तमोर करिडोरमा बढ्यो चहलपहल, यातायात र व्यवसायमा सहजता

डिसी नेपाल
२६ साउन २०८२ १०:३७
28
Shares

पाँचथर। पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीमा जोड्ने गरी निर्माण थालिएको तमोर करिडोर सडकका कारण त्यस क्षेत्रका बासिन्दालाई यातायातमा सहजता बनाउनुका साथै व्यापार–व्यवसाय गर्न सहज बनाएको छ।

सुनसरीदेखि धनकुटा, पाँचथर हुँदै ताप्लेजुङसम्म जोडिने तमोर करिडोर सडक २०७५ देखि निर्माण थालिएको थियो । पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेनको सडकको ट्रयाक खोल्ने काम सम्पन्न भसकेको छ भने ८० प्रतिशत खण्डमा ग्राभेल सम्पन्न भएको छ। हाल सम्म ११२ किमी सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएर केही खण्डमा काम थालिएको छ।

यस सडकका कारण स्थानीयलाई मेची तथा कोसी राजमार्ग हुँदै धरान तथा धनकुटा पुग्दा तमोर करिडोरको सडकभन्दा दोब्बर गुना लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।

सोही करिडोर अन्तर्गत धनकुटाको मुलघाटमा भेटिएका बीर्ख बहादुर केरुङले मेची राजमार्ग अर्थात बिर्तामोडको बाटोभन्दा यो बाटो करिब ५÷६ घण्टा छोटो पर्ने भएकाले यात्रामा सहज बनाएको बताए। धरान जान यो बाटो एकदमै छोटो भएको उनले बताए।

सोही करिडोरमा होटल व्यवसाय सञ्चालन गरेका धनकुटाको साँघुरीगढीका दिलकुमार लिम्बुले तमोर करिडोरका कारण आफूले कृषि छाडेर व्यवसाय सुरु गरेको बताए। ‘यो बाटो नबन्नु भन्दा अगाडि चाहिँ म कृषि गर्थें, खेतीपाती गर्दै बस्थेँ। अब यो बाटो आएर चाहिँ यहाँ सानो घडेरी किनेर होटल व्यवसाय सुरु गरेँ। बाटो निस्केपछि हामीलाई धेरै सहज भएको छ। होटल व्यवसाय राम्रै चलिरहेको छ। अब गाडीहरूको आवतजावत धेरै बढीरहेको छ,’ उनले भने।

सोही करिडोरहुँदै गुड्ने यातायातका साधनका कारण उनको होटल राम्रै चलिरहेको भनाइ छ। ‘यस रुटमा चल्ने गाडीहरू सबै आउँछन्, लगभग दिनमा ५०–६० वटा आउँछन्, भनौँ न, गाडीहरूको आवतजावत बाक्लै हुन्छ र प्राय सबैले खाना खाजा खान आउँछन्।’ करिडोर हुँदै गुड्ने गाडीहरुको चाप बढेसँगै सडक छेउछाउमा घर भएकाहरुले व्यापार व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेको उनले सुनाए।

ग्राबेल स्तरको ट्रयाक खुलेपछि सडक क्षेत्रमा चहलपलह बढ्दै गएको, जग्गा किनबेच बढेको साथै गाँउका मान्छे सडक किनारातिर आएर व्यवसाय गर्न थालेको स्थानीयको भनाइ छ।

करिडोरलाई नै आधार बनाएर विभिन्न गाँउ जाने सडक बन्ने र नयाँ खुल्नेक्रममा पनि छन्। करिडोरमा भने कालोपत्रे र ठाउँ ठाउँमा पुल निर्माणको काम बाँकी छ।

भारत र चीनसँग जोड्ने छोटो मार्गको रुपमा समेत हेरिएको यस करिडोरले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा सडक सञ्जाल विस्तार गरी आर्थिक विकास, व्यापार, स्वास्थ्य, शिक्षा जस्ता सेवा प्रवाहमा सहजता ल्याउने लक्ष्य राखिएको छ। सडक सामारिक, आर्थिक, पर्यटकीय हिसाबले निक्कै महत्पूर्ण मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.