पोर्चुगलमा पहिलोपटक युरोपस्तरीय ‘एनआरएनए टी-१०’ क्रिकेट प्रतियोगिता हुँदै
लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक युरोपस्तरीय ‘एनआरएनए टी-१० क्रिकेट प्रतियोगिता-२०२६’ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म राजधानी लिस्बनमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
नेपाली युवापुस्तामाझ क्रिकेटप्रतिको बढ्दो आकर्षण, उत्साह र सम्भावनालाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।
नेपाली क्रिकेट खेलाडी तथा खेलप्रेमीलाई एउटै मञ्चमा जोड्ने, प्रतिभा पहिचान र प्रोत्साहन गर्ने तथा नयाँ खेलाडीलाई अवसर प्रदान गर्दै नेपाली क्रिकेटको विकास र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको संघका वरिष्ठ उपाध्यक्ष सुरज विष्टले जानकारी दिए। उनका अनुसार प्रतियोगितामार्फत युरोपमा रहेका नेपाली समुदायबीच भाइचारा, सद्भाव र सहकार्य सुदृढ बनाउनुका साथै खेलकुदका माध्यमबाट नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा प्रतियोगिताका ब्रान्ड एम्बेसडर विनोद भण्डारीको समेत सहभागिता रहने यस प्रतियोगितामा युरोपका विभिन्न मुलुकका आठ टोली भिड्नेछन्।
प्रतियोगिताको विजेताले ५ हजार ५ सय ५५ युरो (करिब ९ लाख ६५ हजार रुपैयाँ) नगदसहित ट्रफी र उपविजेताले २ हजार ५ सय ५५ युरो (करिब ४ लाख ४५ हजार रुपैयाँ) नगदसहित ट्रफी प्राप्त गर्नेछन्। युरोपमा आयोजना हुने नेपाली खेलकुद प्रतियोगितामध्ये यो अहिलेसम्मकै ठुलो पुरस्कार धनराशि रहेको आयोजकको दाबी छ। प्रतियोगिता सम्पन्न गर्न करिब ४५ हजार युरो (करिब ८० लाख रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू युरोपियन क्रिकेट नेटवर्क (इसिएन) मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। उद्घाटन समारोहमा नेपाली संस्कृति झल्कने झाँकीसमेत प्रदर्शन गर्ने तयारी भइरहेको छ।
“प्रतियोगिता केवल प्रतिस्पर्धामा मात्र सीमित रहने छैन,” वरिष्ठ उपाध्यक्ष विष्टले भने, “यसले युरोपभर रहेका नेपाली क्रिकेट खेलाडीको क्षमता उजागर गर्दै भविष्यमा नेपाली क्रिकेटको विकासका लागि बलियो आधार तयार गर्नेछ।”
प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न एनआरएनए पोर्चुगलले सम्पूर्ण पोर्चुगलवासी नेपाली समुदायलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
No ads found for this position


Facebook Comment