रुपन्देही ३ को सिट कांग्रेस एमाले दुवैले नजित्ने गुप्तचर रिपोर्ट
काठमाडौं । राप्रपाका सांसद दिपक बोहराको निधान भएपछि उपनिर्वाचन हुन लागेको रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाको सिट देशका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले दुवैले नपाउने सम्भावना उच्च रहेको एक गुप्तचर रिपोर्टमा दाबी गरिएको छ । सरकारी संयन्त्रबाटै केन्द्रमा पठाइएको रिपोर्टमा यस्तो दाबी गरिएको स्रोतले बताएको छ।
स्रोतका अनुसार रुपन्देशी ३ मा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आ–आफ्नै छुट्टाछुट्टै उम्मेदवारलाई उठाएर प्रतिस्पर्धा गरे भने दुवै पराजित हुने सम्भावना उच्च रहेको रिपोर्टमा उल्लेख गरिएको छ । तर, पछिल्लो समय विकसित घटनाक्रमले यो सिटमा कांग्रेस र एमालेले गठबन्धन गर्ने सम्भावना पनि न्यून रहेको देखाएका छन्।
पछिल्लो समय कांग्रेस र एमाले दुवै दलको नेतृत्व तह यो निर्वाचनमा गठबन्धन नगर्नका लागि पार्टीको तल्लो पंक्तिको दबाबमा छन् । कांग्रेसभित्र त सरकारप्रति नै असन्तुष्टि छ र कांग्रेसका सांसदहरुको ठूलो समूह कांग्रेसले सरकारलाई समर्थन नै गर्न नहुने पक्षमा छ । यो समूहले एमालेसँग गठबन्धन गर्ने कुराको विपक्षमा वकालत गरिरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पनि यहाँ अघिल्ला उम्मेदवार बालकृष्ण खाँणलाई नै उठाउने पक्षमा छन् । खाँण अघिल्लो निर्वाचनमा राप्रपाका दिपक बोहरासँग पराजित भएका थिए । बोहरालाई एमालेले साथ दिएको थियो भने कांग्रेसका खाँणलाई माओवादी लगायत तत्कालीन सत्ता गठबन्धनको साथ थियो ।
कांग्रेसले खाँणलाई उम्मेदवार बनाउने भएपछि एमालेले उनलाई समर्थन नगर्ने भएको छ । बहालवाला गृहमन्त्री रहेका बेला समेत आफू सम्मिलित गठबन्धनसँग पराजित भएका खाँणलाई समर्थन गर्नुभन्दा आफ्नै उम्मेदवार अगाडि सारेर जित्न सकिने एमालेको बुझाइ छ । तर, गुप्तचर रिपोर्टले भने यहाँ एमालेले पनि जित्न नसक्ने दाबी गरेको छ ।
यो क्षेत्रमा अहिलेसम्म बाहिरिएका घटनाक्रमले सत्ताधारी गठबन्धन मात्रै होइन विपक्षी दलहरुको समेत गठबन्धन हुने सम्भावना न्यून देखाएको छ । आफ्नै उम्मेदवारले जितेको ठाउँमा अरु दललाई समर्थन गर्ने पक्षमा राप्रपा पनि छैन । पछिल्लो समय आफ्नो पक्षमा माहोल बनिरहेको बुझेको रास्वपा पनि आफ्नो लोकप्रियता परीक्षण गर्ने दाउमा छ । माओवादीले पनि यहाँ आफ्नै उम्मेदवार उठाउने संकेत गरेको छ ।
रिपोर्टले भने यहाँ कांग्रेस र एमाले एक्लाएक्लै लडे दुवैले हार्न सक्ने संकेत गरेको छ । अहिले धेरै मतदाताहरु सत्ताधारी पुराना दलहरुसँग बिरक्तिएको र त्यो फ्रस्टेटेड मत तेस्रो उम्मेदवारतर्फ जाने रिपोर्टले संकेत गरेको स्रोतले बतायो । तेस्रो शक्ति कुन हुन सक्छ भन्ने स्पष्ट छैन । यद्यपि अघिल्लो निर्वाचनको परिणामले यहाँको तेस्रो शक्ति राप्रपा वा रास्वपा हुन सक्ने स्पष्ट संकेत गरेका छन् ।
यहाँ दिपक बोहराले २०७० र २०७९ को निर्वाचनमा जितेका थिए । दुवै पटक उनलाई गठबन्धनमा रहेर ठूला दलहरुले साथ दिएका थिए । अन्य निर्वाचनमा यहाँ कांग्रेस र एमालेले आलोपालो जितेका थिए । यद्यपि यहाँ राप्रपाको आफ्नै मत पनि ठूलो रहेको बताइन्छ । तर, त्यो मत दिपक बोहराको व्यक्तिगत भोट थियो वा दलको भोट थियो भन्ने स्पष्ट छैन । बोहरा यस क्षेत्रमा व्यक्तिगत रुपमा निकै लोकप्रिय थिए ।
यद्यपि यहाँ रास्वपा समेत कमजोर भने छैन । अघिल्लो निर्वाचनमा यहाँ समानुपातिक मतको सूचीमा रास्वपा एमाले र कांग्रेसपछि तेस्रो स्थानमा थियो । रास्वपाले १४ हजारभन्दा बढी मत पाएको थियो । तर, रास्वपाका प्रत्यक्ष उम्मेदवार जित बहादुर गुप्ता तेलीले ५ हजार ७ सय मत पाएका थिए । केहीले रास्वपाको ९ हजार मतको अन्तरलाई दिपक बोहराको व्यक्तिगत लोकप्रियतासँग जोडेर हेर्ने गरेका छन् ।
अघिल्लो निर्वाचनमा व्यक्तिगत रुपमा दिपक बोहरालाई मन पराउनेहरुले प्रत्यक्षतर्फ उनलाई मत दिएको तर समानुपातिकतर्फ तिनै मतदाताले रास्वपालाई मत दिएको धेरैको विश्लेषण छ । र, अघिल्लो निर्वाचनमा रास्वपा र राप्रपाको प्रत्यक्ष र समानुपातिक मतको अन्तरले यो तर्कलाई धेरै हदसम्म समर्थन गर्छन् ।







डिसी नेपाल








Facebook Comment