पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

भरत प्रधान
२० जेठ २०८३ १०:०८

लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा पनि ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ।

पोर्चुगलस्थित नेपाली दूतावासको आयोजनामा राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको हो।

सो अवसरमा बोल्दै पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेलले सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको उपलब्धिको चर्चा गर्दै उक्त उपलब्धिलाई मानवजातिले प्रदर्शन गरेको साहस, सहनशीलता र दृढताको प्रतीकका रूपमा उल्लेख गरे।

उनले हिमालय क्षेत्रको पर्यावरण संरक्षण गर्दै भावी पुस्ताका लागि यसको महत्व जोगाइराख्नुपर्नेमा जोड दिए।

पोर्चुगिज पर्वतारोही ज्वाओ गार्सियाले सगरमाथासहितका हिमाल आरोहणको अनुभव सुनाउँदै नेपालीहरूको आतिथ्य सत्कारको प्रशंसा गरे। अतिरिक्त अक्सिजनको प्रयोग नगरी विश्वका १४ वटा सर्वोच्च हिमालको सफल आरोहण गरिसकेका छन्।

सगरमाथा आरोही गार्सियालाई राजदूत पौडेलले ढाका टोपी, खादा र मायाको चिनोले सम्मान गरेका थिए।

सो अवसरमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपालको पर्वतारोहणको इतिहास तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको थियो। साथै, पोर्चुगलमा रहेका नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा पोर्चुगलको परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायका अधिकारीहरू, विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, पर्यटन तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरू तथा नेपाली समुदायको सहभागिता रहेको दूतावासले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *