बेलायतमा २१३औं भानु जयन्ती भव्य रूपमा सम्पन्न, आदिकवि भानुभक्तको योगदानको चर्चा

डिसी नेपाल
२८ असार २०८३ १०:५१

लन्डन । बेलायतस्थित नेपालीहरूको सबैभन्दा पुरानो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेको आयोजनामा २१३औँ भानु जयन्ती उत्साहका साथ मनाइएको छ।

वेस्ट लन्डनस्थित एसबीआई कलेजको सभाहलमा आयोजित उक्त विशेष समारोहमा कवि गोष्ठी, विचार-प्रवचन तथा विभिन्न साहित्यिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।

आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी औपचारिका रूपमा सुरु भएको कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार हरिसिंह थापाले भानुभक्तकृत रामायणका श्लोकहरू वाचन गरेका थिए भने परिषद्का प्रमुख सल्लाहकार एवं वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल (ओबीई) ले कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना सन्देश दिएका थिए।

समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै वरिष्ठ साहित्यकार हरिसिंह थापाले नेपाली भाषा र साहित्यको जागरण एवं सम्मान बढाउनमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको चर्चा गरे।

सोही अवसरमा उनले बेलायतमा नेपाली भाषा र साहित्यको जग बसाल्न परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा यस संस्थाको स्थापना गरेर ऐतिहासिक योगदान पुर्‍याएको स्मरण गरे।

यसैगरी, कार्यक्रमको सभापतित्व गरिरहेका परिषद्का अध्यक्ष एवं वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले संस्थाले स्थापनाकालदेखि नै बेलायतमा निरन्तर भानु जयन्ती मनाउँदै आएको उल्लेख गर्दै प्रवासमा नेपाली पहिचानलाई युगौँसम्म जीवन्त राख्न आफ्नो भाषा, साहित्य र संस्कृति जोगाउनुको विकल्प नभएको कुरामा जोड दिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै परिषद्का सहअध्यक्ष तथा यती नेपाली एसोसिएसनका पूर्वअध्यक्ष ध्रुव केसीले तत्कालीन अविकसित समाज र इतिहासको कठिन कालखण्डमा पनि भानुभक्तले नेपाली भाषामा रामायणजस्तो मौलिक साहित्य सिर्जना गरेर क्रान्तिकारी कदम चालेको बताए।

उनले भानुभक्तको सोही कदमले नै नेपाली साहित्यको यात्रा, सामाजिक चेतना र एकतालाई मजबुत बनाएको धारणा राखे। त्यस्तै, परिषद्का सल्लाहकार एवं कोशेली नेपाली सांस्कृतिक परिवार यूकेका पूर्वअध्यक्ष मदन थापाले विदेशमा नेपाली भाषा र संस्कृतिलाई बचाउन परिषद्ले खेलिरहेको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै भानुभक्तको प्रेरणा नेपाली समाजको रग रगमा भिजेको स्पष्ट पारे।

परिषद्की महासचिव एवं कार्यक्रमकी सञ्चालिका डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको योगदान बहुआयामिक रहेको बताइन्। उनले बेलायतमा भानु जयन्तीको निरन्तर आयोजनाले साहित्यिक गतिविधिलाई मात्र नबढाई नेपाली समुदायलाई सिर्जनशील हुन समेत प्रेरित गरिरहेको धारणा राखिन्।

कार्यक्रमको दोस्रो चरणमा आयोजित कवि गोष्ठीको सुरुवात वरिष्ठ नागरिक बद्रीप्रसाद कुइँकेलले भजन गाएर गरेका थिए। गोष्ठीमा कवि तथा कवयित्रीहरू हरिसिंह थापा, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, मनोज अन्जान, मदन थापा र कोमल मल्लले आ-आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए भने घनबहादुर थापा मगर र वासुदेव सापकोटाका कविताहरू अध्यक्ष कोमल मल्लले वाचन गरेर सुनाएका थिए।

कार्यक्रमको समापन गर्दै परिषद्का अध्यक्ष कोमल मल्लले संस्थालाई आर्थिक तथा भौतिक रूपमा निरन्तर सहयोग पुर्‍याउने विशिष्ट व्यक्तित्वहरू डा. राघवप्रसाद धिताल (ओबीई), डा. जनककुमारी धिताल, ध्रुव केसी, घनबहादुर थापा मगर, कृष्णा थापा मगर, कृष्ण भट्ट, मनोज अन्जान, मदन थापा, डा. सुधा श्रेष्ठ, हरिसिंह थापा र कोहिनूर मल्लप्रति विशेष आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *