एनआरएनए जर्मनीको निर्वाचन आइतबार, अध्यक्षमा ढकाल र राईको अन्तिम प्रतिस्पर्धा
बर्लिन। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जर्मनीको २०२५–२०२७ कार्यकालका लागि भोली आईतबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयन गर्ने निर्वाचन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन प्रणालीबाट भौतिक मतदान केन्द्रमार्फत सम्पन्न हुनेछ । निर्वाचन आयोगले ५ सय ५७ जनालाई योग्य मतदाताको रूपमा सूचीकृत गरेको छ।
अध्यक्ष र महासचिवमा दुई-दुई उम्मेदवारको प्रतिस्पर्धा
अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष लोकमणि ढकाल र एनआरएनए हेसेन राज्यका निवर्तमान संयोजक ज्योति राईबीच प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ। यसअघि अध्यक्ष पदका प्रत्यासी कृष्ण देवकोटा र युवराज अधिकारीले उम्मेदवारी फिर्ता लिँदै लोकमणी ढकाललाई समर्थन गरेका छन्, जसले प्रतिस्पर्धा दुई उम्मेदवारमै सीमित भएको हो।
महासचिव पदमा सनत कुमार गौतम र लोकेन्द्र सावाँबीच प्रतिस्पर्धा हुनेछ। गौतम लामो समयदेखि एमाले निकट प्रवासी कमिटीमा सक्रिय, विशेषगरी प्रशासनिक दक्षता र संगठनात्मक प्रतिबद्धताका कारण चिनिन्छन्। सावाँ भने ज्योति राईको प्यानलबाट अघि बढेका युवा पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवार हुन्। उनी यसअघि LCC Rhein Saar BW का कार्यक्रम संयोजकसमेत रहेका छन्।
लोकमणि ढकाल २००५ देखि एनआरएनएमा संलग्न छन्। उनले एलसीसी संयोजक, महासचिव, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको पदयात्रा गरेका छन्। उनको प्रमुख एजेन्डामा संस्थागत सुदृढीकरण, पारदर्शी कोष व्यवस्थापन, आपतकालीन राहत कोषको स्थापना, LCC सशक्तीकरण र युवा नेतृत्व विकास पर्छन्। ढकालले आफू “संस्थाको विगतका कमजोरी दोहोरिन नदिने” अठोटसहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
ज्योति राई यसअघि एससीसी हेसेन राज्यका संयोजक रहिसकेका छन्। “हामी नै किन?” भन्ने नारासहित उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने, स्थानीय समन्वय समिति मजबुत बनाउने, सामाजिक उद्यम प्रवर्द्धन, नयाँ आगन्तुकहरूको सहजीकरण र नेपालसँगको आर्थिक तथा सामाजिक सहकार्य विस्तार गर्ने एजेन्डा अघि सारेका छन्।
सन् २०२३ को विवादास्पद अधिवेशनले एनआरएनए जर्मनीमा ठूलो विवाद निम्त्याएको थियो। राजनीतिक दलका भातृसंगठनहरूको अप्राकृतिक हस्तक्षेप, कम सदस्य उपस्थितिमा निर्णय, उम्मेदवारलाई फिर्ता गराउने दबाब र भागबन्डा मिलाउने प्रवृत्तिले संस्थाको छवि कमजोर बनाएको थियो।
त्यतिबेला वैधानिक प्रक्रिया नपुगेको आरोप, अधिवेशनको मिति ढिला गर्नु, सदस्यलाई पर्याप्त समय नदिई निर्णय लाद्ने र देखावटी अनुमोदनको अभ्यासले संस्थाभित्रको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएको थियो। यसै कारण अहिलेको निर्वाचनलाई धेरैले “विश्वास पुनःस्थापना गर्ने निर्णायक अवसर”को रूपमा हेरिरहेका छन्।
मतदान केन्द्र र भौगोलिक आवरण
मतदान अनलाइन भए पनि परिचय प्रमाणीकरण र सदस्यहरूको सुविधा सुनिश्चित गर्न दुई मतदान केन्द्र संचालन हुनेछन् ।
•मुख्य मतदान केन्द्र: Budha Haus, Akazienstraße 27, 10823 Berlin — LCC: बर्लिन, ह्याम्बर्ग, निडरसाक्सन, एनआरडब्ल्य
•सहायक मतदान केन्द्र: Hotel Höchster Hof, Mainberg 3–11, 65929 Frankfurt am Main — LCC: हेसेन, राइनल्यान्ड–प्याल्ज, बाडेन–वुर्टेमबर्ग, बायर्न (म्युनिख)
अनलाइन मतदान प्रक्रिया – आठ चरण
निर्वाचन समितिले अघिल्लो दिनदेखि नै इमेल वा SMS मार्फत मतदातालाई सुरक्षित प्रयोगकर्ता नाम र पासवर्ड उपलब्ध गराउनेछ।
१) लग–इन विवरण प्राप्त गर्ने
२) निर्वाचन पोर्टलमा लग–इन गर्ने
३) निर्वाचन अधिकृतको फोनमार्फत परिचय प्रमाणीकरण गर्ने
४) पहुँच कोड प्राप्त गर्ने माध्यम रोज्ने
५) प्राप्त कोड प्रविष्ट गरी मतदान प्रणाली अनलक गर्ने (२० मिनेटभित्र मतदान पूरा गर्ने)
६) अध्यक्ष र महासचिवका लागि छुट्टाछुट्टै मत दिने
७) अन्तिम पहुँच कोड सुरक्षित राख्ने (२ हप्तासम्म आफ्नो मत जाँच गर्न सकिने)
८) परिणाम पोर्टलमार्फत हेर्ने
मतदाताको अपेक्षा र परिणाम घोषणा
५ सय ५७ योग्य मतदाताले दुवै अध्यक्ष पदका उम्मेदवारतर्फ उच्च अपेक्षा राखेका छन्। अघिल्ला गल्ती दोहोरिन नदिन र संगठनमा पारदर्शिता कायम गर्न मतदाताले सचेत निर्णय गर्ने अपेक्षा निर्वाचन आयोगले पनि गरेको छ।
मतगणना र प्रत्यक्ष परिणाम घोषणा १० अगस्ट साँझ ८ बजे एनआरएनए जर्मनीको आधिकारिक फेसबुक पेज र Zoom Live मार्फत हुनेछ। आयोगले निष्पक्ष, पारदर्शी र व्यवस्थित प्रक्रिया सुनिश्चित गर्न सम्पूर्ण सदस्यलाई सक्रिय सहभागिताको आग्रह गरेको छ।
प्रतिक्रिया
















Facebook Comment