पोर्चुगलस्थित नेपाली दूतावासले पोर्तोमा घुम्ती शिविर सञ्चालन गर्ने

भरत प्रधान
२९ पुष २०८२ १२:३२
28
Shares

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तोमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

दूतावासले यही जनवरी २४ र २५ तारिखका दिन पोर्तोको भिला नोभा दि गइयास्थित नमस्ते पोर्तो रेष्टुरेन्टको हलमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको हो। राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका पोर्तो क्षेत्रका नेपालीलाई सोही स्थानमै सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप शिविर सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ। दूतावासले टोली खटाएर पोर्तो सहरमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।

दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद एक वर्षभन्दा कम भएकाहरूको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गर्नेछ। साथै राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, पारिवारिक कागजात प्रमाणीकरण, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण, राहदानी वितरणलगायतका कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ।

राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूलाई घुम्ती शिविरमार्फत सहज सेवा उपलब्ध गराउने योजनाअनुरुप पोर्तोमा शिविर सञ्चालन गर्न लागिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताए । दूतावास धाउन टाढा भएकै कारण पोर्तो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले टोली खटाएरै सेवा दिन लागिएको पौडेलले बताए । शिविरबाट राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणलगायतका आवश्यक सेवा लिन पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राजदूत पौडलले आग्रह समेत गरे ।

यसअघि दूतावासले पोर्चुगलको फारो र मदेइरामा घुम्ती शिविर सञ्चालन गरेर सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई सेवा प्रदान गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *