रहेनन् पूर्वस्वास्थ्य राज्यमन्त्री बस्याल

डिसी नेपाल
२४ साउन २०८२ १०:२७
2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि क्यान्सरबाट पीडित बस्यालको आज बिहान ८:५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो।

वि.सं. २००८ माघ १५ गते जन्मिएका बस्याल नेपाल दलित संघका पूर्वअध्यक्ष, संविधान सभा सदस्य (२०६४ र २०७०), नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्वउपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य रहेका थिए।

उनले नेपाली कांग्रेस र यसको भ्रातृ संगठनहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी संगठन विस्तार तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। देउवाले भने, ‘स्वर्गीय बस्यालले नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.