रुपन्देही-३ उपनिर्वाचनका लागि २७ दलले दिए २८ निवेदन

डिसी नेपाल
२९ साउन २०८२ १५:४५
60
Shares

काठमाडौं । रुपन्देही-३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन्।

निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो। उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ।

पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी नाउपा का दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन्।

नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते दल दर्ताका लागि निवेदन दिएका थिए। डगौराले निवेदनको दर्ता नं ६ हो। अध्यक्ष रञ्जिता श्रेष्ठले भने अन्तिम दिन २७ गते दल दर्ताका लागि निवेदन दिएकी थिइन्। उनको दर्ता नं २५ कायम भएको छ।

यही साउन १५ गते नाउपाले रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो। लगत्तै निर्वाचन आयोगमा पदाधिकारी अद्यावधिक गर्न निवेदन दिएकोमा आयोगले श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरिसकेको छ।

उपनिर्वाचनका लागि निवेदन दिने अन्य दलहरूमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन्।

आयोगको निर्वाचन कार्यतालिका अनुसार निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिनेछ। रुपन्देही–३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आगामी कात्तिक १७ गते सोमबार मतदान हुँदैछ। असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.