्ता अवतारहरू मूलरूपमा भगवतधाममा विराजमान रहनुहुन्छ। तिनै अवतारहरूमा जब भौतिक सृष्टिमा प्रकट हुन्छन् त्यतिसम्म तिनीहरूलाई अवतार मानिन्छ।
भगवान श्रीकृष्ण आधुनिक भारतको मथुरा शहरमा अवतीर्ण हुनु भएको थियो। श्रीकृष्णलाई जन्मिएकै बेला कंशबाट बचाउन उनका पिता वसुदेवले, गोकुलवासीलाई नन्द महाराजको घरमा पुर्याउनु भएको थियो। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्दमहाराज को घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलालको नामले पनि चिनिन्छ।
श्रीकृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयैँ बाल लिलाहरू घटित भएका थिए। कहिले कसैको घरको मखन चोरी त कहिले गोठालाहरूसँग वनमा गाई चराउन जानुभो। कहिले राधा र गोपिनीसँग रासलिला, त कहिले माता यशोदालाई विभिन्न मागहरू राखेर सताएको कुरा श्रीकृष्ण चरित्रमा पढ्न पाइन्छ। साथै, पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर आदी ठूला ठूला वीर असुरहरूको बध अनि नलकुवर र मणिग्रीवको उद्धार समेत गर्नुभएका श्रीकृष्णले ब्रजवासीलाई इन्द्रको मुसलधारे वर्षाबाट बचाउन देब्रे हातको कान्छी औठाले गोवर्धन पर्वतलाई उचाल्नु भएको।
जब–जब पृथ्वीमा ठुला–ठुला सङ्कटहरू आइ पर्छन्, तब–तब धर्मस्थापनाअर्थ भगवानले आफ्नो अवतार रूपमा यस धरधाममा अवतार लिइ असत्य माथि सत्यको विजय गराउन महत्त्वपूर्ण भूमिका खेलेको व्यहोरा वैद्विक बाङ्मयमा उल्लेख छ।
श्रीमदद्भगवद् गीता यथारूप ( ४.९) मा भगवान श्रीकृष्ण बताउनुहुन्छ, जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः, त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन मेरा जन्म र कर्म दिव्य छन्,अर्थात् जसले भगवानको जन्म र कर्मलाई बुझ्दछ उसले यस संसारमा फेरि जन्म लिनु पर्दैन।
Facebook Comment