एनआरएनए जर्मनीको नेतृत्वमा लोकमणि ढकाल र सनत कुमार गौतम विजयी

दीपक धिताल
२६ साउन २०८२ ६:२६
160
Shares

फ्रैंकफर्ट। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनत कुमार गौतम बिजयी भएका छन्।

लामो तयारी र मतदाताको उच्च चासोबीच आईतबार भएको निर्वाचनमा अध्यक्ष पदमा लोकमणी ढकालले ४५८ मध्ये २९२ मत (६१.७%) प्राप्त गर्दै जित हासिल गरेका हुन् भने उनका प्रतिद्वन्दी ज्योती राईले १६६ मत (३५.१%) प्राप्त गर्दै उपविजेतामा सिमित रहे । महासचिवमा भने ४ सय ४८ मतको गणनामा गौतमले २७३ मत (५७.७%) ल्याउँदै १७५ मत (३७.०%) प्राप्त गर्ने लोकेन्द्र सावाँलाई पछि पारे।

यसपटकको निर्वाचन सेमी अनलाइन प्रणालीमार्फत सम्पन्न भएको थियो । आईटि विशेषज्ञ एवम् एनआरएनए अभियन्ता डा. नवराज रोस्याराले यो निर्वाचन प्रविधीको विकास गरेका हुन् । मतदान बिहान ८ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्म चलेको थियो । जसको प्रत्यक्ष निगरानीका लागि बर्लिनको “बुद्ध हाउस” र फ्रैंकफर्टको “होटल होष्टर होफ”मा भौतिक मतदान केन्द्र पनि स्थापना गरिएका थिए।

अनलाइन प्रणाली आठ चरणमा सम्पन्न भएको थियो । इमेलमार्फत लग–इन विवरण प्राप्त गर्ने, निर्वाचन पोर्टलमा प्रवेश गर्ने, परिचय प्रमाणिकरण, पहुँच कोड लिने, प्रणाली अनलक गर्ने, अध्यक्ष र महासचिव दुवैका लागि अलग-अलग मतदान गर्ने, अन्तिम पहुँच कोड सुरक्षित राख्ने र नतिजा हेर्ने गरि प्रविधीको विकास गकिएको थियो । निर्वाचन परिणाम बेलुकी ८ बजे एनआरएनए जर्मनीको फेसबुक पेज र जुममार्फत प्रत्यक्ष प्रसारण गरियो।

लोकमणी ढकाल लामो समयदेखि एनआरएनए जर्मनीमा सक्रिय छन् । LCC हेसेनको संयोजक, एनसीसी महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै यसपटक अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

उनले आफ्नो अभियानमा “सबल, पारदर्शी, समावेशी र युवा सहितको उत्कृष्ट एवं गतिशील एनआरएनए”को नारासहित संस्थागत सुधार, आपतकालीन कोष स्थापना, LCC सशक्तिकरण र युवाको सहभागिता वृद्धि गर्ने प्रतिवद्धता जनाएका छन्।

महासचिव विजयी सनत कुमार गौतम एमाले निकट प्रवासी कमिटीमा लामो समय सक्रिय रहेका, प्रशासनिक दक्षता र संगठनात्मक प्रतिबद्धताका कारण चिनिएका उम्मेदवार हुन्। उनी अघिल्लो नेतृत्व संरचनामा प्रत्यक्ष संलग्न नभए पनि यसपटक बलियो मतका साथ प्रवेश गरेका छन्।

अध्यक्षमा प्रारम्भिक रूपमा लोकमणी ढकाल, ज्योति राई, कृष्ण देवकोटा र युवराज अधिकारीको नाम आएको थियो। तर कृष्ण देवकोटा र युवराज अधिकारीले ढकाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि अन्तिम प्रतिस्पर्धा ढकाल र राईबीच भएको हो ।

निर्वाचन प्रक्रियाअघि नै धेरै पदहरूमा उम्मेदवारहरूले सहमतिको आधारमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै एकताको सन्देश भने दिएका थिए। आईसीसी सदस्यमा कुम्भ रेग्मीको नाममा जोड दिएपछि बलियो प्रतिस्पर्धी मेनुका त्रिपाठी फिर्ताले उम्मेदवारी फिर्ता लिएकि थिइन्।

उपाध्यक्ष पदमा सिजन दाहाल, तुलसी श्रेष्ठ, राजेश सुनार र लक्ष्मण जोशी चयन भएका छन् । महिला उपाध्यक्षमा सुनिता राई, युवा उपाध्यक्षमा ईश्वर श्रेष्ठ छानिए भने उप-महासचिवमा रामकला पन्त, कोषाध्यक्षमा प्रणिता कार्की, सह–कोषाध्यक्षमा मिरा पौडेल अधिकारीले बाजि मारे । सचिवमा टुबल सापकोटा, महिला संयोजकमा कल्पना वाग्ले र युवा संयोजकमा बेली माया आले मगर विजयि घोषणा भए ।

विजयी भएपछि अध्यक्ष लोकमणी ढकालले भने, “हामी हिसाब दिने संस्था बनाउँछौं, हिजोका कमजोरी दोहोरिने छैनन्।” महासचिव सनत कुमार गौतमले भने, “पारदर्शिता, जवाफदेहिता र सेवा–केन्द्रित नेतृत्व हाम्रो पहिचान हुनेछ।”

साथै उनले यो संस्थाको जित भएको भन्दै यसमा व्यक्तिग जित र स्वार्थको कुनै सन्देह नरहने गरि काम गर्नेमा विश्वस्त रहन आग्रह गरे । उप विजेता राईले उठाएका मुद्दा संस्थाको हितमा भएकाले आफुले उनले उठाएको सो मुद्दाहरूमा उनिँगै सल्लाह गरेर काम गर्ने बताए ।

जित हार प्राविधिक कुरा भएको भन्दै उनले अब यो र त्यो पक्ष नभएर समग्र एनआरएनए एक पक्ष पार्ने आफ्नो दायित्व भएको बताए । एनआरएनएको इतिहास बोकेको जर्मनीले एकताबद्ध एनसिसीको उदाहरण दिदै केन्द्रमा पनि एकताको लागि सहमतिको वातावरण बनाउन लाग्ने उनको भनाई छ ।

यसैगरी निर्वाचन परिणामपछि अध्यक्ष पदका उम्मेदवार ज्योति राईले मतदाता, समर्थक र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले भने, “यो हार मेरो व्यक्तिगत हार हो तर हाम्रो साझा विश्वास, संघर्ष र लक्ष्यको हार होइन। म तपाईंहरूसँग हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु।”
राईले ढकाल र गौतमलाई सफल कार्यकालको शुभकामना दिंदै मतदाताले देखाएको विश्वासमा खरा उत्रिने अपेक्षा व्यक्त गरे । साथै उनले सामाजिक कार्य र समुदाय विकासमा निरन्तर सक्रिय रहने प्रतिवद्धता दोहोर्याए ।

परिणामसँगै धेरै सदस्यले यो निर्वाचनलाई “पुरानो शैलीबाट टाढा जाने सुरुवात”को रूपमा स्वागत गरेका छन्। यद्यपि नेतृत्वको जिम्मेवारी अब केवल पद पाउनेसम्म सीमित नभई विगतका कमजोरी सुधार्दै सबै समूहलाई एकजुट पार्नेमा केन्द्रित हुनुपर्ने अपेक्षा गरिएको छ।

विगतका विवाद र यसपटकको महत्त्व

एनआरएनए जर्मनीको अघिल्ला केही अधिवेशनहरू विशेषगरी २०२३ को अधिवेशन विवादित बनेका थियो । राजनीतिक दलका भातृसंगठनहरूको सक्रिय हस्तक्षेप, बन्द कोठामा भागबन्डा र सदस्यको न्यून उपस्थिति बीच गरिएका निर्णयहरूले संस्थाभित्रको विश्वासको आधार कमजोर बनाएको थियो।
२०२३ मा त ३ सय ७० पंजीकृत सदस्यमध्ये ९१ मात्र उपस्थित भएर अधिवेशन सम्पन्न गरिएको थियो । जसमा धेरै निर्णय पहिले नै तय गरिएका नामलाई अनुमोदन गर्ने औपचारिकतामा सीमित रह्यो ।

यसपटक पनि राजनीतिक दलहरुले अन्य पदहरू भागवण्डा गरेपनि अध्यक्ष र महासचिव पदमा सहमति नजुटेपछि निर्वाचन हुन पुगेको हो । निर्वाचन आयोग समेत काँग्रेस, एमाले, राप्रपा, माओवादि पार्टिलाई बाँडफाँड गरेर बनाईएको थियो । प्रमुख निर्वाचन आयुक्तमा एनआरएनए जर्मनीका संस्थापक एवं जनसम्पर्क समिति युरोपका सभापति दिल गुरुङ रहेका थिए ।

यसपटक पनि विशेषगरि सहमति भएको पदहरुमा कांग्रेस, एमालेले नेतृत्व बाँडफाँट गरेको प्रष्ट देखिन्छ । यसपटकको निर्वाचनलाई संगठनभित्रको विश्वास पुनःस्थापना गर्ने अवसरका रूपमा हेरिएको छ। निष्पक्ष अनलाइन मतदान र मत परिणामको तत्काल सार्वजनिकताले संस्थाको पारदर्शिता सुधारतर्फको संकेत दिएको सरोकारवालाहरूको मूल्यांकन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.