स्यान्डहर्स्टबाट तेस्रो पुस्ताका तेजस दीक्षित: नेपाली सेनाको इतिहासमा ऐतिहासिक संयोग
लन्डन। नेपाली सेनाको इतिहासमा एउटा दुर्लभ र ऐतिहासिक संयोग जुरेको छ। बेलायतको प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट हजुरबुबा, बुबा र छोरा गरी एउटै परिवारका तीनै पुस्ता दीक्षित भएका हुन्।
शनिबार आयोजित ‘कमिस्निङ कोर्स सर्ट २६२’ को दीक्षान्त समारोहमा ७४ जना नवनियुक्त अधिकृतहरूसँगै नेपाली सेनाका लेफ्टिनेन्ट तेजस जङ्ग थापा दीक्षित भएसँगै यो कीर्तिमान कायम भएको हो। नेपालबाट स्यान्डहर्स्टमा तीन पुस्ता लगातार दीक्षित हुने उनी पहिलो अधिकृत बनेका छन्।
लेफ्टिनेन्ट थापाको पारिवारिक पृष्ठभूमि सैनिक परम्परासँग निकै गहिरो गरी जोडिएको छ। उनका बुबातर्फका हजुरबुबा अवकाशप्राप्त ब्रिगेडियर जनरल तेजेन्द्र जङ्ग थापा र आमातर्फका हजुरबुबा स्वर्गीय लेफ्टिनेन्ट कर्णेल प्रवल शम्शेर राणाले सन् १९६० देखि १९६२ को अवधिमा स्यान्डहर्स्टमा सँगै तालिम लिएका थिए।
त्यसैगरी उनका बुबा मेजर जनरल अनुप जङ्ग थापाले पनि सन् १९९० देखि १९९१ सम्म सोही एकेडेमीबाट तालिम पूरा गरेका थिए। आफ्ना प्रेरणाका स्रोत बुबा र हजुरबुबाको उपस्थितिमा दीक्षित हुन पाउँदा गर्व महसुस भएको लेफ्टिनेन्ट तेजसले बताएका छन्।
यो पारिवारिक विरासतसँगै रोयल मिलिटरी एकेडेमीमा शाही भ्रमणको अर्को रोचक संयोग पनि जोडिएको छ। तेजसका बाजे तेजेन्द्र जङ्ग थापा दीक्षित हुँदा तत्कालीन राजा महेन्द्र र रानी रत्नको समुपस्थिति रहेको थियो भने बुबा अनुप जङ्ग थापाको तालिमका क्रममा बेलायती महारानी एलिजाबेथ द्वितीयले भ्रमण गरेकी थिइन्।
नेपालले सन् १९५२ देखि नै स्यान्डहर्स्टमा क्याडेटहरू पठाउँदै आएको छ। विश्वभरिकै उत्कृष्ट सैनिक तालिम केन्द्र मानिने यस संस्थामा नेपाली सेनाका अधिकृतहरूले आफ्नो समर्पण, उच्च अनुशासन र उत्कृष्ट नेतृत्व क्षमताका कारण अन्तर्राष्ट्रिय रूपमै छुट्टै पहिचान र सम्मान कमाउँदै आएका छन्।
तीन पुस्ताको यो निरन्तरताले सैन्य सेवाप्रतिको पारिवारिक प्रतिबद्धता मात्र नभई नेपाल र बेलायती सेनाबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्धलाई समेत अझ सुदृढ बनाएको छ।






डिसी नेपाल





Facebook Comment