तीजको दरः समाज सुध्रिएको कि आर्थिक मन्दीले छोएको ?

अनुसा थापा
२८ साउन २०८२ ८:२०

हिन्दू महिलाहरुको प्रमुख चाडका रुपमा मनाइने तीज आउन अब केही दिन मात्र बाँकी छ। विगतका वर्षहरुमा तीज आउनु महिनाअगावै महिलाहरुले दर खान थाल्थें।

विभिन्न पार्टी प्यालेस, आफन्तकहाँ तीजको दर खाने कार्यक्रमको आयोजना गरिन्थ्यो। गरगहना लगाएर र मँहगा कपडा भिरेर दर खाने कार्यक्रममा जान महिलाहरुलाई भ्याइनभ्याइ हुन्थ्यो।

यता, सहकारीहरुले पनि तीजको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्थ्यों। तीज महिलाको कार्यक्रम भएपनि दर खान पुरुष सेयर सदस्यहरु पनि पुग्थें। तीजको नाममा जाँडरक्सी खाएर समाजमा बेतिथि मच्चाइथ्यो। तर, यसवर्ष कतै त्यस्तो देखिएको छैन। यसको प्रमुख कारण हो-बैंक तथा वित्तिय संस्था डुब्नु र आर्थिक मन्दी हुनु।

सहकारीहरु डुबेपछि नाटकचटक सकिएको छ। लघुवित्तको अवस्था पनि त्यस्तै छ। अर्कोतर्फ, सर्वसाधारण आर्थिक मन्दीको चपेटामा छन्। सर्वसाधारणसँग पैसा छैन। त्यसैले त तीज आउन लगभग तीन साता बाँकी हुँदापनि पार्टी प्यालेसहरु सुनसान छ। कार्यक्रमको पर्खाइमा रहेको पार्टी प्यालेसहरु तीजमा पनि ठण्डाराम हुने देखिएको छ।

तीज नजिकिएसँगै सुन पसलमा व्यापक चाप देखिन्थ्यो। लुगा पसलमा पनि अत्याधिक भीड हुन्थ्यो। माछामासु र डेरीलाई तीज आउन लाग्दा भ्याइनभ्याइ हुन्थ्यो। तर, कपडा, माछामासु र डेरीमा त्यति ग्राहक छैनन्। बरु, पहिलेको भन्दा घटेका छन्। यद्यपि, सुन पसलमा भने ग्राहकको लावालस्कर देखिन्छ।

तर, त्यो भीड सुन किन्न होइन, बेच्न हो। सुन बेच्नेहरुले ज्वेलर्स भरिपूर्ण छ। केही दिनअघि सुनको मूल्य तोलाकै एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो। जबकि, २०२२ सालमा त्यही सुन तोलाको ८० रुपैयाँ थियो। लाखौं रुपैयाँ फाइदा भएपछि सुन बेच्नेहरुको ताँती लागेको हो।

सुन किन्ने नभई बेच्ने मात्र भएपछि ज्वेलर्सहरु वाक्कदिक्क भएका छन्। उनीहरुले पैसा छैन भनेर ग्राहक फर्काउन थालेका छन्। तीज आफ्नो परिवारको सुःस्वास्थ्यका लागि मनाइने चाड हो। तर, पछिल्लो समय यो चाडले समाजमा धेरै नै बेतिथि फैलाएको थियो। तैले बढी गहना लगाउने कि मैले ? भनेर होडबाजी नै चल्थ्यो।

आस्थाले होइन कि देखावटी रुपमा तीज मनाउन थालियो। तीज आउनुभन्दा तीन महिना अगाडिदेखि नै दर खान थालिन्थ्यो। दरमा पनि रक्सी, बियरलगायतका पेय पदार्थ राखिन्थ्यो। पहिलेपहिले तीज आउनुभन्दा केही दिनअगाडि दाजुभाइ आफ्नो दिदीबहिनीलाई लिन जान्थें।

तीजको अघिल्लो दिन घरपरिवार र आफन्तले मिलेर दर पकाउँथे। दरमा पनि सबै शाकाहारी र घरमै बनेका परिकारहरु हुन्थ्यो। दर खाएर भोलिपल्ट व्रत बसिन्थ्यो। आफ्नै घरमा नाँचगान गरिन्थ्यो। तर, बैंक तथा वित्तिय संस्थाले तीजको नाममा सेयर सदस्य, बचतकर्ताहरुलाई महिनौंअगाडिदेखि दर खुवाउन थाले।

त्यही प्रवृत्तिको विकास हुँदै गयो। देखाउनका लागि पनि पार्टी प्यालेसमा तीजको कार्यक्रम आयोजना गर्ने क्रम शुरु भयो। तीजलाई बिगार्नुमा कलाकारको पनि एकदमै महत्वपूर्ण भूमिका छ। चेलीबेटीको गीत गाउनुपर्नेमा समाजलाई भड्काउने खालको गीत गाउन थालियो।

कोमल वली तीज आउनेबित्तिकै ‘यो तीजमा पोइला जान पाऊँ’ भन्दै गीत गाउँछिन्। वली सञ्चारकर्मीसँगै सरकारी कर्मचारी र सांसद हुन्। जनताले तिरेको करबाट उनले तलब खान्थिन्। तर, उनले त्यस्ता गीत गाउँदा समाजमा पर्ने असरबारे सोचिनन्। जसले समाजलाई कुभलो हुने गीत गाउँछ, ऊ सांसद, सञ्चारकर्मी ?

यस्ताले देश बनाउँछन्? यिनीहरुले देश बनाउने होइन, बिगार्ने काम मात्रै गर्छन्। झन् पछिल्लो समय तीज गीत भन्दै एकदमै छाडा गीत ल्याइएको छ। सरकारले त्यस्ता छाडा गीतमा प्रतिबन्ध लगाउन सकेको छैन। नागरिकको आइडल बन्नुपर्नेहरुले नै समाजलाई भडखालोमा लगेर हाल्दै छन्।

नेता, कलाकारबाट जनताले धेरै कुरा सिक्छन्। तर, उनीहरुले आफ्नो फाइदाका लागि जानाजान जनतालाई नकारात्मक कुरा सिकाइरहेका छन्। नेताहरु पनि तीजको कार्यक्रमको आयोजना गर्थें। आफ्नो पार्टीको सदस्यता बढाउनका लागि नेताहरुले भ्रष्टाचार गरेको पैसाले तीजको कार्यक्रम गर्थें।

तर, जनताले त्यो भ्रष्टाचार गरेको र राजश्व छलेको पैसा हो भनेर बुझेनन्। एकातिर नाम कमाए, अर्कोतिर चुनावमा भोट बढाए। तीज त नेताहरुका लागि भोट बढाउन राम्रो माध्यम बनेको थियो। चाडबाडका नाममा बेतिथि फैलाउनमा राजनीतिक दलको पनि हात छ।

जनताले भने राज्य र आफैंलाई ठगेको पैसा हो ? भन्ने कहिल्यै बुझेनन्। राजनीतिक दलले समाजलाई सही मार्ग देखाउनुपर्ने हो। तर, आफ्नो फाइदाका निम्ति उनीहरुले समाजमा विकृति फैलाइदिन्छन्। जसको उदाहरण तीज नै हो। सहकारी डुबेपछि यो वर्षदेखि तीजको नाममा चटक देखाउने कार्यमा कमी आएको छ।

तीन वर्षअगाडि तीजको दर खान नसकेर डस्टबिनमा लगेर फ्याक्ँनेहरु अहिले भोकभोकै छन्। सहकारीले पैसा खाइदिएपछि उनीहरुसँग बिहानबेलुका भात खाने पैसा छैन, तीजको त कल्पना नै नगरौं। पार्टी प्यालेसमा गएर नाँच्न र एक छाक खानमा रमाउँदा जीवनभरको कमाइ डुबाउनुपरेको छ।

बुढापाकाले भन्छन् नि,‘बलेको आगो सबैले ताप्छन्, नबलेको कसैले ताप्दैनन्।’ हुञ्जेल सबैले खाए, खुवाइयो। अब अहिले त सहकारी डुबिहाल्यो, व्यापार व्यवसाय डामाडोल छ। त्यसैले कसैले दरको कार्यक्रमको आयोजना गरेकै छैनन्। हुन त यो राम्रै पनि हो। सर्वसाधारणलाई पैसाको मात लाग्न थालिसकेको छ।

महिनौंअगाडिदेखि दर खाएर समाजमा विकृति फैलाउनुको साटो समाजसेवा गरौं भन्ने भावना न नेतामा आयो न कलाकारमा। न बैंक तथा वित्तिय संस्था र जनतामा त्यो सचेतनाको विकास भयो। ठग्ने र मोजमस्ती गर्नेमै सबै रुमल्लिए। तीजमा दर खाने कार्यक्रमले कुनै ठाउँमा पुल बनाइदिए कति जना हिँड्न पाउँछन् ?

स्कुल बनाइदिए पुस्तौं पुस्ताले पढ्छन्। कुनै व्यक्ति शिक्षित हुनु भनेको देश विकास हुनु हो। तर, यो कुरा कसैले सोचेनन्। खाएका छन्, खान नसके, टोकरीमा लगेर फ्याँकेका छन्। जबकि, यहाँ खान नपाएर बाटोमा माग्न बसेकाहरु लाखौं छन्। तिनीहरुको सामुन्ने हिल्यै हात खुल्दैन तर कार्यक्रम गर्दा लाखौं लाख उडाउँछन्।

यहाँ त बुवाआमा भ्रष्टाचार गरेर ल्याउँछन्, छोराछोरीले मोजमस्ती गर्छन्। छोराछोरी पनि त्यही बाटो हिँड्छन्। अनि कसरी समाज परिवर्तन हुन्छ ? जनतामा चेतना आउँछ ? सबै स्वार्थी भए। मै खाऊँ, मै लाऊँको भावना सबैमा विकास हुँदै गयो। कतिपय जिल्लामा यस्तो अवस्था छ कि भात खान र राम्रो लुगा लगाउन दशैं आउनुपर्छ।

त्योपनि उनीहरुसँग हुँदैन। कतिपयले दिए भने खान पाउँछन्। धनीहरु अरुलाई ठगेर, भ्रष्टाचार गरेर धनी बन्दै गए, गरिबहरु बेरोजगारी, अशिक्षाको कारणले झनै गरिब बन्दै गए। नेपालीमा आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं भन्ने भावना आएन। जसरी हुन्छ, अरुलाई ठगौं अनि आफू कमाऔं। नेपाली समाज यतिमै सीमित छ।
बैंक तथा वित्तीय संस्थाले केही वर्षअगाडिसम्म आफूहरुले सेवा गरेको भन्थे। तर, ढाँटेको कुरा काटेर मिल्छ झैं भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *