सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
रामेछापको खाँडादेवी गाउँपालिका-४ पुचिघाटस्थित सडकमा बेनीबाट सित्खातर्फ आउँदै गरेको ना.६ त ९५९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिनेश माझीको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको दिलश्री मेडिकल मन्थलीमा उपचार भइरेहेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१८ दुधराशस्थित सडकमा लु.प्र.०२-००१ प ११२१ नम्बरको मोटरसाइकल र लु. ३४ प ५४०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा लु.३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका-५ बस्ने ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका लु प्र.०२-००१ प ११२१ नम्बरको मोटरसाइकल चालकको सिटी हस्पिटल तुलसीपुरमा उपचार भइरहेको छ।
महोत्तरीको मनरा शिसवा नगरपालिका-४ स्थित सडकमा बीआर ०६ बिके ४७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महोत्तरी गाउँपालिका-६ बस्ने ५० वर्षीया मोमिना खातुनको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-६ महुली बजारस्थित सडकमा जण्डोलबाट कञ्चनपुरतर्फ जाँदै गरेको बा.३२ प ३६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कञ्चनरूप नगरपालिका-११ गिदहा बस्ने ३२ वर्षीया शसिकला चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
सर्लाहीको हरिवन नगरपालिका-१० सुखेपोखरीस्थित सडकमा प्र.२-०३-०१९ प ५४०८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१० ताइवान बस्ने दिनेश बुढाथोकीकी छोरी १५ वर्षीया दिपिका बुढाथोकीको आइतबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि वीरगंजतर्फ पठाइएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comment