तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनल समीकरण पूरा
फुङ्लिङ। ताप्लेजुङमा जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप–२०८२ को सेमिफाइनल समीकरण पूरा भएको छ।
आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सलहेस युवाक्लब सिरहाले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिमचरणमा स्थान बनायो।
खेलको पाँचौँ मिनेटमै सदिया आदमले गोल गर्दै सिरहालाई अग्रता दिलाए। ३५औँ मिनेटमा सुजित बुढाथोकीको गोलले अग्रता दोब्बर बनाए। ३७औँ मिनेटमा युसुफमालिकले गोल गर्दै स्कोर ३–० बनाएको थियो। चौथो गोल आत्मघाती गोलमार्फत सिरहाले उपहारस्वरूप प्राप्त गरे।
६६ औँ मिनेटमा युसुफमालिकले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ५–० पुर्याएको थियो। ८०औँ मिनेटमा मोहित गुरुङले गरेको गोलसँगै सिरहाले फिदिमलाई ६–० ले पराजित गराए। उत्कृष्ट प्रदर्शन गरेका युसुफ मालिक ‘म्यानअफ द म्याच’ घोषित भएका थिए।
समूह ‘बी’मा रहेको सिरहा अब सेमिफाइनलमा साउन २९ गते रेडस्टार झापासँग प्रतिस्पर्धा गर्नेछ। झापाले प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पोखराको सहारा क्लबलाई १–० ले पराजित गर्दै अन्तिमचरणमा स्थान बनाएको हो। बुधबारबाट सुरू हुने सेमिफाइनलको पहिलो खेलमा समूह ‘ए’ का द यङ ब्रदर्स क्लब इटहरी र चर्च ब्वाइज क्लब ललितपुर भिड्नेछन्।
यसअघि, क्वार्टरफाइनलमा सुनसरीले तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङलाई २–१ ले पराजित गरेको थियो भने चर्च ब्वाइजले भारतीय टोली लिजेन्ड फुटबल एकेडेमीलाई १–० ले हराएको थियो। आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार साउन ३० गते खेलमैदानमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ। विजेता टोलीले नगद रु सात लाख दुई हजार ८२ प्राप्त गर्नेछ भने उपविजेताले रु तीन लाख ५० हजार ८२ पाउनेछ।







डिसी नेपाल








Facebook Comment