रमाइलो शुक्रबार (भाग १)
अन्य बार जस्तै वर्षमा बाउन्न वटा शुक्रबार आउँछन्। खै किन हो कुन्नि यो शुक्रबार मलाई सानो छँदादेखि नै ज्यादै नै मन पर्ने दिन हो। हप्ताभर निकै मेहनतका साथ काम गरेपछि आउने बिदाको अघिल्लो दिन भएर हो कि किन हो कुन्नि।
विदेशमा पनि ‘वीक डे’ पछि आउने विकेण्डको दिन अधिकांश मानिस खुशी हुन्छन्। साँझको समयमा घुम्न निस्कन्छन्, नाइट क्लब जान्छन्, अधिक खानपान गर्छन् र रमाउँछन्। शुक्रबारको दिन पश्चिमाहरू पनि ‘थ्याङ्क गड इट्स फ्राइडे’ भनेर निकै खुशी हुन्छन्।
हामी साना छँदा हाम्रा पिताजी पनि आफ्ना साथीहरूसँग कहिले हाम्रै घरमा त कहिले अन्तको जमघटमा सामेल हुनुहुन्थ्यो। यदाकदा अबेला घर आउनु हुन्थ्यो। शनिबारको दिन हामीलाई बिहानीको हिँडाइमा लग्नु हुन्थ्यो।
त्यतिबेला भर्खरै खनिँदै गरेको माइतीघरदेखि तीनकुने हुँदै सिनामंगल चोकबाट त्रिभुवन विमानस्थल पस्ने बाटो, डिल्लीबजार हुँदै ज्ञानेश्वर र बालुवाटार निस्कने एकान्त बाटो, बागबजार हुँदै नयाँ सडक जाने बाटो, भृकुटीमण्डप र भद्रकाली हुँदै शहिदगेट र टुँडिखेल, मैतीदेवी हुँदै बानेश्वर र सिनामंगल पुगेर त्यतिबेलाको विमानस्थल जाने मुलबाटो आदिमा हामी पिताजीसँग निकै पटक बिहानीको हिँडाइमा गएका थियौँ।
त्यतिबेला दिनहुँ मासु खाने चलन थिएन। शनिबारको दिन भने हाम्रो घर नजिकै एकजना ‘हौडे’ भनेर चिनिने एक व्यक्तिले खसी काट्थे र मासु भाग लगाएर बेच्थे। एक भाग यानी झण्डै एक धार्नीको २० रुपैयाँ पर्दथ्यो। आजको हिसाबमा करिव ३,००० रुपैयाँ।
सोही अनुपातमा मात्र मूल्य वृद्धि भएको भए त्यतिबेला हाम्रा पिताजीले पाउने राष्ट्र बैंकको विशिष्ट श्रेणीको तलव १,००० रुपैयाँ र हाल सो श्रेणीको तलबमानको करिव ५०,००० को हिसाबले आज त्यति मासुको मोल करिव १,००० रुपैयाँ जति हुनु पर्ने हो। ठीकैको खसी नै त्यतिबेला ३-४ सय रुपैयाँमा पाइन्थ्यो।
एकचोटी दशैँ शुरु हुन लागेको बेलामा हामी केही साथीहरूले टोलमा लंगुर-बुर्जा खेलाइ रहेको बेलामा तिनै हौडेले खसी किन्न भनेर गोजीमा राखेको पैसा जिस्कँदै च्याँखे राखेर पुरै पैसा हार्दा रुन मात्र सकेका थिएनन्। पछि हाम्री माताले थाहा पाएर त्यो पैसा फर्काइदे भनेर निकै गाली गर्नुभएको थियो।
तर हामीले फिर्ता गर्यौं भनेर झुठो बोल्दै एउटा सिसीमा त्यो पैसा कोचेर बगैँचामा गाड्यौं। त्यो पैसा अड्कल्दै निकालेर झण्डै दुई तिन महिनासम्म चकलेट र अन्य खाने कुरा किन्न पुगेको थियो। आज सम्झँदा एउटा निकै लघु व्यवसाय गरेर घर व्यवहार टारिरहेको सो व्यक्ति माथि हामीले ठूलो अन्याय गरेको भान हुन जान्छ।
दशैं-तिहार जस्ता ठूला चाड र लामा बिदा सकिएको भोलिपल्ट विद्यालय जाने दिन शुक्रबार प¥यो भने त हाम्रो खुशीको सीमा नै रहँदैनथ्यो। त्यसै पनि शुक्रबार आधा दिन मात्र विद्यालयमा बस्नु पर्ने र त्यो दिनको बाँकी समय र शनिबारको दिन विद्यालयको चिन्ता लिनु नपर्ने तथा ऐश गर्न पाइने भएकोले निकै खुशी महसुस हुन्थ्यो।
शनिबारको बेलुकीपख भने अब भोलिबाट विद्यालय जानुपर्ने र गृहकार्य समेत सक्नु पर्ने चिन्ताले पिरोल्न थाल्थ्यो। वास्तवमा पछि पछि कार्यालयमा काम गर्ने उमेरमा पनि शनिबारको बेलुकी यस्तै महसुस हुन्थ्यो। फेरि भोलिपल्टदेखि नानाथरी काममा जोतिनु पर्ने चिन्ताले गर्दा। सरकारी भन्दा पनि निजी व्यवसायमा कर्मचारीलाई तलब दिए अनुसार ज्यादै घोटाउने परिपाटी जहाँतहीँ छँदैछ।
आइतबारको दिन विद्यालय जान मनै नलाग्ने, तर नगई पनि भएन। खासगरी हप्ताको मध्यतिर पर्ने मंगलबार र बुधबार त झनै टिठ लाग्दा दिन स्कूले जीवनमा। अलि ठूलो कक्षामा पुगेपछि हामी ज्ञानेश्वर चोकबाट विद्यालयको बस चढ्थ्यौं। त्यहाँ चोकैमा प्युसराज पाण्डेको पेट्रोल पम्प थियो।
त्यतिबेला बडागुरुज्यूका छोरा पाण्डेको पेट्रोलियम पदार्थको आपूर्तिमा एकछत्र रजाइँ थियो। काठमाडौंको भद्रकाली लगायत विभिन्न ठाउँमा उनैका पम्पहरू थिए। हामी बस चढ्न कुर्ने पम्पमा स्व. बालकृष्ण सम आफ्नो ठूलो मोटरकार हाँकेर बरोबर पेट्रोल हाल्न आउँथे।
आफैंले डिजाइन गरेको आकर्षक दौरा-सुरुवार र शिरमा टोपी तथा गालामा पाउडर र लाली अनि निधारमा टिका लगाएर चिटिक्क परेर आउने उनी सधैँ दुई लिटर मात्र पेट्रोल हाल्न लगाउँथे। त्यतिबेला पेट्रोल एक लिटरको जम्मा चार रुपैयाँ हुँदो हो।
उनी सधैं ५० रुपैयाँको नोट दिन्थे तर फिर्ता माग्दैनथे र पम्पका कर्मचारी पनि फिर्ता दिने इरादा राख्दैनथे। बरु उनको गाडी पम्प परिसरभित्र आउन लागेको देख्ने वित्तिकै उनीहरू ‘लौ सम बुढा आए’ भनेर खुशी हुँदै उनलाई अभिवादन गर्दथे।
हामी चार-पाँच जना साथीहरू बेलाबखतमा बुधबार या बिहीबार विद्यालय जान मन नलागेर त्यो पम्पमा जम्मा हुने वित्तिकै त्यहाँबाट भागेर कुनै गल्लीभित्र पसेर केही घण्टा बाटोमा नै हिँड्दै गफिन्थ्यौं र घर गएर बस नै छुट्यो भन्ने बहाना पारेर घर बस्दथ्यौँ। तर एकाध पटक त मेरा पिताजी कार्यालयमा ढिलो जान लागेको बेला जम्काभेट भएर मलाई आफूलाई लिन आएको गाडीमा राखेर विद्यालय पु¥याइदिनु हुन्थ्यो। त्यस्तो बेला मन झनै ज्यादा रुने गर्दथ्यो।
खसीको मासु बाहेक साखिनी (लोकल कुखुरा) र राँगाको मासुको चलन थियो त्यतिबेला। बाहुन-क्षेत्रीले प्रायःजसो खसी र बोकाको मासु खाने गर्दथे। कुखुराको मासु लुकाएर पकाउँथे भने राँगाको मासु त घरमा हुल्नै हुँदैनथ्यो।
हामी यदाकदा मुलसडकमा खुलेका मःमः, छोएला, भुटन र चटामरी बनाउने पसलमा वरपरतिर कसैले देखेको छ कि भनेर हेर्दै फुत्त पस्दथ्यौँ। कहिलेकाहीँ हाम्रा चिनाजानीका अग्रजहरू पनि पसल भित्रको कुनामा लुकेर खान लागेका हुन्थे। आँखा जुध्दा दुवै पक्ष तैँ चुप मै चुप भएर मुसुक्क हाँसेर टाउको निहुराउँदै खाने गथ्यौँ।
प्रायः शुक्रबार पिताजीले नयाँसडक नजिकको कालुचाको प्रख्यात कुखुराको मासु वा नक्सालको तुइचाको आलुको तरकारी मगाएर रातिको खानासँग खुवाउनु हुन्थ्यो हामीलाई।
निकै पछि मात्र नयाँसडक र अन्य मुख्य बजारमा खुल्न शुरु भएका एकाध कोल्डस्टोरमा कलकत्ताबाट ल्याइएका ब्रोइलर कुखुराको फ्रोजन मासु बिक्री हुन थालेको थियो। माछा भने वीरगञ्ज र जनकपुरदेखि ल्याइन्थे। ती पनि प्रायः शनिबार नै पाक्थे र शुक्रबारदेखि नै तिनको प्रतिक्षा शुरु हुन्थ्यो। वीरगञ्जको भण्टा र फलामका कराई-ताप्के त्यतिबेला ज्यादै प्रख्यात थिए।
पिताजी शनिबारको दिन नुहाइ-धुवाइ गरेर घरको कौसीमा रेकर्ड प्लेयर राखेर भिनाइल रेकर्डबाट बजेका नेपाली, हिन्दी र अंग्रेजी तथा अन्य भाषाका गीत सुन्दै घाम तापेर लेखपढ गर्नुहुन्थ्यो र त्यतिबेला पनि चम्चाले निकै समय लगाएर खाना खानु हुन्थ्यो। उहाँले हातले खाना खाएको र खाना थपेको पछिसम्म पनि कहिल्यै देखिएन।
महात्मा गान्धीले भात कम्तिमा यति चोटी, नरम खाना यति चोटी, गेडागुडी र कडा खाना यति चोटी चपाएर खानु पर्छ अनि मात्र हाम्रो शरीरको पाचन प्रणालीलाई पचाउन सहज हुन्छ भनेका छन् भनेर सुनाउँदै चम्चाले ससाना गाँस मुखमा हाल्दै निकै चोटी चपाएर खाना खानु हुन्थ्यो उहाँ। त्यतिबेला यो सब कुरा हाम्रो लागि नौलो र हाँसोको विषय हुने गर्दथ्यो।
अंग्रेजी माध्यमको स्कुलमा भर्ना हुने मौका पाएको मैले मेरा दाजुहरू सरकारी विद्यालयमा अध्ययनको निम्ति जाँदा ब्याग बिनै हातमा किताब र कापी बोक्ने गरेको देख्दा निकै अचम्म लाग्थ्यो। पछि हामी पनि दाजुहरूको सिको सिकेर शुक्रबारको दिन किताब र कापी ब्याग बिनै हातैमा बोकेर विद्यालय जान थाल्यौँ।
यसो गर्दा निकै ठूलो काम गरे जस्तो भान हुन्थ्यो। शुक्रबारको दिन चार वटा कक्षा मात्र हुने र हाफटाइममा बिदा हुने भएकोले थोरै किताब-कापी लिएर खाना दानी नलिएर गए पनि हुन्थ्यो।
शुक्रबारको दिन विद्यालयमा विभिन्न अतिरिक्त कृयाकलापहरू भइरहने भएकोले प्रायः पढ्ने कक्षा नै हुँदैनथ्यो। त्यस्तो बेलामा त नगण्य पाठ्यसामग्री लिएर गए पुग्थ्यो। मेरा जेठा दाजु कविता, कथा र नाटक लेख्नमा पारंगत भएकाले म अक्सर उनका कविता र लघु कथा आफ्नो कापीमा सारेर विद्यालयमा वाचन गर्ने गर्दथेँ।
निकै पटक प्रथम, द्वितिय वा तृतीय भएको छु। कमसेकम सान्त्वना पुरस्कार त भेटेकै हुन्थेँ। दाजुका रचना चोरेको कुरा कसलाई थाहा हुन्थ्यो र ! म त उदाउँदो तारा कै रूपमा देखिएको थिएँ चोरीको साहित्यमार्फत पनि।
११–१२ वर्षको उमेर ताकाको कुरा हो, शुक्रबार विद्यालय छिटै बिदा हुने भएकोले हामी केही अति मिल्ने साथी स्कुल बसमा त्यतिबेलाको घर नजिकको धोवीधारामा नउत्रेर त्यो भन्दा एक स्टप अगाडि कमलादीमा नै उत्रन्थ्यौँ। यसको मुल कारण थियो, हाम्रो साथी सञ्जिवको बुवाको हिमाली आइसक्रिम उद्योग।
साथीको घरमा गए पछि मन लागे जति आइसक्रिम खान पाइने। अनि घर जाने बेलामा उसको बुवाले ससाना थर्मसमा पनि आइसक्रिम भरेर दिनुहुन्थ्यो। घरका मानिस पनि खुशी हुने भइहाले। हाम्रो बचपनका दिनहरूमा आम नेपालीको त के कुरा, संभ्रान्त परिवारको घरमा पनि फ्रिज वा पंखासमेत हुँदैनथ्यो।
किनकी त्यतिबेलाको काठमाडौँ निकै ठण्डा थियो र जनताको क्रयशक्ति पनि कम। भनेजस्तो सामान पनि कहाँ पाइन्थ्यो र बजारमा त्यतिबेला। माटोका सुराही र गाग्रीको मिठो पानीले तिर्खा मेट्न ठूलो मद्दत गर्दथे।
आइसक्रिमको ठाउँमा खुवाबरफ, साना त्रिकोणात्मक प्लास्टिकमा रङ र चिनी-पानी मिलाएर जमाएको चुसेर खाने वरफ तथा अमिला तितौरा, झिर र पुष्टकारी तथा चकलेट र पिपलमेटको जमाना थियो त्यो। त्यतिमा नै हामी निकै खुशी हुन्थ्यौ। त्यसैले पनि शुक्रबारको दिन हाम्रो लागि बिहान उठेदेखि उत्साहित बनाउने दिन हुने गर्दथ्यो।
अलि हुर्के पछि शुक्रबार कै दिन यदाकदा हामी केही साथीहरू स्कूलबाटै घरका मानिसलाई थाहै नदिएर बालाजुको पौडी उद्यानमा पौडी खेल्न जान्थ्यौँ। एकाध चोटी झण्डै झण्डै डुब्नबाट बचेको थिएँ म।
त्यस्तो बेला केही अबेला घर पुग्दा हाम्री आमा र दिदी तथा दाजुहरूले आँखा रातो भएको र नुहाएको जस्तो अनुहार देखिएकोले पौडी खेल्न गएको थाहा पाइ हाल्थे। मेरा पिताका एकजना सुवाल थरका साथीको बालाजुको पौडी पोखरीमा डुबेर मृत्यु भएको थियो।
एकचोटी मेरा दुई जना दाजुहरूले शुक्रबारको दिन विद्यालय बन्द हुने बेलादेखि हाम्रो पिछा गरेर पौडी उद्यानमा पुगेपछि रंगेहात पक्रेका थिए। हाम्री मामाघरकी हजुरआमालाई पौडी पोखरी कस्तो हुन्छ भन्ने कुरा थाहा नभएर ‘पौडी खेल्न नजाउ बाबु, भेल आएर बगाउँछ’ भन्नु हुन्थ्यो।
क्रमशः…
– लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment