इटालीमा रहेका नेपाली युवाहरूद्वारा निर्मित ‘ClockSync’ एप विश्वव्यापी रूपमा सार्वजनिक हुँदै
राेम। इटालीमा बसोबास गर्दै आएका नेपाली युवाहरूको एक समूहले विकास गरेको बहुप्रतीक्षित मोबाइल एप्लिकेसन ‘ClockSync’ भोलिदेखि आधिकारिक रूपमा सार्वजनिक हुने भएको छ।
यो एप विशेषगरी पार्ट-टाइम, फुल-टाइम तथा फ्रिल्यान्स काम गर्ने प्रयोगकर्ताहरूलाई लक्षित गरेर तयार पारिएको हो, जसले उनीहरूको कामको समय र कमाइलाई सजिलै एवं स्मार्ट तरिकाले ट्र्याक गर्न मद्दत गर्नेछ।
धेरैजसो कामदारहरूले अझै पनि आफ्नो दैनिक कामको समय, ब्रेक र ओभरटाइम हातैले वा परम्परागत शैलीमा हिसाब गर्नुपर्ने झन्झट र समस्या भोगिरहेका छन्। कामदारहरूको यही साझा समस्यालाई समाधान गर्दै सबै आवश्यक सुविधाहरू एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली प्रविधिज्ञहरूको टिमले यो उपयोगी एपको निर्माण गरेको हो।
यस एपभित्र प्रयोगकर्ताका लागि काम गरेको समय स्वतः रेकर्ड गर्ने, ओभरटाइमको वैज्ञानिक गणना गर्ने, ब्रेक समयको चुस्त व्यवस्थापन गर्ने र कुल कमाइको वास्तविक विवरण ट्र्याक गर्ने जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्।
इन्टरनेट नभएको अवस्थामा पनि यसलाई सहजै चलाउन मिल्ने गरी अफलाइन मोडको व्यवस्था गरिएको छ भने कामको विवरणलाई आधिकारिक दस्ताबेजका रूपमा सुरक्षित राख्न वा बुझाउनका लागि पीडीएफ रिपोर्ट निकाल्न मिल्ने सुविधा समेत दिइएको छ।
यसका साथै एपभित्रै बिल्ट–इन क्याल्कुलेटर राखिएको छ र प्रयोगकर्ताले चाहेमा म्यानुअल मोडमार्फत आफ्नो कामको विस्तृत विवरण आफैँ प्रविष्ट गर्न सक्ने लचकता समेत यसमा उपलब्ध छ।
डेभलपर टिमका अनुसार ClockSync एप एन्ड्रोइडको गुगल प्ले स्टोर र एप्पलको एप स्टोर दुवै प्लेटफर्ममा एकैसाथ उपलब्ध हुनेछ, जसले गर्दा विश्वभरका स्मार्टफोन प्रयोगकर्ताहरूले यसलाई सहजै डाउनलोड गरेर आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्नेछन्।
यो एप इटालीमा रहेका नेपालीहरूले बनाएको भए तापनि यसको उपयोगिता कुनै एक भूगोलमा मात्र सीमित नरहेर विश्वव्यापी प्रयोगका लागि डिजाइन गरिएको छ।
विभिन्न देशमा छरिएर रहेका कामदार, श्रमजीवी विद्यार्थी तथा फ्रिल्यान्सरहरूलाई आफ्नो अमूल्य समय र श्रमको उचित व्यवस्थापन गर्न यो एपले कोसेढुङ्गाको काम गर्ने अपेक्षा गरिएको छ। भोलिदेखि बजारमा आउने यो प्रविधिले विश्वभरका श्रमजीवीहरूको दैनिक कार्यजीवनलाई अझ सरल, पारदर्शी र व्यवस्थित बनाउने विश्वास लिइएको छ।







डिसी नेपाल







Facebook Comment