जलवायु क्षतिपूर्तिको माग गर्दै बेलायतमा बाढीपीडितका लागि राहत संकलन
Screenshot
बेलायत। नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै बेलायतको मेडवेमा बसोबास गर्ने नेपाली समुदायले राहत कोष संकलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
६ सेप्टेम्बर २०२६ मा जिलिङ्घामस्थित स्थानीय हिन्दू मन्दिरमा गोर्खा नेपाली समाज मेडवे (जीएनसीएम) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमका लागि पूर्वतय तीज उत्सव स्थगित गरिएको थियो।

नेपाली तथा बेलायती राष्ट्रिय गान र मौन धारणबाट सुरु भएको सभामा बेलायती जनप्रतिनिधिहरूले नेपाललाई अन्तर्राष्ट्रिय स्तरबाटै जलवायु न्याय र पुनर्निर्माणमा सहयोग हुनुपर्नेमा जोड दिएका छन्।
‘नेपालले सजाय होइन, क्षतिपूर्ति पाउनुपर्छ’
कार्यक्रमलाई सम्बोधन गर्दै मेडवे काउन्सिलकी डेपुटी लिडर टेरेसा मुरेले कार्बन उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेकोप्रति चिन्ता व्यक्त गरिन्। “विश्वका ठूला र बढी प्रदूषण फैलाउने राष्ट्रहरूका कारण नेपालले प्रलयकारी असर भोग्नुपरेको छ,” मुरेले भनिन्, “यस्तो अवस्थामा साना सहायता मात्र होइन, ठूला देशहरूले नेपाललाई निश्चित क्षतिपूर्ति दिनु नै न्यायसङ्गत हुन्छ।”
यस्तै, काउन्सिल लिडर भिन्स मेपलले बाढीप्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ब्रिटिस सेनामा कार्यरत दक्ष गोर्खा इन्जिनियरहरूलाई खटाउन सम्बन्धित निकायमा सुझाव दिइएको जानकारी दिए।

बेलायती प्रतिनिधिसभा सदस्य (सांसद) हरू ट्रिस्टन ओसबोर्न, नौसभा खान र लरेन एडवार्ड्सले लिखित तथा भिडियो सन्देशमार्फत ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रमका क्रममा संकलित राहत रकम नेपालको प्रधानमन्त्री राहत कोषमा दाखिला गर्ने गरी हस्तान्तरण गरिएको छ। साथै, बेलायत सरकारले नेपालका लागि घोषणा गरेको ५ मिलियन पाउन्ड अर्थात् नेपाली करिब एक अर्ब रुपियाँबराबरको आपत्कालीन सहयोगप्रति आयोजकले आभार व्यक्त गरेका छन्।
कार्यक्रमको अन्त्यमा नेपाली झण्डाको वरिपरि दीप बालेर मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सभा समापन गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment